१९ कार्तिक २०८१ सोमबार
image/svg+xml
राजनीति

बालुवाटार आउनु अघि गिरिजा बाबुलाई पोखरामै भेट्न चाहन्थे दाहाल र भट्टराई

जनआन्दोलन ०६२/०६३ ले सफलता पाएपछि नेकपा माओवादीका नेताहरु गिरिजाप्रसाद कोइरालालाई भेट्न चाहन्थे भने कोइराला तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई। दुवै तर्फबाट यसको चाँजो मिलाइदै थियो। आन्दोलनको सफलतापछि अवको बाटो के भनेर सल्लाह गर्दै अघि बढ्न चाहन्थे सात दल र विद्रोही माओवादी। तर माओवादी नेताहरु सिधै काठमाडौं आउन विश्वस्त भइसकेका थिएनन्। यसैले चितवनमा केही दिन बसेर उनीहरु कास्की पुगे। त्यो बेला चितवनबाट आउँदै गरेका दाहालले पोखराको एक कार्यक्रममा भनेका थिए, 'हामीलाई बाटोमा अवरोध गर्ने काम समेत भयो। बाटो बदलेर हिंड्नु पर्यो।' माओवादी नेताहरुले सुरक्षा खतरा महसुस गरेको उनको यो भनाईले पनि जनाउँथ्यो। यो आज भन्दा १२ वर्ष अघिको कुरा थियो।

कास्कीको सिक्लेसमा माओवादीको ठूलो केन्द्रीकरण भइरहेको थियो। सोही कार्यक्रममा  दाहाल र भट्टराई  प्रकट भएका थिए। असारको एक मध्यान्ह। सिक्लेसमै तत्कालिन गृहमन्त्री कृष्ण सिटौला र कांग्रेस नेता शेखर कोइराला हेलिकप्टर लिएर विद्रोही नेताहरुलाई भेट्न आएका थिए। दाहाल र भट्टराई पनि भूमिगत शैलीमा हेलिकप्टरमै त्यहाँ पुगेका थिए।

माओवादी अध्यक्ष दाहाल २५ वर्षदेखि भूमिगत थिए। उनी कस्ता होलान् भन्ने सबैमा कौतुहलता थियो। आम मानिसमा मात्र होइन पार्टीका कार्यकर्ताहरुमा पनि। सिक्लेसमा माओवादीको ठूलो केन्द्रीकरण भइरहेको थियो। सोही कार्यक्रममा दाहाल र भट्टराई प्रकट भएका थिए। असारको एक मध्यान्ह।

तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई भेट्न कास्कीको लामाचौरबाट उड्दै दाहाल र भट्टराई। तस्बिर सौजन्य : राम गुरुङ

सिक्लेसमै तत्कालिन गृहमन्त्री कृष्ण सिटौला र कांग्रेस नेता शेखर कोइराला हेलिकप्टर लिएर विद्रोही नेताहरुलाई भेट्न आएका थिए। दाहाल र भट्टराई पनि भूमिगत शैलीमा हेलिकप्टरमै त्यहाँ पुगेका थिए। सडक मार्गबाट आउने भनिए पनि बाटोमा धेरै चेकजाँच देखेपछि उनीहरुलाई लिन चितवन पुगेका माओवादीका तत्कालिन कास्की सेक्रेटरी राजकाजी गुरुङ र जनमुक्ति सेनाका विग्रेड कमाण्डर दिपक कोइरालाले हेलिकप्टरमा जान सुझाएका थिए। त्यही सल्लाह अनुसार जितबहादुर गुरुङ 'मामा' हेलिकप्टर लिएर भूमिगत नेतालाई लिन चितवन पुगेको सम्झन्छन्। एयर डाइनोस्टिको हेलिकोप्टरमा दाहाल र भट्टराई सिक्लेसमा ओर्लिएका थिए।

२०६२ मंसिर ७ गते सात दल र विद्रोही माओवादीबीच भएको १२ बुँदे सम्झौता सार्वजनिक भएको थियो। त्यो सम्झौताको जगमा भएको जनआन्दोलनले नेपाली राजनीतिलाई नयाँ कोर्षमा लगेको थियो। राजनीतिको नयाँ कोर्ष संसदवादी दलहरुले मात्र सुरु गर्न सक्ने अवस्था थिएन। त्यसको लागि विद्रोही माओवादी पनि आवश्यक थियो। यसको लागि गिरिजाप्रसाद कोइराला छिटोभन्दा छिटो शान्ति प्रक्रिया सुरु गर्न चाहन्थे। यसको लागि उनले आफ्ना निकट कृष्ण सिटौला, शेखर कोइराला लगायतलाई परिचालन गरिरहेका थिए।  

