अनन्तः कुलमान घिसिङको अगुवाइमा नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। गत साउन २७ मा ज्ञानेन्द्र तामाङले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको उज्यालो नेपाल पार्टीलाई अद्यावधिक गरी कुलमानले नयाँ पार्टी घोषणा गरेका हुन्। उक्त पार्टीको अध्यक्षमा पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्यायलाई राखिएको छ।
स्रोतका अनुसार पूर्वसचिवलाई पार्टी अध्यक्ष बनाएपछि अनुपको नेतृत्वमा सुमना जान तयार भइनन्। स्रोत भन्छ, सुमनाले सुरुदेखि कुलमानलाई तपाईं नै पार्टी अध्यक्ष हुनुहोस्। म बस्न तयार छु। सरकारबाट राजीनामा गर्नुहोस् र संगठन विस्तारतिर लाग्नुहोस् भनेकी थिइन्। आइतबार बिहानसम्म कुलमानको अगुवाइमा खुल्ने पार्टीमा हामी नेपालका अध्यक्ष सुधन गुरुङ पनि सहभागी हुने चर्चा थियो। यसका लागि विभिन्न चरणमा छलफल पनि भएको थियो।
स्रोतका अनुसार कुलमानलाई पार्टी अध्यक्ष राख्न सुमनाले जोडबल गरिरहेकी थिइन्। कुलमान अध्यक्ष भए तत्काल उनले सरकारबाट राजीनामा गर्नुपर्ने भनिएको थियो। कुलमानले राजीनामा दिने चर्चा पनि भएको हो, तर तत्काल सरकारबाट हट्न उनी तयार भएनन् । त्यसपछि सुमना उज्यालो नेपाल पार्टीबाट अलग्गिइन्। गुरुङ पनि अलग्गिए।
पार्टीका केन्द्रीय सदस्यसमेत रहेका जितराम लामाका अनुसार कुलमानले सरकारबाट राजीनामा गरेपछि संसदीय निर्वाचनमा उम्मेदवारी दिने सहमति भएको छ। ‘सरकारबाट राजीनामा दिएलगत्तै उहाँ (कुलमान) पार्टी अध्यक्ष हुनुहुनेछ, यसमा सहमति भइसकेको छ। अनुप उपाध्याय तत्कालका लागि मात्र अध्यक्ष हो। पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार पनि उहाँ (कुलमान) नै हो।’
कुलमानको अगुवाइमा खुल्ने पार्टीको नाम उज्यालो नेपाल नराखी अन्य नाम राख्न सुमनाले सुरुदेखि लबिङ गरिरहिन्। उज्यालो नेपालले व्यक्तिविशेषलाई अंकित गर्ने भएकाले सबै अट्ने गरी नयाँ नाम राख्न उनले माग गरेकी थिइन्। त्यसैअनुसार पार्टीको नाम जनसेवा पार्टी राख्ने विषयमा करिब–करिब सहमति भएको थियो तर अन्तिम समयमा कुलमान तयार भएनन्। यसले पनि सुमना पछि हट्न पुगिन्।
आइतबार काठमाडौंको बौद्धमा भएको छलफलमा पार्टीको नाम उज्यालो नेपाल राख्ने टुंगो लागेको हो। स्रोतका अनुसार पार्टीको नाम उज्यालो नेपाल राख्ने कुलमानको चाहना हो। यसअघि कुलमानले आफूनिकट ज्ञानेन्द्र तामाङलाई उज्यालो नेपाल पार्टी दर्ता गर्न अह्राएका थिए। तामाङले गत साउन २७ मा निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएका थिए, तर सबै कागजात दिएका थिएनन्। उनले सोमबार पार्टी दर्ताका लागि थप कागजात पनि उपलब्ध गराए। कुलमान र सुमना एउटै पार्टीमा नआएको विषयमा केन्द्रीय सदस्य लामा भन्छन्, ‘उहाँहरूबिच त्यति धेरै समस्या छैन। पछि सँगसँगै आउने सम्भावना धेरै छ।’
कोको छन् कुलमानको पार्टीमा?
उज्यालो नेपालको अध्यक्षमा उपाध्याय छन् भने सदस्यहरूमा डा. ताराप्रसाद जोशी, प्रा.डा. महेन्द्र सुन्दर लावती, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, डा. अभिषेकराज सिंह, डा. शंकर ढकाल, तेजनारायण यादव, रिमा विश्वकर्मा, टासी ल्हान्जोम, डा. राजु थापा, डा. विशाल भण्डारी, श्री गुरुङ, निलिमा बस्नेत, दीपेन्द्र जमरकट्टेल, सीतादेवी पाण्डेयलगायत ५१ जना केन्द्रीय सदस्य छन्।
प्रकाशित: २६ कार्तिक २०८२ ०९:१५ बुधबार




-600x400.jpg)
