राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापामाथि कटाक्ष गरेका छन्।
मंगलबार इटहरीमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै लामिछानेले थापाको विकासमा कानुन बाधक भन्ने हालैको अभिव्यक्तिको प्रतिवाद गरेका हुन्।
सभापति लामिछानेले लामो समय सत्ता र शक्तिमा रहेका नेताहरूले अहिले आएर कानुनको दोष देखाउनु हास्यास्पद रहेको टिप्पणी गरे।
उनले भने, ‘२० वर्ष सांसद र मन्त्री भइसकेपछि बल्ल १२/१५ वटा कानुन फेर्नुपर्ने देख्नुभयो ? त्यो ज्ञान अब तपाईं आफैँसँग राख्नुस्।’
केही दिनअघि रास्वपाका वरिष्ठ नेता बालेन शाहले काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने (रुखमा झुन्ड्याउने आशयको) अभिव्यक्ति दिएपछि कांग्रेस सभापति थापाले त्यसको आलोचना गरेका थिए।
थापाले सर्लाहीको कार्यक्रममा बोल्दै चाबुकले वा झुन्ड्याएर विकास हुँदैन, ४१ वटा कानुन बाधक छन् भन्ने तर्क गरेका थिए।
सोही प्रसंगलाई लिएर लामिछानेले इटहरीबाट जवाफ फर्काएका हुन्। उनले रास्वपाले मान्छेलाई भौतिक रूपमा डोरीले नभई कानुनले बाँध्ने स्पष्ट पारे।
‘हामीले मान्छेलाई डोरीले बाँध्ने भनेका होइनौं, कानुनले बाँध्ने भनेका हौं,’ लामिछानेले भने, ‘तर निर्माण व्यवसायी साथीहरूले अब विज्ञप्ति निकालेर होइन, रातदिन काम गरेर देखाउनुपर्छ। देश निर्माण गर्ने बेला आएको छ।’
यसअघि शनिबार सर्लाहीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले रास्वपा नेता बालेन शाहको अभिव्यक्तिप्रति लक्षित गर्दै थापाले भनेका थिए, ‘अहिले बजारमा सबैलाई फटाहा भन्ने र आफ्नो हातमा मात्रै चाबुक छ भन्दै तर्साउने भाषा सुनिन्छ। तर, जबसम्म विकास रोक्ने ४१ वटा कानुन बदलिँदैनन्, तबसम्म कसैलाई रुखमा झुन्ड्याएर मात्रै काम समयमा सकिँदैन।’
थापाले ठेकेदार, वकिल, न्यायाधीश र सांसद सबैलाई फटाहा देख्ने चिन्तनले सुधार नभई दुर्घटना निम्त्याउने चेतावनी दिएका थिए। उनले विधिको शासन बिनाको सुधार दीर्घकालीन नहुने जिकिर गरेका थिए।
इटहरीको सभामा लामिछानेले २०४६ सालपछिका सबै भ्रष्टाचार काण्डको छानबिन गर्ने प्रतिबद्धतासमेत दोहोर्याए।
उनले पुराना दलहरूले एक-अर्कालाई जोगाएको आरोप लगाउँदै रास्वपाको सरकार आएपछि कसैलाई पनि नछोडिने चेतावनी दिए।
‘प्रतिशोध साँध्न होइन, हिसाब माग्न आउँदैछौँ,’ लामिछानेले भने।
प्रकाशित: १२ फाल्गुन २०८२ १६:०२ मंगलबार





