२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

गुठी पीडितको समस्या समाधानमा सधैँ सकारात्मक छौँ : महासचिव पोखरेल

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर पोखरेलले गुठी पीडित किसानहरूको समस्या समाधानका लागि आफू सधैँ सकारात्मक रहेको बताएका छन्।

दाङको घोराहीमा स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको आयोजनामा मंगलबार सम्पन्न ‘प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूसँग स्वर्गद्वारी गुठीको जमिनमा मोही अधिकारका लागि संवाद तथा प्रतिबद्धता लेखन’ कार्यक्रममा बोल्दै उनले गुठी समस्या समाधान आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारेका हुन्।

महासचिव पोखरेलले गुठी समस्या समाधानका लागि विधेयकसमेत तयार गरिएको जानकारी दिँदै सम्बन्धित मन्त्रालयको सक्रियता अभावका कारण समस्या समाधानमा ढिलाइ भएको बताए। उनले भने, 'प्रधानन्यायाधीशको फैसलालाई कार्यान्वयन गर्न नसक्दा काम अघि बढ्न सकेन।'

उनले नेकपा एमाले गुठी पीडित किसानको पक्षमा स्पष्ट रूपमा उभिएको दाबी गर्दै राज्यस्तरबाट समाधान खोज्नुपर्ने विषय भएकाले यसलाई राजनीतिक इच्छाशक्तिसँग जोडेर हेर्नुपर्ने बताए। कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा सरकार प्रभावकारी ढंगले अघि बढ्न नसकेको उल्लेख गर्दै आगामी निर्वाचनमा एमालेका पक्षमा मतदान गर्न आग्रह गरे।

'गुठीको समस्या राज्यको समस्या हो। सही प्रतिनिधि चयन भयो भने काम गर्न सकिन्छ,' उनले भने, 'समस्या बुझेको प्रतिनिधि जिम्मेवार स्थानमा पुग्यो भने समाधान सम्भव छ।'

कार्यक्रममा बोल्दै उनले आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा थारु समुदायको सबैभन्दा ठूलो पर्व माघीलाई विशेष महत्व दिएको स्मरण गरे। प्रदेश सरकारले माघी पर्वमा सार्वजनिक बिदा दिने कार्यको सुरुवात आफ्नै पहलमा भएको उनको भनाइ थियो।

पोखरेलले गुठी पीडित किसानको हक अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको दोहोर्याउँदै व्यfवहारिक समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: १२ फाल्गुन २०८२ १६:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App