१६ चैत्र २०८० शुक्रबार
राजनीति

भ्रष्टाचार आरोपमा अवकास प्राप्त उपरथी श्रेष्ठमाथि सेनाको कारवाही

नेपाली सेनाले आर्थिक अनियमितता गरेको र जिम्मेवारीमा हुँदा कानुनत पालना गर्नु पर्ने प्रकृया र दायित्व पुरा नगरेको भन्दै सेनाको हवाई महानिर्देशनालयका तत्कालिन महानिर्देशक पाइलट उपरथी सुधिर श्रेष्ठ (अवकाश प्राप्त)लाई कारबाही गरेको छ।  

शुक्रबार बसेको समरी जनरल सैनिक अदालतले श्रेष्ठले सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा सैनिक ऐन २०६३ अनुसार नसिहत तथा रकम असुल उपर गर्ने फैसला सुनाएको छ। उनले हवाई निर्देशक हुँदा श्रेष्ठले ५८ लाख ९५ हजार पाँच सय ९० रुपैयाँको कुनै हिसाब नराखी अनियमितता गरेको भन्दै सैनिक अदालतले सो रकम श्रेष्ठबाट असुल गर्न आदेश दिएको छ। सैनिक अदालतले सोही मुद्दामा अन्य आठ जना सैनिक अधिकृतहरुलाई सचेत गराएको छ भने एक जना अधिकृत सहित नौ जना अन्य दर्जालाई सफाइ दिने गरी फैसला गरेको छ।  

सैनिक हवाई महानिर्देशनालयमा विभिन्न कमिकमजोरी भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको  गत चैत ४ गतेको राय सहितको प्रतिबेदनको आधारमा श्रेष्ठ सहित १९ जना सैनिक अधिकारीमाथि सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको मुद्दा पुर्पक्ष गर्न रथीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले बुधबार उक्त फैसला गरेको थियो। सोही मुद्धामा अन्य आठ जना अधिकृतहरुले आफूलाई प्राप्त जिम्मेवारिलाई प्रभावकारी रुपमा सम्पादन नगरेको ठहर गरि सचेत गराउने फैसला सैनिक अदालतले गरेको छ।  

सेनाले केही दिन सैनिक आवासीय महाविद्यालय भक्तपुरमा आर्थिक अनियमितता गर्ने एक जना महासेनानी (फुल कर्णेल) र प्रमुख सेनानी (लेफ्टनेन्ट कर्णेल) सहित पाँच जनालाई कारबाही गरेको थियो। त्यस्तै सेनाले भ्रष्टाचार गरेको आरोपमा सहायकरथी प्रयोगजंग राणा र महासेनानी नविन सिलवाललाई विरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा हुँदा कोष दुरुपयोगका आरोपमा छानबिनका लागि नियन्त्रणमा राखेको छ। उनीहरुमाथि छानबिन भइरहेको सेनाले जनाएको छ।  

 

 

प्रकाशित: १६ जेष्ठ २०७७ १६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App