१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भारतीय सेनाप्रमुख नरावणे नेपाल आउने

भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे कात्तिकको तेस्रो साता तीन दिने नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल र भारतका सेनाप्रमुख एकअर्काको देशमा मानार्थ सेनाप्रमुख हुने परम्पराअन्तर्गत नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहणका लागि उनी नेपाल आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन् ।

उनको भ्रमणका विषयमा गत वर्ष माघ २० मै मन्त्रिपरिषद्ले निर्णय गरे पनि नेपाल–भारत सम्बन्धमा आएको चिसोपन तथा कोरोना महामारीका कारण दुवै देशमा गरिएको बन्दाबन्दीका कारण उनी आउन सकेका थिएनन् । भारतले नेपालको भूभाग लिपुलेकमा सडक निर्माण गरेको विषयमा नेपालले विरोध जनाउँदा सेनाप्रमुख नरावणेले नेपाल अरूकै स्वार्थमा विरोधमा उत्रिएको बताएका थिए । उनले गत जेठ २ मा भारतीय थिंक ट्यांक दी मनोहर पर्रिकार इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिस (एमपिआइडिएसए) को कार्यक्रममा बोल्दै घुमाउरो ढंगले चीनको स्वार्थमा नेपालले यो विषय उठाएको बताएपछि उनी विवादमा तानिएका थिए । मानार्थ महारथीको सम्मान ग्रहण गर्ने व्यक्तिले नेपालकै बारेमा विवादित अभिव्यक्ति दिएपछि कतिपयले नेपाल–भारतबीचको मानार्थ महारथीको सम्मान दिने परम्परालाई समेत तोड्नुपर्ने बताएका थिए । दुई देशबीच सीमा विवादलाई लिएर सम्बन्ध चिसिँदै गइरहेका बेला भारतबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो ।

दुई देशबीच सेनाप्रमुखलाई मानार्थ महारथी सम्मान आदानप्रदानको परम्पराअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले जिम्मेवारी सम्हालेको ४ महिनापछि २०७५ पुस २५ मा भारतीय राष्ट्रपति रामनाथ कोविन्दको हातबाट सो सम्मान ग्रहण गरेका थिए । सन् १९४५ मा तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेरको पालादेखि नेपाल–भारतबीच एकअर्काका सेनाप्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन रहँदै आएको छ ।

प्रकाशित: २९ आश्विन २०७७ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App