जनआन्दोलनको सफलतापछि अहिलेका सभामुख कृष्णबहादुर महरा, देव गुरुङ, दिनानाथ शर्मा लगायतका नेताहरु सार्वजनिक भए पनि अन्य नेताहरु भूमिगत नै थिए। सिधै दाहाल र भट्टराईसँग सम्पर्क गर्न कठिन थियो। नेपालमा शान्ति प्रक्रिया सुरु हुँदा मोहन वैद्य भारतको जेलमा थिए। पछि उनले यसमा केही असन्तुष्टि समेत जनाए। महरा र गुरुङ मार्फत नै दाहाल र भट्टराईको सम्पर्कमा पुग्नु पर्ने थियो सिटौलालाई।

सिक्लेसमा जनमुक्ति सेनाको सुरक्षामा बसेका दाहाल र भट्टराईले गिरिजाप्रसाद कोइरालालाई कास्कीतिरै भेट्ने सोच बनाएका थिए। काठमाडौं जाँदा सुरक्षा खतरा हुनसक्छ की भन्नेबारे माओवादी नेताहरुले छलफल समेत गरेर पोखरामा भेट्ने सोच बनाएका थिए। एक अन्तर्वार्तामा डा. भट्टराईले म सँग भनेका थिए, ‘काठमाडौं जाँदा सुरक्षा खतरा हुनसक्छ भन्दै हामीले पोखरा आसपास भेट्ने प्रस्ताव गरेका थियौं’, डा. भट्टराई सम्झन्छन् ‘तर पछि सल्लाह गरेर काठमाडौं जाने निर्णय गर्‍यौं।' उनीहरुलाई काठमाडौंमा पूर्ण सुरक्षा हुनेमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विश्वस्त गराएका थिए। त्यसैको लागि गृहमन्त्री सिटौला सिक्लेससम्म पुगे।

त्यतिबेला जनमुक्ति सेनाको चौथो डिभिजनको केन्द्रीकरण सिक्लेसमा भइरहेको थियो। पार्टीका क्षेत्रिय सदस्य तथा जनमुक्ति सेनाका कम्पनी सहायक कमाण्डदेखि माथिका कार्यकर्तालाई दाहाल र भट्टराईले प्रशिक्षण समेत दिएका थिए सिक्लेसमा। जनमुक्ति सेनाका तत्कालिन बटालियन कमाण्डर सुमन देवकोटा नेतृत्वको सुरक्षा र स्कर्टमा काम गरेको सम्झिन्छन्।

गिरिजाबाबुलाई भेट्न यसरी उनीहरु असार २ गते साँझ खैरो रङको सर्ट पाइन्टमा बालुवाटार प्रवेश गरेका थिए। २०६२ मंसिरमा १२ बुँदेबाट सुरु भएको शान्ति प्रक्रियाको जग जनआन्दोलन हुँदै २०६३ मंसिर ५ गते बृहत शान्ति सम्झौताको रुपमा औपचारिकता पाएको थियो। सिक्लेसबाट भनिदै आए पनि दाहाल र भट्टराई चढेको हेलिकप्टर पोखराको लामाचौरबाट काठमाडौंको लागि उडेको थियो।

त्यो खैरो सर्ट पाइन्ट

प्रधानमन्त्री निवास बालुवाटर प्रवेश गर्दा असार २ गते साँझ दाहाल र भट्टराई दुवै जना एउटै ड्रेसमा देखिए। दुवै जना खैरो सर्ट पाइन्टमा राजधानी उत्रिएका थिए। सामूहिकताको भावना देखाउन समान रङका कपडा लगाएको माओवादी नेताहरुले बताउने गर्थे। सिक्लेसबाट उनीहरु पोखरा झरेपछि त्यो लुगा सिलाइएको माओवादीका तत्कालिन कास्की सेक्रेटरी राजकाजी गुरुङ बताउँछन्। पोखराको न्यूरोडमा रहेको रत्न इम्पोरियममा कपडा किनेर रातारात बालुवाटार जाँदा लगाउने पोसाक तयार पारिएको थियो। विद्रोही नेताहरुको नाप पार्टी निकटकै एक टेलरले लिएका थिए। नेता द्वयले लगाएको त्यो खैरो पोसाक माओवादी वृत्तमा किनै प्रिय बन्यो। गाउँ गाउँमा समेत खैरो लुगा लगाएर माओवादी कार्यकर्ताहरु हिँड्न थालेका थिए।

खैरो पोशाकमा त्रिभुवन विमानस्थलबाट गृहमन्त्री सिटौलाको गाडी चढेर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेट्न बालुवाटार प्रवेश गरेका दाहाल र भट्टराईले ८ बुँदे सहमति गरे । त्यही सहमतिको स्प्रीटमा लामो छलफल पछि २०६३ मंसिर ५ गते प्रधानमन्त्री कोइराला र अध्यक्ष दाहालले बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरे।

प्रकाशित: ५ मंसिर २०७५ ०९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App