१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अयोध्याबारे नबाेल्नू भन्दाभन्दै कुरा फुत्काउनुभयो, अब जनतासमक्ष आत्मालोचना गर्नुस् : वामदेव गौतम

फाइल तस्बिर

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीलाई अयोध्याबारे दिएको अभिव्यक्ति फिर्ता लिएर जनतासमक्ष आत्मआलोचना गर्न आग्रह गरेका छन् ।  

रामको जन्मभूमिबारे प्रधानमन्त्रीले ओलीले दिएको मन्तव्यबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको उल्लेख गर्दै नेता गौतमले उनलाई आफ्नो मन्तव्य फिर्ता लिन र आत्मालोचना गर्न सुझाव दिएका हुन् ।  

 

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न : राम र अयोध्याबारे बहस गर्ने बेला हो यो ?

 

उपाध्यक्ष गौतमले मंगलबार आफ्नो फेसबुकमा ‘राम जन्मभूमि र विवाद’ शीर्षकमा पत्र लेख्दै प्रधानमन्त्री ओलीलाई प्राविधिक तथा इतिहासविद्को टोली बनाई त्यस सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न पनि अनुरोध गरेका छन् ।

अयोध्याबारे अध्यक्ष ओलीले २ वर्षअघि नै बोल्न लागेको तर आफूले बिनातथ्य/प्रमाण यस्तो कुरा कहीं कतै नभन्न सल्लाह दिएकामा हिजो (सोमबार) ‘सार्वजनिक गरेरै छाडेको’ उल्लेख गरेका छन् । 

‘नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष क। केपी शर्मा ओलीले हिजो अर्थात् असार २९ गते कुनै कार्यक्रममा राम जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तिखो प्रतिक्रिया उत्पन्न गरेको छ,’ नेता गौतमले लेखेका छन्, ‘राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ, त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु ।’ 

 

यो पनि पढ्नुहोस्

डा. भट्टराईको टिप्पणी : अब ओलीलाई छाडा नछाडौं, खतरनाक हुनेछ !

 

नेकपा उपाध्यक्ष वामदेवले फेसबुकमा राखेकाे धारणाकाे पूर्णपाठ :

राम जन्मभूमि र विवाद

नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष क। केपी शर्मा ओलीले हिजो अर्थात् असार २९ गते कुनै कार्यक्रममा राम जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तीखो प्रतिक्रिया उत्पन्न गरेको छ । आजभन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो विषयबारे चर्चा गर्नुभएको थियो । मैले उहाँलाई यस सम्बन्धमा आफूले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै बिनाअनुसन्धान, बिनातथ्य प्रमाण यस्तो विषयलाई तपाईंले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नुभयो ।

क। केपी ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि हुनुहुन्छ । अहिले उहाँ चाहँदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरू जुटाउन, आएका अनुमानहरूको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा हुनुहुन्छ । उहाँले उठाउनुभएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत साबित भएको अवस्थामा प्रधानमन्त्रीले हैन, इतिहासकारहरूले सार्वजनिक गर्नुपर्दथ्यो ।

भगवान् रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिस्टहरूका निम्ति केही फरक पर्दैन । रामका भक्तहरू नेपाल र भारतमा ठूलो संख्यामा रहेका छन् । यथार्थवादी भएका नाताले इतिहासप्रति हामी कम्युनिस्टहरूले अन्याय गर्न सक्दैनौं । नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरूको नेपाल रहँदासम्म प्रशंसा गरिरहिनेछ । संसारमा धेरै धर्महरू छन्, धेरै धार्मिक सम्प्रदायहरू छन् र तिनका अनुयायीहरू करोडौंको संख्यामा रहेका छन् । उनीहरूको धार्मिक आस्थामा चोट पु¥याउने क्रियाकलाप गर्न कसैले हुँदैन । त्यसैगरी कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर न त राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्ने दुष्कर्म गर्न हुन्न । यस अर्थमा हामी कम्युनिस्टहरू धर्मनिरपेक्ष हुन चाहन्छौं ।

राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ, त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु । साथै प्राविधिक तथा इतिहासविद्हरूको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क। केपी ओलीलाई विनम्र अनुरोध पनि गर्दछु ।  

३० असार, २०७७

प्रकाशित: ३० असार २०७७ ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App