२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेश ५ : नाम र राजधानीका लागि मतदान हुँदै, दुई तिहाइले पास हुने लगभग निश्चित

प्रदेश नं. ५ को राजधानी र नाम सम्बन्धी प्रस्तावमा आज प्रदेश सभामा मतदान हुँदैछ। १ बजे सुरु  हुने प्रदेश सभाको बैठकको सुरुमा संशोधन प्रस्ताव दर्ता  गर्ने सांसदहरुलाई बोल्ने समय उपलव्ध गराइने छ। प्रस्ताव उपर तीन वटा संशोधन प्रस्ताव दर्ता भएको संसद सचिवालयले जनाएको छ। संशोधनमा बोले लगत्तै मतदान प्रक्रिया सुरु हुनेछ।

नेकपाले सोमबारै आफ्ना सांसदहरुलाई प्रस्तावका पक्षमा मतदान गर्न ह्विप लगाएको हो। प्रदेशमा कुल सांसद संख्या ८७ हो। दुई तिहाइ बहुमतकालागि ५८ मत आवश्यक पर्छ। नेकपाका ६१,कांग्रेसका १९, जनता समाजवादीका ६ र राजमोका १ जना सांसद छन्।

नेकपाका ६१ मध्ये ६० जनाले प्रस्तावका पक्षमा मतदान गर्ने नेकपाका सचेतक भुमिश्वर ढकालले बताए। यसअघि रुपन्देही कपिलबस्तुका नेकपा सांसदले प्रस्ताव प्रति असन्तुष्टि जनाएपनि भित्री रुपमा यो प्रस्ताव ल्याउनु अघि नै प्रस्तावविरुद्ध कोही पनि नजाने र ह्विप लगाउने सहमती भइसकेको थियो। प्रस्ताव ल्याइएको भोलीपल्ट नै नेकपाकै एकजना सांसदले राजनीतिक बाध्यताका कारण सडक र सदनमा विरोधका आवाज उठाउनु परे पनि प्रस्ताव बिरुद्ध कोही नजाने कुरामा नेकपाका सबै सांसदहरु स्पष्ट रहेको बताएका थिए।

आजै बिहान मन्त्रिपरिषद बैठक बसेर रुपन्देही र कपिलबस्तुलाई पर्यटकीय र आर्थिक राजधानी बनाउने निर्णय गर्दै बुटवल पक्षधर सांसद र सडकमा उत्रेका जनतालाई फाकाउने प्रयास पनि मुख्यमन्त्री  शंकर पोख्रेलले गरेका छन्।

जम्मा १९ मत रहेको नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई  प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप लगाएको संसदीय दलका नेता वीरेन्द्र कनौडीयाले बताए। कांग्रेसमा लुम्बिनीका १३ सांसद बुटवल पक्षधर र राप्ती र भेरीका ६ सांसद दाङ पक्षधर हुन। पार्टीले ह्विप नै लगाएपछि त्यसका बिरुद्ध गएर प्रस्तावको पक्षमा मतदान गरे कारबाही गरीने दलका नेता कनौडीयाले बताए।  

प्युठानबाट विजयी राजमोका एक जना सांसद पनि दाङकै पक्षमा छन्। जनता समाजवादीका दुई जना सांसद बुटवल पक्षधर हुन। ४ जनाले दाङकै पक्षमा मत दिने बुझीएको छ।

 

प्रकाशित: २० आश्विन २०७७ ०७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App