७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रपतिबाट पत्र आएको आधा घण्टामै शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिहीबार राष्ट्रियसभा सदस्यमा मनोनीत वामदेव गौतमलाई खादा लगाएर बधाई दिँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर: रासस

संघीय संसद् सचिवालयमा शुक्रबार राष्ट्रपति कार्यालयबाट नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरेको पत्र आइपुग्नासाथ शपथ ग्रहण गराइएको छ । गौतमलाई साढे ४ बजे राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

शपथपछि प्रतिक्रिया दिँदै गौतमले ‘राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठा उच्च राख्ने गरी काम गर्ने बताए । संसद्का महासचिव डा. भरतराज गौतमको कार्यकक्षमा राष्ट्रपति कार्यालयको पत्र बिहीबार करिब ४ बजे आइपुगेको थियो । पत्र आइनसक्दै हतारहतारमा महासचिवबाट तोक लगाएर सांसद सुविधा शाखामा पठाइयो भने त्यसको जानकारी राष्ट्रिय सभा अध्यक्षसमक्ष पठाइयो । संसद् सचिवालयका एक अधिकारीका अनुसार राष्ट्रपतिले मनोनीत गरेलगत्तै राष्ट्रिय सभाबाट राष्ट्रपति कार्यालयको पत्रको चाँसो भइरहेको थियो । ‘कारण अहिले थाहा भयो, उहाँको आजै शपथग्रहण रहेछ,’ उनले भने । सरकारले बुधबार गौतमलाई नेपालको संविधानको धारा ८६ उपधारा २ खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरेको थियो । संविधानको व्यवस्थाबमोजिम राष्ट्रिय सभामा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत एकजना महिलासहित तीनजना रहने व्यवस्था छ । संविधानको यस व्यवस्थाबमोजिम राष्ट्रपतिबाट रामनारायण बिडारी, विमला राई पौडेल र निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा मनोनीत भएका थिए । राष्ट्रपतिबाट मनोनीत तीनमध्ये डा. खतिवडाको मात्र गोलाप्रथाबाट दुई वर्षे कार्यकाल भएको थियो । अन्य १८ जनाको गत माघ ९ गते प्रदेश प्रदेशमा भएको निर्वाचनबाट पदपूर्ति भएको छ । २०७६ फागुन २० गतेदेखि नै मनोनीत हुन बाँकी रहेकाले त्यस पदमा गौतमलाई ल्याइएको हो । ६ महिनासम्म संसद् सदस्य नभए पनि अर्थमन्त्रीमा डा. खतिवडालाई कायम राखिएको थियो । संसद्को सदस्य नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री हुन नपाउने व्यवस्था रहेकाले उनले गत भदौ १९ मा राजीनामा दिएका थिए ।

प्रकाशित: २ आश्विन २०७७ ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App