१६ चैत्र २०८० शुक्रबार
राजनीति

देउवाको आरोप : प्रधानमन्त्रीको राष्ट्रवाद कालापानीमा लम्पसार

दाङ- नेपाली कांग्रेसका शीर्ष नेताहरुले बर्तमान सरकारको धर्मराएको ‘समृद्धी’ को नारा लिपुलेकमा लम्पसार परेको बताएका छन्। जिल्लाको क्षेत्र नम्बर ३ (ख) मा पर्ने तुलसीपुर ६ श्रीगाउँमा सोमवार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेस शीर्ष नेताहरुले विभिन्न ‘काण्डै काण्ड’ले धर्मराएको समृद्धीको नारा लिपुलेकमा पुगेर समाप्त भैसकेको बताए।

पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद ‘कालापानी’ मा लम्पसार परेको दाबी गरे। ‘आँफूलाई ठूलो राष्ट्रवादी भनेर प्रचार गरेका केपी जी ले कालापानीमा समर्पण गरे,’ देउवाले भने ‘नेपालको ठूलो हिस्सालाई भारतले मिच्दा लम्पसार पर्नु कस्तो राष्ट्रवाद हो?’ जनताको मत खिच्नका लागि मात्रै आँफूलाई राष्ट्रवादी भनेर प्रचार गरेका ओलीमा राष्ट्रवादको भावनै नरहेको समेत आरोप लगाए। ‘उनले चुनाव जित्नका लागि जनतालाई झुक्याउन राष्ट्रवादी भनेर गलत प्रचार गरे,’देउवाले भने ‘उनिभित्र राष्ट्रवाद छैन, उनि राष्ट्रवादी हैनन्।’

न्यायालय, संवैधानिक अंग तथा प्रेस माथि ठाडै हस्तक्षेप गरेर वर्तमान सरकारले लोकतन्त्रको धज्जी उडाएको भन्दै देउवाले लोकतन्त्रीक शासन व्यवस्थाको सवक सिकाउनका लागि उपचुनाव ठूलो अवसर बनेर आएको बताए। उनले यो निर्वाचन बर्तमान सरकारका लागि ठूलो चुनौती समेत रहेको बताए। ‘यो चुनावले सरकार परिवर्तन गराउने सम्मको हैसियत राख्दैन,तर ओली सरकारको ज्यादती रोक्नका लागि सहि सवक सिकाउने अवसरका रुपमा यो चुनाव हो,’ देउवाले भने ‘यो उपचुनावमा कांग्रेसको विजयले ओलीको वर्तमान गलत कार्यशैलीलाई धेरै हद सम्म सच्याउने छ।’ नेपाली नागरिकलाई कमजोर पारेर सरकार बलियो बन्न खोजेको भन्दै देउवाले सरकारको मालिक जहिल्यै जनता रहनु पर्ने समेत बताए।

चुनावी सभामा बोल्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले दुई तिहाई शक्तिको दुरुपयोग गरिरहेको आरोप लगाए। उनले वर्तमान सरकारको कार्यशैलीलाई राणा शासनको नयाँ संस्कारणका रुपमा अर्थ्याए। ‘संवैधानिक आयोग, न्यायालयलाई समेत तर्साउने काम अहिलेको सरकारले गरिरहेको छ,’ पौडेलले भने ‘अहिलेको सरकार राणा शासनको अर्को संस्करण हो।’ प्रजातन्त्र र लोकतन्त्रको बाटो थुनेर तानाशाह लाद्न खोजिएको भन्दै पौडेलले यो तानाशाह विरुद्ध सबै नेपालीहरु एकहुने समय आएको बताए। ‘लोकतन्त्र र प्रजातन्त्रको बाटो थुनियो, तानाशाह लाद्न खोजियो,’उनले भने ‘यो तानाशाहको विरुद्धमा सबै नेपालीहरु एक हुने बेला आएको छ,सबै चनाखो बन्न जरुरी छ।’

 

 

 

 

प्रकाशित: ९ मंसिर २०७६ ११:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App