राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछानेले शिक्षकहरूलाई राजनीतिक गतिविधिभन्दा शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुन आग्रह गरेका छन्।
मंगलबार इटहरीमा आयोजित चुनावी प्रचारसभालाई सम्बोधन गर्दै उनले शिक्षकहरूले स्मार्ट विद्यालय निर्माण र विद्यार्थीलाई अब्बल बनाउन ध्यान दिनुपर्ने बताएका हुन्। लामिछानेले शिक्षकहरूको पेशागत संगठन खारेज नहुने स्पष्ट पार्दै भने, ‘चिन्ता नगर्नुस्, पेशागत संगठन संकटमा पर्दैन। तर तपाईंहरू स्मार्ट कक्षाकोठा कसरी बनाउने भन्ने योजनामा लाग्नुस्। राजनीतिको ठेक्का हामीलाई दिनुस्, हामी गरौँला।’
उनले शिक्षा प्रणालीमार्फत विद्यार्थीको भविष्य निर्माण गर्नुपर्नेमा भन्दै दलगत राजनीतिभन्दा नीतिगत सुधार महत्त्वपूर्ण हुने बताए। ‘तपाईंको सुरक्षा कुनै नेताले होइन, नीतिले गर्छ। विद्यार्थीको भविष्य तपाईंहरूले बनाउनुहोस्,’ उनले भने।
रास्वपाले आफ्नो घोषणापत्रमा शिक्षक तथा प्राध्यापकहरूको राजनीतिक आबद्धतालाई पूर्ण रूपमा निषेध गर्ने उल्लेख गरेको छ। विद्यालय तथा विश्वविद्यालयलाई दलीय राजनीतिक गतिविधिको अखडा हुनबाट मुक्त गरिने प्रतिबद्धता पनि पार्टीले जनाएको छ।
घोषणापत्रमा विद्यार्थी संगठनमार्फत हुने अराजक गतिविधि, तोडफोड, जबर्जस्ती बन्दजस्ता क्रियाकलाप नियन्त्रण गर्न शैक्षिक संस्थाभित्र दलगत कार्यक्रम पूर्ण रूपमा निषेध गरिने उल्लेख छ। साथै विद्यार्थीको विचार अभिव्यक्ति र नेतृत्व विकासलाई प्रोत्साहन गर्न गैर–दलीय, प्राज्ञिक विद्यार्थी प्रतिनिधित्व प्रणाली विकास गरिने उल्लेख गरेको छ।
सार्वजनिक शिक्षाको गुणस्तर, पहुँच र प्रतिस्पर्धात्मक क्षमतामा आमूल सुधार ल्याउन आगामी दुई दशकसम्म उल्लेख्य लगानी वृद्धि गर्ने लक्ष्यसहित निजी क्षेत्रद्वारा प्रदान गरिँदै आएको शिक्षालाई सार्वजनिक शिक्षाको परिपूरकका रूपमा स्वीकार गर्दै शुल्क संरचना, सेवा मापदण्ड, शिक्षक योग्यता, पूर्वाधार र शैक्षिक नतिजाका आधारमा कडाइका साथ नियमन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
प्रकाशित: १२ फाल्गुन २०८२ १६:१६ मंगलबार





