७ वैशाख २०८१ शुक्रबार
राजनीति

जोखिम हेरी रणनीति बनाऔं: देउवा, विरोधका लागि विरोध नगर्नुस्: ओली

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण जोखिमको अवस्था हेरी तत्कालीन, मध्यकालीन र दीर्घकालीन रणनीति बनाउन सरकारलाई सुझाएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विज्ञसहित राजनीतिक दलका शीर्ष नेतासँग गरेको छलफलका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले परिस्थितिको गाम्भीर्य मूल्यांकन गर्न असफल भएको आरोप लगाए ।

‘कांग्रेसले विगतदेखि अघि सारेका माग परिवर्तित स्थितिमा पनि सान्दर्भिक भएको जनाउँदै देउवाले उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर फरक–फरक रणनीतिसहित कार्यान्वयनमा जान सरकारलाई सुझाव दिए । ‘वर्ग, क्षेत्र र परिस्थिति हेरी राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन गरियोस्,’ देउवाले दिएको सुझाव उद्धृत गर्दै कांग्रेस मुख्य सचिवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कोरोना संक्रमण नियन्त्रण र न्यूनीकरणमा सरकार चुक्दै आएको आरोप लगाउँदै कांग्रेसले भनेको छ, ‘हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गरियोस् । स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारको ढाकछोप होइन छानबिन र कारबाही गरियोस् ।’ एक प्रदेशमा १ लाख नयाँ पिसिआर परीक्षण तत्काल सुरु गर्नेगरी आवश्यक बन्दोबस्त गर्न कांग्रेसले सुझाव दिएको छ । नेपालीको उद्धार गर्नुपर्ने स्थितिमाबाहेक सीमानाको आवागमनमा सम्पूर्ण कडाइ र सीमानाका सिल गर्न र सुरक्षाका लागि मास्क लगाउने अनिवार्यतासँगै चेतनामूलक अभियानमा आम सञ्चारका माध्यमको व्यापक प्रयोग गर्न पनि कांग्रेसको सुझाव छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र राष्ट्रिय संकटका बेला विरोध गर्ने प्रवृत्ति फेर्नुपर्ने बताएका छन् । परामर्श बैठकमा प्रधानमन्त्री ओलीले महामारीलाई सबै मिलेर सामना गर्नुपर्ने बताए । ‘कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रण सरकारले गर्ने काम र प्रयासले मात्र सम्भव छैन,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ, ‘जनतामा चेतना जति बढाउन सकिन्छ, कोरोनाविरुद्धको लडाइँ जित्न त्यति नै सजिलो हुन्छ ।’  

प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मी, उपकरण, संरचना आदि सबै हिसाबले कमजोर रहेको अवस्थामा पनि सबै प्रबन्ध गरेर कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चालेको दाबी गरे । ‘हाम्रो कार्यान्वयन एकदमै कमजोर रहेको होइन, स्वास्थ्यकर्मी, उपकरण र संरचनाका हिसाबले हामी कमजोर थियौं,’ ओलीले भने, ‘हामीले यस महामारी आएपछि पूर्वाधार बनाएर सक्षम, सम्पन्न र बलियो स्वास्थ्य पूर्वाधार भएका देशका तुलनामा सफलता हासिल गरेका छौं ।’  

असल कामको समर्थन र गलत कामको विरोध गर्न छाडेर विरोधका लागि विरोध मात्र गरेको बताउँदै भने, ‘असल कामको समर्थन र खराब कामको विरोध गरे, विरोधको पनि नैतिक हैसियत हुन्थ्यो । यहाँ त जे ग-यो त्यसको विरोध, कसैले राम्रो भयो भने त्यसलाई पनि खेद्ने काम हुन्छ ।’

प्रकाशित: २१ श्रावण २०७७ ०२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App