६ वैशाख २०८१ बिहीबार
राजनीति

कृषि सामग्रीमा विषादीको मात्रा घटेको सरकारी दाबी

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ।

काठमाडौं – सरकारले नेपाली किसानबाट उत्पादित तथा विदेशबाट आयात गरिएको फलफूल तथा कृषिजन्य सामग्रीमा विषादीको मात्रा निकै कम हुँदै गएको र खानयोग्य रहेको जनाएको छ। प्रतिनिधिसभा बैठकमा बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले अघिल्ला वर्षका तुलनामा यस वर्ष धेरैजसो फलफूल तथा तरकारी खान योग्य रहेको तथ्यांक पेस गरे।

सांसद रामबहादुर बिष्टले सोधेको प्रश्नको जबाफ दिँदै मन्त्री खनालले भने, ‘२०७१ सालसम्म झन्डै ८०–८२ प्रतिशत फलफूल तथा तरकारीमा अत्यधिक विषादी पाइएको देखिन्छ तर यस वर्ष हामीले झन्डै ७ सय नमुना परीक्षण गर्दा दुइटा वस्तुमा मात्रै विषादीको मात्रा बढी रहेको देखिएको छ।’ भारतको सीमामा रहेका १५ वटा क्वारेन्टाइनसहित देशभर सो परीक्षण गरिएको मन्त्री खनालको भनाइ छ।

तरकारी, फलफूल तथा कृषिजन्य खाद्यान्नलाई विषादीरहित बनाउने अभियान सुरु गरेको मात्रै नभई विभागीय मन्त्रीको नेतृत्वमा केन्द्रीय स्तरमा प्रांगारिक समिति गठन गरी मुलुकलाई विषादीरहित उत्पादनतर्फ लैजान खोजिएको जानकारी मन्त्री खनालले दिए। ‘रातो र पहेंलो स्टिकर भएका विषादीलाई पूर्णतया प्रतिबन्ध लगाउने काम गरिएको छ भने निलो र हरियो स्टिकर भएका विषादी मानव स्वास्थ्यका लागि कम हानिकारक भएकाले आयात र उत्पादनमा बन्देज लगाइहालिएको छैन्,’ मन्त्री खनालले भने, ‘तर त्यसलाई पनि न्यूनीकरण गर्ने दिशामा सरकार लागिरहेको छ, त्यसका लागि जैविक मल उत्पादन कसरी र कति मात्रामा गर्ने भन्नेबारेमा मन्त्रालयले नीति निर्माण गरिरहेको छ।’ विषादीरहित उत्पादनका बारेमा जनचेतना बढाउन तथा अनुगमन गर्न प्राविधिक जनशक्ति बढाउने काम गरिएको मन्त्री खनालले बताए।

दक्षिणतर्फको खुला सिमानाका कारण हानिकारक विषादी आयातमा पूर्ण रोक लगाउन नसकिए पनि भारततर्फ क्वारेन्टाइन बढाएर नियन्त्रण गरिदिन नेपालले अनुरोध गरिसकेको छ। ‘तथ्यांकले पनि जापान, कोरियालगायतका विकसित देशमा भन्दा नेपाल कम विषादी प्रयोग गर्ने मुलुकमा परेको छ। नेपालमा एक हेक्टर जमिनमा ३.९६ केजी विषादी प्रयोग गरिएको छ भने जापानमा प्रतिहेक्टर १६.१ केजी प्रयोग गरिन्छ।’ उनका अनुसार नेपालको प्रांगारिक खेती र अर्गानिक उत्पादन बढाउन कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने उद्देश्यस्वरुप सो प्रदेशका केही नगरपालिका र गाउँपालिकामा नमुनाका रुपमा उत्पादन सुरु गरिसकिएको छ।

‘कर्णालीमा उत्पादन हुने अर्गानिक उत्पादन निर्यात गर्ने लक्ष्य राखेका छौं, त्यही अनुसार सो स्थानमा जनचेतना बढाउने काम पनि सँगसँगै भइरहेको छ,’ मन्त्री खनालले भने। जैविक र प्रांगारिक मल प्रयोग गरी उत्पादन गरिएकाले नेपालको कफी विश्वमा उत्कृष्ट अंक ल्याउन सफल भएको छ। ‘विश्वबाट ८ सय मेट्रिक टन कफी माग भइरहेको छ तर हाम्रो उत्पादन पाँच सय मेट्रिक टनमात्रै छ। यसलाई बढाउन कफी जोन पहिचान गर्न सुरु गरेका छौं,’ मन्त्री खनालले भने।

विषादी नियन्त्रणका लागि २०४८ सालमा संसद्ले बनाएको कानुन व्यावहारिक र समयसापेक्ष नभएकाले संशोधनका लागि संसद्मा विधेयक दर्ता गरिएको उनको भनाइ छ। उक्त विधेयक संसद्ले पारित गरेपछि विषादी नियन्त्रण र अर्गानिक उत्पादनका लागि कानुनी बाटो खुल्ने मन्त्री खनालले जानकारी दिए। प्रतिनिधिसभा बैठकमा विषादीको अवस्था र प्रयोगबारे मन्त्री खनालसँग सांसद बिष्टसहित राजन केसी, पदम गिरीलगायतले पनि जानकारी मागेका थिए।

रिजालले कुरा नबुझ्दा...

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले विषादीका स्टिकरबारेमा दिएको जानकारी कांग्रेस सांसद मीनेन्द्र रिजालले नबुझदा बैठकमा एकैछिन हाँसो गुन्जिएको थियो।

मन्त्री खनालले विषादीजन्य सामग्रीमा राखिने स्टिकरका रङहरुबारेमा जानकारी दिएका थिए। उनका अनुसार रातो र पहेंलो स्टिकर भएका विषादी मानवस्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको तर निलो र हरियो स्टिकरवाला विषादी भने कम हानिकारक हुने भन्ने जानकारी दिएका थिए। रिजालले भने रातो र पहेंलो फलफूल तथा खाद्यान्न भन्ने बुझेछन्। ‘अब त मन्त्रीज्यूले भनेपछि पहेंलो देखिने जेरी पनि खान नहुने भयो, हैन त ?’ कुरा नबुझी रिजालले प्रश्न सोधेपछि बैठक हल एकछिन हाँसोले गुन्जियो।

प्रकाशित: २४ माघ २०७५ ०१:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App