८ वैशाख २०८१ शनिबार
राजनीति

बजेटप्रति नेताहरुको मिश्रित प्रतिक्रिया

प्रमुख राजनीतिक दलका नेताहरुले सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटप्रति मिश्रित प्रतिक्रिया दिएका छन् । सत्तारुढ दलका नेताहरुले बजेट कोरोना माहामारीलाई केन्द्रीत गरेर आएको जनाएका छन् भने प्रतिपक्षी दलका नेताहरुले अहिलेको परिस्थीतिको यर्थात चित्रणसहित आउन नसकेको गुनासो गरेका हुन् । 

बजेटले लिएका लक्षहरु हसिल हुन नसक्ने भन्दै विपक्षी दलका नेताहरुले कोरोना संकटमा बजेट फोकस हुन नसकेको प्रतिक्रिया दिएका छन् । तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पुष्पकमल दाहालले महामारीको परिस्थितिमा पनि जनतालाई राहत दिने गरी बजेट आएको जनाए ।  

‘कोरोना महामारीको विषम परिस्थितिमा पनि निकै सन्तुलित, जनतालाई राहत दिने किसिमले, सिर्जनात्मक ढंगले, प्रगतिशिल, जनपक्षीय र समाजवाद उन्मुख बाटो पक्डिने गरी बजेट आयो’, बजेट भाषणपछि संसद भवनबाट बाहिरने क्रममा दाहालले भने, ‘सबै समुदाय त्यसमा पनि मुख्यतः निम्न वर्गका जनतालाई सम्बोधन गर्ने, राहत दिने प्रयास गरेको छ । त्यो सकारात्मक छ ।’  

जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले सरकारले ल्याएको बजेटलाई क्यान्सर रोगीलाई सामान्य झारफुक गरेजस्तो भएको प्रतिक्रिया दिएका छन् । ‘बजेट निरन्तरतामा आयो यसले समस्या समाधान गर्दैन,’ भट्टराईले संसद् भवनमा पत्रकारसँग भने, ‘राहत कनिका छरेजस्तै आयो । यसले अहिलेको संकट समाधान गर्दैन ।’  

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेटमा धेरै कुरा आएपनि प्राथमिकतामा कुनै पनि क्षेत्र नपरेको टिप्पणी गरे । स्वास्थ्य, रोजगारी तथा शिक्षामा आएका विषयहरु पुरानै प्रकृतिको भएको जनाउँदै कार्कीले कृषि क्षेत्रको विकासमा पनि खासै योजना आउन नसकेकोबताए । ‘समग्रमा बजेट आश्वासनमुखि भए पनि कार्यान्वयनको दिशामा विगतको निरन्तरतालाई जोड दिएको छ,’ उनले भने ।

कांग्रेसका अर्का नेता मीनेन्द्र रिजालले सरकारले ल्याएको बजेट सरकार र नेपाल कम्युनिष्ट पार्टीको असफलताको दस्तावेज भएको जनाए । ‘बजेट सरकार र नेकपाको असफलताको रुपमा आएको छ’, रिजालले भने ‘झण्डै दुई तिहाइको बलशाली सरकारले यस्तो कठिनाइका बेला नयाँ भिजनसहितको बजेट ल्याउन सक्नु पर्दथ्यो, कल्पनाशीलता प्रदर्शन गर्न सक्नुपर्दथ्यो ।

’सरकारले अप्ठ्यारोमा आँखा खोल्न नसकेको भन्दै सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भनिए पनि ठोस रुपमा अङ्का नआएको बताए । 

प्रकाशित: १६ जेष्ठ २०७७ ०५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App