coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मन्त्रीको जिम्मेवारी सम्हालेका योगेशलाई युवा नेताले के भने ?

काठमाडौं– विद्यार्थी आन्दोलनबाट उदाएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ‘युवा’ नेता योगेश भट्टराईले पहिलोपटक मन्त्रीको जिम्मेवारी पाएका छन्। हेलिकोप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रतिबद्धता मुताबिक योगेशलाई बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पदमा नियुक्त गरेका हुन्। योगेशले बुधबारै राष्ट्रपति विद्यादेवी भण्डारीबाट देश र जनताको नाममा सपथ लिए। सपथ लिँदै गर्दा योगेशका अगाडि चुनौतीका चाङ छन्। वाइडबडी घोटालादेखि नेपाल वायु सेवा निगमको ओरालो यात्रा, पर्यटन वर्ष २०२० सफल बनाउने लगायत समस्यालाई पार लगाएर सफल मन्त्रीको पहिचान बनाउने चुनौती उनीमाथि छ। 

तमाम चुनौतीका बीच पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका योगेशलाई उनका समकालिन तथा सहयोद्धाहरुले सफल कार्यकालसहित युवा राजनीतिज्ञप्रतिको विश्वास कायम राख्न सुझाव दिएका छन्। उनीहरुले भ्रष्टाचारको दलदलमा फसेको मन्त्रालयलाई माथि उकास्न र रवीन्द्र अधिकारीले सुरु गरेका कामलाई सम्पन्न गर्न पनि शुभकामना दिएका छन्। 

प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता एवं समकालिन गगन थापाले जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेर युवा पुस्ताका राजनीतिज्ञप्रतिको आशा र विश्वासलाई यथार्थमा परिणत गर्न आग्रह गरेका छन्। ‘योगेश दाइ, मन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्। मन्त्रीको रूपमा तपाईँको सफलता तपाईँ र तपाईँको पार्टीसंग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरू प्रतिको आशा र विश्वाससंग जोडिएको छ। मुरी मुरी शुभकामना’, पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले सुझाव दिएका छन्। 

यस्तै, नेपाली कांग्रेसका प्रवक्ता एवं योगेशका समकालीन विश्वप्रकाश शर्माले बदनाम हुने काम नगर्न सुझाव दिएका छन्। ‘विद्यार्थी राजनीति क्रममा हार्दिकता र द्वन्द्वको दुई खाले मनस्थितिमा काम गरेको ब्यक्तिगत अनुभव भन्छ, योगेश भट्टराई मन्त्रीका रूपमा सुयोग्य हुनसक्छन्। नम्र आग्रह छ, सम्भव भएसम्म राम्रो गर्नु, कम्तीमा बदनामी हुने कर्मबाट जोगिनु’, विश्वप्रकाशले आग्रह गरेका छन्।

कांग्रेसकै युवा नेता प्रदीप पौडेलले युवापुस्ताको आशामा तुषारापात नहुनेगरी फराकिलो सोचका साथ राष्ट्रिय हितमा महत्वपूर्ण योगदान पुग्नेगरी काम गर्न योगेशलाई सुझाव दिएका छन्। ‘युवापुस्ताका आशामा तुषारापात नहोस्, फराकिलो सोचका साथ राष्ट्रिय हितमा महत्वपूर्ण योगदान पुगोस्, हाम्रो पुस्ता उस्तै होइन फरक छ भन्ने विश्वास कÞायम रहोस’, उनले भनेका छन्। 

कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले भ्रष्टाचारको दलमा फसेको पर्यटन मन्त्रालयलाई माथि उठाएर आफ्नो क्षमता गर्न योगेशलाई शुभकामना दिएका छन्। ‘प्रिय मित्र योगेशजी! भ्रष्टाचारको दलदलमा फँसेर अरबौं घाटामा परिरहेको पर्यटन मन्त्रालयलाई भ्रष्टाचारको दलदलबाट मुक्त गरेर जनताको बीचमा आफ्नो कौसलता देखाउनु होला, शुभकामना छ’, गुरुङले भनेका छन्। 

नेकपाका स्थायी कमिटी सदस्य एवं सहयोद्धा घनश्याम भुसालले आफ्नो योग्यताले जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सुझाव दिएका छन्। ‘तपाईंले आजसम्म लिएका हरेक जिÞम्मेवारी जुन शानका साथ पूरा गर्नु भएको छ, यो जिÞम्मेवारी पनि त्यहीँ योग्यताका साथ सम्पन्न हुनेछ। हामी आफैंले बनाएका र कबुलेका मूल्यहरूले हामीलाई यहाँसम्म टिकाएका छन्। र, हामी जानुपर्ने टाढा छ’, 

