१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

दीपक र जमुना वर्षको उत्कृष्ट खेलाडी

काठमाडौं, भदौ २५ (नागरिक)- ग्वाङ्झाउ एसियाडमा नेपालका लागि एकमात्र पदक जित्ने बक्सर दीपक महर्जन र महिला साफ च्याम्पियनसिपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेकी जमुना गुरुङ पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट खेलाडी बनेका छन्।
आइतबार प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्डको पुरुष खेलाडीको विधामा बक्सिङ खेलाडी दीपकले मनोनयनमा परेका क्रिकेटका राहुल बिक, फुटबलका रोहित चन्द, शारीरिक सुगठनका श्याम श्रेष्ठ र बुद्धिचालका विलमलाल श्रेष्ठलाई पछि पारेका थिए।
पुरस्कार पाएपछि दीपकले भावुक भएर भने, 'यो पुरस्कारले खेलाडीको मनोबल बढाएको छ। मलाई भने थप जिम्मेवारीबोध महसुस भएको छ। आज मलाई केही गरेको मात्र महसुस भएन, अझै धेरै गर्न बाँकी रहेको पनि बोध भएको छ। म देशका लागि थप मेहनत लगाएर खेल्नेछु र अझै ठूला उपलब्धी हासिल गर्नेछु।'
महिलामा जमुनाले आफ्नै टिम सहयात्री अनु लामा, टेनिसकी किशोरी अश्लेषा लिसानोविच, एथलेटिक्सकी कान्छिमाया कोजु र तेक्वान्दोकी मनिता शाहीलाई पछि पार्दै उपाधिमा कब्जा जमाएकी थिइन्। विजेता जमुनाले भने आफ्नो जितको श्रेय एन्फा, मोरङ जिल्ला फुटबल संघ, पूर्वेली फुटबललाई दिइन्। उनले दिवंगत दाजुप्रति अवार्ड समर्पण गरेकी थिइन्।।
दुवै विधाका विजेताले पुरस्कारस्वरुप पल्सर मोटरसाइकलका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।
यसैगरी ८१ केजी तौलका दीपकलाई एसियाडमा कांस्य जिताउँदा रणनीति तयार गरेका प्रचण्ड शर्मा उत्कृष्ट प्रशिक्षकमा चुनिए। उनले शारीरिक सुगठनका ज्ञानेन्द्र नकर्मी, महिला फुटबलका ध्रुव केसी, क्रिकेटका जगत टमाटा तथा महिला क्रिकेटका श्यामसंग जंग थापालाई पछि पार्दै वर्षको उत्कृष्ट प्रशिक्षकको ट्रफी उचाले।
युवा खेलाडीको विधामा नेपाललाई एसीसी यु-१९ एलिट कप जिताएकी कप्तान नेरी थापा क्रिकेटकै दुई तथा जुडो र टेबलटेनिसका १/१ प्रतिद्वन्द्वीलाई पछि पार्दै युवा खेलाडी विधामा उत्कृष्ट भइन्। उनले मनोनयनमा परेका आफ्नै टोलीकी सहयात्री सरिता मगर, यु-१९ पुरुष टोलीका कप्तान पृथु बास्कोटा, जुडोकी फुपूल्हामु खत्री र टेबलटेनिसका अनिश श्रेष्ठलाई निराश पारेकी थिइन्।
लोकप्रिय खेलाडीको विधामा सर्वाधिक मत ल्याउँदै पोखराकी राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ विजेता भइन। उनले बक्सिङका दीपक महर्जन, फुटबलका सागर थापा, क्रिकेटका राहुल बिक र पौडीकी श्रेया धिताललाई पछाडि पारिन्। २ लाख ९८ हजार ५ सय १२ एसएमएस मतमध्ये सिपोराले १ लाख ३६ हजार २ सय ७२ मत प्राप्त गर्दै दोस्रोपटक लोकप्रिय खेलाडीको उपाधि पोखरा पुर्‍याइन्। दुई वर्षअघि पोखराकै भलिबल खेलाडी मञ्जु गुरुङ पनि विजेता भएकी थिइन्।
पल्सर वर्ष खेलाडी बनेका दीपकले १ लाख २८ हजार ६ सय ८४ मत ल्याएर सिपोरालाई चुनौती पेश गरेका थिए। यसैगरी सागरले २१ हजार ९ सय २६ मत ल्याएर तेस्रो स्थानमा रहे।
क्रिकेट तथा एथलेटिक्सका विक्रम रानाले वर्षको उत्कृष्ट पारा एथलिटको उपाधि जित्दा पूर्वाञ्चलका फुटबलकर्मीद्वय दिलीप राई र भगीरथ आले संयुक्त स्पेसल अवार्डबाट सम्मानित भए। त्यस्तै टेबलटेनिसका पहिलो प्रशिक्षक रमेशराज जोशीले लाइफटाइम एचिभमेन्ट अवार्ड पाए।
पुरुष र महिलाबाहेकका सबै ६ विधाका विजेतालाई टाइमेक्स घडी, कलेज अफ मेडिकल साइन्सेस एन्ड टिचिङ हस्पिटलमा एक वर्षे निशुल्क स्वास्थ्य सेवा, डिस मिडिया नेटवर्कको डिटिएचसहित ६ महिनाको निःशुल्क सेवा, बुद्ध एयरको माउन्टेन फ्लाइट टिकट, चेरी वर्ल्ड कम्युनिकेसनबाट एक वर्ष इन्टरनेट सेवा र व्यक्तिगत वेबसाइट निर्माण, न्यु होराइजन कार्पेटबाट नेपाली कार्पेट प्रदान गरियो। मनोनित खेलाडीले टाइमेक्स घडी र जोन प्लेयर्सको टिसर्ट प्राप्त गरेका थिए।

प्रकाशित: २५ भाद्र २०६८ ०९:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App