२ मंसिर २०८३ बुधबार
image/svg+xml
समाज

फुकोट कर्णाली आयोजना अघि बढाउन ऊर्जामन्त्रीलाई ज्ञापनपत्र

कालीकोटमा उत्पादन हुने फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माण कार्य शीघ्र अघि बढाउन माग गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कर्णाली प्रदेश उपसभापति तुलराज शाहीसहितको टोलीले आज मन्त्रालयमा मन्त्री श्रेष्ठलाई भेट गरी आयोजनामा देखिएका समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो।

ज्ञापन पत्रमार्फत कर्णाली प्रदेशसँगै समग्र देशको आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण मानिएको फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया तीव्र बनाउन आग्रह गरिएको हो।

त्यसैगरी, सम्माननीय प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा उक्त आयोजनालाई उच्चस्तरीय भेटघाट तथा छलफलको एजेन्डामा समावेश गरी आवश्यक कूटनीतिक पहल गर्नसमेत अनुरोध गरिएको शाहीले जानकारी दिए।

भेटका क्रममा मन्त्री श्रेष्ठले आफू पनि फुकोट कर्णाली आयोजनाको विषयमा लागिरहेको उल्लेख गर्दै यसको कार्यान्वयनका लागि थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्रीसँगको भेटमा फुकोट कर्णाली आयोजनाका अतिरिक्त कर्णाली प्रदेशका समसामयिक विषय तथा विभिन्न विकास निर्माणका समस्याबारे समेत छलफल गरिएको थियो।

प्रकाशित: २ मंसिर २०८३ १८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App