यता नेकपाकी नेतृ रामकुमारी झाक्रीले भने सरकारको अलोप्रियताको भुंग्रोमा योगेश भट्टराई परेको भन्दै त्यो भुंग्रोबाट निस्किन शुभकामना दिएकी छिन्। ‘आफ्नै कारण अप्ठ्यारोमा परेकोले केही मुठ्ठी खुकुलो बनाउनु पर्यो। जसको कारण योगेश दाईलाई मन्त्री बनाइयो। सरकारको अलोकप्रियताको भुंग्रोमा छ। दाई त्यही भुंग्रोमा पर्नु भयो। मेरो आमा भन्नु हुन्थ्यो जुन भूंग्रोमा परे पनि निस्कनुपर्छ। हो भूंग्रोबाट निस्कनुपर्छ’, झाक्रीले शुभकामना दिँदै भनेकी छिन्। 

नेकपाका केन्द्रीय सदस्य एवं युवा नेता सूर्य थापाले आफ्नो विवेक र संस्थागत निर्णयका साथ कार्य गरेर अघि बढ्न योगेशलाई आग्रह गरेका छन्। त्यतिमात्रै होइन उनले योगेश आफ्नै कारण चार महिना ढिलोगरी मन्त्री भएको उल्लेख गरेका छन्। ‘यो जिम्मेवारी कम्तीमा ४ महिनाअघि नै आएको थाहा थियो। त्यतिबेला भएको भए नीति, कार्यक्रम र बजेट निर्माणमा भूमिका हुन्थ्यो र अहिले काम गर्न धेरै सहज हुन्थ्यो। आफ्नै कारणले मन्त्री बन्न ढिलो भयो’, उनले भनेका छन्। 

नेता थापाले पर्यटन मन्त्रालय सम्हालेर र सम्हालिएर अघि बढेका नेताहरुको राम्रैसँग उन्नति र प्रगति भएको दृष्टान्त प्रस्तुत गर्दै मन्त्री र सेलिब्रेटी दुबै एकसाथ हुन सम्भव नहुनेतर्फ सचेत गराएका छन्। ‘किनभने, अब वास्तविक परीक्षा शुरू भएको छ। योग्यता, क्षमता र कार्यसम्पादनको समस्या र कमी छैन र होइन। प्रतिकूलताको सामना गर्न आवश्यक आँटको कमी पनि छैन, तर परिणाम निकाल्ने सुझबुझ र सामर्थ्य चाहीँ व्यवहारमा नै देखिनु अपरिहार्य छ’, उनले सुझाव दिएका छन्। पर्यटन मन्त्रालयमा अनेकन् एम्बुसहरू थापिएको स्मरण गराउँदै थापाले माफिया र स्वार्थ समूहका घेराबन्दीलाई छिचोलेर उदाहरणीय काम गर्न शुभकामना समेत दिएका छन्। 

नेकपाकी युवा नेतृ एवं सांसद नवीना लामाले रवीन्द्र अधिकारीका अधुरा कामलाई पुरा गर्न योगेशलाई शुभकामना दिएकी छिन्। देश र जनता तथा युवा पुस्ताले थुप्रै आशा र भरोशा गरेको भन्दै उनले जनताको हितमा काम गर्न पनि आग्रह गरेकी छिन्। ‘कसरी जनताको हितमा राम्रो काम गÞर्ने विचार र योजना तपाईसंग छ। सफल र उत्कृष्ट कार्यकालको लागि हार्दिक शुभकामना दाई’, उनले भनेकी छिन्, ‘रवीन्द्र दाईको अधुरा कामलाई पनि पूर्णता पाउने संकल्प तपाईबाट हामीले आशा गरेका छौं।’ नेकपाका नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले पनि योगेशलाई कार्यकाल सफलताको शुभकामना दिएका छन्। 

बुधबार पदभार ग्रहण गरेका योगेशले सरकारले ल्याएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई पूरा गर्न लागिपर्ने र ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाएर नेपाललाई विश्वकै आकर्षक पर्यटक गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्। 

प्रकाशित: १६ श्रावण २०७६ १२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App