नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई आगामी महाधिवेशनबाट फेरि पार्टी सभापति बन्नु पर्ने भएकाले जनताको काम गरेर देखाउने चुनौती रहेको बताएका छन्।
बिहीबार सर्लाहीको निर्वाचन क्षेत्र नम्बर-४ मा मतदातालाई सम्बोधन गर्दै थापाले आफ्नो राजनीतिक परीक्षा र कामको सुरुवात भर्खरै भएको बताएका हुन्।
‘मेरो त भर्खर सुरु हुँदै छ। अब कांग्रेसको अधिवेशन गर्नु छ, त्यहाँबाट फेरि मलाई सभापति बन्नु छ,’ थापाले भने, ‘त्यसैले यहाँका मतदाताले जिताएर पठाएपछि हामीले गलत मान्छे छान्यौँ भन्ने अवस्था म आउन दिन्नँ।’
थापाले सर्लाहीका मतदाताको मन जित्न नसके वा एक जनाले मात्र गुनासो गर्ने अवस्था आए पनि त्यसले आफ्नो राष्ट्रिय राजनीति र आगामी सभापति बन्ने लक्ष्यमा ठूलो क्षति पुग्ने आफूले बुझेको बताए।
उनले भने, ‘एक जनाले मात्रै पनि गुनासो गरे भने त्यसले मलाई ठुलो क्षति हुन्छ। त्यसैले एक जनालाई पनि गुनासो गर्ने मौका नआउने गरी मैले काम गर्नुपर्ने छ।’
आफू काम गर्नका लागि नै काठमाडौंको सुरक्षित क्षेत्र छोडेर सर्लाही आएको प्रस्ट पार्दै उनले आगामी ५ वर्ष काम गरेर अर्को चुनावमा मतदाताले नै यो क्षेत्र छोड्न पाउँदैनौँ भन्ने अवस्था सिर्जना गर्ने दाबी गरे।
‘अहिले मत माग्न म तपाईंहरूको घरदैलोमा आएको छु, काम गरेर यस्तो वातावरण बनाउँछु कि अर्को पटक तपाईंहरू मेरो घरदैलोमा आएर यहाँबाटै उठ्नुपर्छ भन्नुहुनेछ,’ उनले थपे ।
प्रकाशित: १५ माघ २०८२ १८:१९ बिहीबार





