६ वैशाख २०८१ बिहीबार
राजनीति

राजधानी धान्न देउखुरीमा पूर्वाधार के छ ?

प्रदेश ५ को स्थायी राजधानी तोकिएको भालुवाङ बजार। तस्बिर: नागरिक

राप्ती गाउँपालिकाको भालुवाङ बजार केन्द्र रहेको प्रदेश ५ को स्थायी राजधानी घोषणापछि जिल्लामा उत्साह छाएको छ। राजधानीको केन्द्र भालुवाङ बजारमा दीप प्रज्वलन गरिएको छ। राजधानी घोषणाको उत्साहसंगै राजधानीको ‘भौतिक उपस्थिति’ कहिले होला भन्ने चासोसमेत बढेको छ। प्रदेशसभाबाट मंगलबार घोषित स्थायी राजधानी भौतिक रूपमै स्थापति हुन तत्कालका लागि कतिको सम्भव छ त ? प्रदेश राजधानीको केन्द्र राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी भन्छन्, ‘भौतिक पूर्वाधार र जग्गाजमिनका हिसाबले हामी कमजोर छैनौं।’ उनका अनुसार तत्कालै राजधानीका लागि चाहिने भौतिक पूर्वाधार गाउँपालिकामा छ। गाउँपालिकाको लालमटियामा रहेको राप्ती प्राविधिक शिक्षालयको भौतिक संरचना प्रादेशिक केन्द्र सञ्चालनका लागि तत्कालका लागि पर्याप्त हुने देखिन्छ। यो क्षेत्र भालुवाङ बजारदेखि थोरै पश्चिममा पर्छ। यो गाउँपालिकाको पुरै क्षेत्र राजधानीका लागि समावेश गरिएको छ।

यो प्राविधिक शिक्षालयमा ३५ को हाराहारीमा एकै स्थानमा ठूला भवनहरू छन्। ‘राप्ती प्राविधिक शिक्षालयमा रहेका भवनहरू प्रादेशिक प्रशासनिक केन्द्र सञ्चालनका लागि पर्याप्त हुन्छन्,’ गाउँपालिका अध्यक्ष सुवेदी भन्छन्, ‘३५ को हाराहारीमा ठूल्ठूला भवन छन्, तत्कालका लागि यिनै भवनहरूको प्रयोग प्रदेश सरकारले गर्न सक्छ।’ उनका अनुसार प्रदेशसभा तथा मन्त्रालय स्थापनाका लागि यी भवन पर्याप्त हुनेछन्। उक्त प्राविधिक शिक्षालयलाई अन्य क्याम्पस, विद्यालयहरूमा स्थानान्तरण गरेर प्रदेशको प्रशासनीक केन्द्र बनाउन सकिने अध्यक्ष सुवेदी बताउँछन्। ‘प्राविधिक शिक्षालयलाई अन्यत्र स्थानान्तरण गर्न सकिने आधारहरू पनि प्रशस्तै छन्,’ उनले भने, ‘यो शिक्षालाई अन्यत्र स्थानान्तरण गरेर प्राविधिक शिक्षालयको भौतिक पूर्वाधार प्रदेश सरकारका लागि तत्काल उपयोग गर्न सकिन्छ।’

यसैगरी प्रदेश सरकारका लागि यो गाउँपालिकामा सरकारी जग्गाको अभाव नहुने दाबी गरिएको छ। यो गाउँपालिकाले प्रदेशलाई पर्याप्त सरकारी जमिन उपलब्ध गराउन सक्ने बताइएको छ। उसका अनुसार हजार बिघाभन्दा बढी सरकारी खाली जमिन सो गाउँपालिकासँग छ। ‘हामी प्रदेश सरकारलाई चाहिने पर्याप्त जमिन उपलब्ध गराउन सक्ने ल्याकत राख्छौं,’ उनले भने ‘१ हजार देखि १५ सय बिघासम्म सरकारी जमिन हामीसँग छ, त्यो जग्गा प्रदेश सरकारले उपभोग गर्न सक्छ।’ यो गाउँपालिकाको यो जमिन राप्ती नदीको तटीय क्षेत्र तथा बाँझो ऐलानी जमिनसहितको हो।

यसैगरी राप्ती गाउँपालिकासँग सीम साँध जुधेको गढवा गाउँपालिकाका तीनवटा वडा राजधानीमा समेटिएका छन्। राजधानीमा समेटिएको यो गाउँपालिकाका १, २ र ३ नम्बर वडामा तत्काल भौतिक संरचनाको उपलब्धता भने खासै छैन। वडा २ को एउटा सरकारी भवन मात्रै रहेको जनाउँदै गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने, ‘यो भवनलाई पनि कुनै एक मन्त्रालयका रूपमा प्रयोग गर्न सकिने देखिन्छ।’ तीन वडा राजधानीमा समावेश गढवाले यी तीनवटा वडाबाट सरकारी जमिन भने पर्याप्त उपलब्ध गराउने सक्ने देखिन्छ। यी तीनवटा वडामा मात्रै यो गाउँपालिकाको झन्डै दुई सयभन्दा बढी सरकारी जमिन खाली अवस्थामा छ। ‘राजधानीका लागि तीनवटा वडाबाट पर्याप्त जमिन दिन सक्छौं,’ उनले भने ‘दुई सय बिघाभन्दा कम जग्गा हामीसँग छैन।’ यो जग्गा पनि राप्तीको नदी तटीय क्षेत्र हो भने केही सार्वजनिक ऐलानी जमिन पनि छ।

‘प्रदेश सरकारका लागि दाङ देउखुरीकै दुई स्थानीय तह राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा रहेको सरकारी जमिन पर्याप्त छ,’ गढवाका अध्यक्ष यादवले भने, ‘तत्कालै प्रदेश सरकारको भौतिक उपस्थिति गराउने हो भने पनि राप्ती गाउँपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालयका भवन पर्याप्त हुन्छन्।’

प्रकाशित: २१ आश्विन २०७७ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App