१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

परिपक्व र जिम्मेवार कूटनीति प्रदर्शन गर्न नेपाललाई सुझाव

नेपालसँग सीमावर्ती भूभागको स्वामित्वलाई लिएर विवाद चर्किरहेका बेला भारतले विवाद समाधानका लागि सकारात्मक र रचनात्मक प्रयासको आवश्यकता औंल्याएको छ। नेपालको भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथिको स्वामित्वका विषयमा दुई मुलुकबीच विवाद चर्किंदै गएको अवस्थामा भारतको यस्तो धारणा आएको हो।  

नेपालले वार्ता प्रयाससँगै आफ्नो भूभागमाथिको स्वामित्व स्थापनाको प्रयास गरिरहेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबार भर्चुअल पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। उनले छिमेकी मुलुकबीच यस किसिमका समस्या समाधानका लागि आपसी संवेदनशीलता र विश्वासको वातावरण आवश्यक रहेको बताएका छन्।  

भारतीय पक्षले नेपालका तर्फबाट सकारात्मक पहलको अपेक्षा गरिरहेका बेला कूटनीतिक क्षेत्रका जानकारहरू भने अहिले नेपालले भन्दा पनि भारतले रचनात्मक र सकारात्मक पहल गर्न आवश्यक रहेको बताउँछन्। भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय विदेश मन्त्रालयका प्रवक्ताले बोलेको कुरा उनीहरूमै पहिले लागू हुनुपर्ने बताउँछन्। नेपालसँगको सम्बन्ध बिगार्न नेपालले नभई भारतले नै भूमिका निर्वाह गरिहेकाले त्यो पहिले उनीहरूमै लागू हुने उनको तर्क छ।  

उपाध्याय नेपालले वार्ताका लागि प्रयास गर्दा पनि भारतले बेवास्ता गर्ने, एकतर्फी काम अघि बढाउने जस्ता कामको र दुई देशका विज्ञ सम्मिलित इपिजी प्रतिवेदन बुझ्न पनि भारतले नै अस्वीकार गरेको बताउँछन्। उनी नेपाल र भारतबीच सीमा विवादमात्र नभएर व्यापार, पानीलगायत कतिपय विषयमा पनि भारतले बेवास्ता गर्दै आइरहेको बताउँछन्। यसले गर्दा दुवै पक्षलाई लाभ हुनसक्ने अवस्थामा पनि दुवै देशका जनताले दुःख भोगिरहेको उनको भनाइ छ।  

‘वार्ताका लागि वातावरण बनाउने पहल उतैबाट सुरु गर्नुपर्छ, अहिले बल भारतको कोर्टमा छ,’ उनले भने। उपाध्याय सिद्धान्तमा भारतले छिमेक पहिलो नीति अलवम्बन गरे पनि व्यवहारमा त्यस्तो नगरेको बताउँछन्। उनी नेपाल भारत सम्बन्ध बिग्रिँदा त्यसको असर नेपालमा मात्र नभएर भारतमा पनि उत्तिकै पर्ने बताउँछन्। ‘वार्ताको वातावरण बिगार्ने काम भारतबाटै भइरहेको छ त्यसैले यसका लागि सकारात्मक वातावरण बनाउने जिम्मा पनि उनीहरूकै हो,’ उनले भने।

नेपाल भारत सम्बन्ध बिग्रिँदा त्यसको असर नेपालमा मात्र नभएर भारतमा पनि उत्तिकै पर्छ। त्यसैले समस्या समाधान गर्न भारतबाटै सकारात्मक र रचनात्मक प्रयास हुनुपर्छ: विज्ञ

नेपालका तर्फबाट पनि परिपक्व कूटनीति अलवम्बन गर्नुपर्ने उपाध्याय बताउँछन्। ‘जिम्मेवार तहमा हुनेले कहाँ के बोल्नुपर्छ भन्ने बुझ्नुपर्छ, कच्चा कूटनीति अवलम्बन गर्दा त्यसको असर हामीलाई नै पर्छ,’ उनले भने। जिम्मेवार तहमा रहेका व्यक्तिबाटै एउटै विषयमा फरक–फरक धारणा बनाउनुभन्दा एउटै धारणा बनाएर अघि बढ्नुपर्ने उनको सुझाव छ। त्यसका लागि परराष्ट्र मन्त्रालयलाई बलियो बनाएर अघि बढ्न सकिने र अहिले झन्डै दुई तिहाइको सरकार भएकाले त्यसका लागि उपयुक्त वातावरण पनि रहेको उनी बताउँछन्।  

भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तवले नेपालमा सीमा विषयमा भइरहेको पछिल्लो विकास क्रमलाई नजिकबाट हेरिरहेको र विषयको गाम्भीरताका आधारमा पछिल्ला घटनाक्रमलाई ध्यानपूर्वक लिएको बताएका थिए। भारतले आपसी संवेदनशीलता र सम्मानका आधारमा छिमेकी मुलुकसँग छलफलका लागि तयार भएको बताउँदै यसका लागि विश्वासको वातावरण हुनुपर्ने उनको तर्क थियो। ‘यो निरन्तरको प्रक्रिया हो र यसका लागि रचनात्मक र सकारात्मक प्रयास आवश्यक पर्छ,’ उनले भनेका छन्।  

कूटनीतिक मामिलाका जानकार मदन भट्टराई दुई मुलुकबीच वार्ताको वातावरण हुनुपर्ने अर्थमा यस्तो भनाइ आएको हुनसक्ने बताउँछन्। हाल दुई मुलुकबीच एक–अर्काबीच संवाद (टकिङ टु इच अदर्स) हुनुपर्नेमा एक–अर्काका बारेमा (टकिङ एट इच अदर्स) को अवस्था रहेकाले अहिलेको स्थिति आएको भट्टराई बताउँछन्। हालको समस्या समाधानका लागि दुई मुलुकबीच उच्चस्तरीय तहमा विश्वासको वातावरण बन्नुपर्ने उनको भनाइ छ।  

भट्टराई नेपालले छिमेकीलाई प्राथमिकतामा राख्दै शान्त कूटनीतिमार्फत समस्याको समाधान खोज्नुपर्ने बताउँछन्। उनका अनुसार दुई मुलुकबीचको विशिष्ट सम्बन्धलाई ध्यानमा राख्दै दुवै पक्ष गम्भीर भएमा मात्र समस्या समाधान हुनेछ। ‘हाम्रा बीचमा निकै राम्रो सम्बन्ध छ, जहाँ राम्रो सम्बन्ध हुन्छ, त्यहाँ समस्या पनि हुन्छ। त्यसैले द्विपक्षीय सम्बन्धका आधारमा समस्याको समाधान खोज्नुपर्छ,’ उनले भने।

गत नोभेम्बरमा भारतले नेपालको भूभागलाई समेत समेटेर नक्सा प्रकाशित गरेपछि सुरु भएको विवाद केही दिनअघि भारतले लिपुलेकमा एकतर्फी रूपमा सडक निर्माण तथा उद्घाटन गरेपछि थप चर्किंदै गएको छ। यस विषयमा नेपालले भारतसँग वार्ताका लागि पटक–पटक पहल गर्दासमेत उसले बेवास्ता गर्दै एकतर्फी रूपमा अघि बढ्न खोजेपछि समस्या आएको छ। नेपालले ती भूभागलाई समेटेर नक्सासमेत सार्वजनिक गरिसकेको छ।  

मन्त्रिपरिषद्बाट नेपालको नक्सा स्वीकृत भएर संविधान संशोधनको प्रक्रियासमेत सुरु भइसकेको अवस्थामा भारतले वार्ताका लागि रचनात्मक र सकारात्मक प्रयास आवश्यक हुने जनाएको हो। भारतले नेपालले हालै जारी गरेको नक्सालाई अस्वीकार गर्ने बताएको छ। नेपालले पनि भारतले गत नोभेम्बरमा सार्वजनिक गरेको नक्सालाई अस्वीकार गर्ने जनाइसकेको छ। नेपालले विवादलाई वार्ताकै माध्यमबाट सल्टाउन भारतसँग पटक–पटक प्रयास गर्दै आएको छ। अहिले पनि नेपाल वार्ताकै माध्यमबाट समस्याको समाधानका पक्षमा रहेको छ।

प्रकाशित: १७ जेष्ठ २०७७ ०२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App