४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विप्लव नेकपाको गतिविधि बढ्यो

सुरक्षा निकायको ध्यान कोरोनाको नियन्त्रण तथा रोकथाममा केन्द्रित भइरहेका बेला प्रतिबन्धित नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपाका गतिविधि बढेको नेपाली सेनाले जनाएको छ । शुक्रबारदेखि जंगी अड्डामा सुरु भएको पृतनापतिहरूको बैठकमा सेनाले विप्लवबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीप्रति सजग हुनुपर्ने विषयमा छलफल सुरु गरेको हो ।

सेनाले पछिल्लो समय काठमाडौं उपत्यकाभित्रै पनि विप्लवका नेता कार्यकर्ताहरू हातहतियार सहित पक्राउ परेकोर उपत्यका बाहिर पनि विप्लवका गतिविधिहरू बढिरहेको भन्दै त्यसका लागि आवश्यक सतर्कता र सजगता अपनाउनुपर्ने जनाएको छ ।

सुरक्षा निकाय कोरोना महामारीमा केन्द्रित भइरहेका बेला विप्लव समूहले कुनै घटना गराउन सक्ने सेनाको अनुमान रहेको छ । अहिले सरकारले कोरोना नियन्त्रणका लागि गरिरहेका कामबाट जनतामा असन्तुष्टि बढिरहेका बेला जनताको सेन्टिमेन्ट आकर्षण गर्न विप्लवले सरकार विरोधी गतिविधि गर्न सक्ने सेनाको आँकलन छ ।

उच्चस्तरीय बैठकमा विप्लव नेकपाका कारण उत्पन्न सुरक्षा चुनौतीसँगै विदेशबाट फर्किनेहरूका लागि सहजीकरण, सीमा विवादका कारण उत्पन्न परिस्थिति तथा पछिल्लो समय सेनामाथि लागेका आरोपका विषयमा पनि छलफल हुने सेनाले जनाएको छ ।

त्यस्तै, कोरोना संक्रमणको नियन्त्रण तथारोकथामलाई थप व्यवस्थित गर्ने बारे पनि छलफल हुने सैन्य–स्रोतको भनाइ छ । ‘आइतबारसम्म सञ्चालन हुने बैठकमा मुख्यतः अहिले देखिएका चुनौतीको कसरी सामना गर्ने भन्ने विषयमा छलफल हुनेछ,’ स्रोतले भन्यो । बैठकमा पृतनापतिसहित विभिन्न निर्देशनालयका निर्देशकलगायत उच्च सैन्य अधिकारीहरूको सहभागितारहेको सेनाले जनाएको छ ।

प्रकाशित: ६ असार २०७७ ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App