सरकारले आगामी डेढ वर्षभित्र देशभर नेपाल टेलिकमका थप १ हजार ६०० टेलिफोन टावर निर्माण गर्ने भएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मंसिर २ गते करिब १२ अर्ब रुपैयाँ बराबरको ठेक्का प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै निर्धारित समयमै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताए।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका, जुगल हिमाल र आधार शिविर क्षेत्रमा सञ्चार सेवा विस्तारको माग गर्दै मन्त्रालय पुगेका जनप्रतिनिधि तथा स्थानीयसँगको छलफलमा मन्त्री तिमिल्सिनाले मानव बस्ती भएका सबै स्थानमा टेलिफोन र इन्टरनेट पुर्याउन सरकार प्रतिबद्ध रहेको बताए।
उनले ग्रामीण दूरसञ्चार विकास कोषको रकमसमेत परिचालन गरी देशभर सेवा विस्तार भइरहेको उल्लेख गरे।
टावर निर्माणमा बजेट अभावभन्दा पनि प्रक्रियागत जटिलता र निर्धारित समयमा काम नसकिने समस्या मुख्य चुनौती रहेको मन्त्री तिमिल्सिनाले औंल्याए।
उनले नागरिकका गुनासो सम्बोधनलाई प्राथमिकतामा राख्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिए। ‘जहाँबाट गुनासो आएको छ, त्यहाँ तत्काल समस्या समाधान हुनुपर्यो। टावर थप्ने, क्षमता बढाउनेलगायत जे काम गरेर समस्या समाधान हुन्छ, तत्काल गर्नुहोला,’ उनले नेपाल टेलिकमलाई निर्देशन दिँदै भने।
विद्युत् सुविधा नपुगेका स्थानमा उच्च क्षमताका सौर्य ऊर्जा प्रणाली र ब्याट्रीको व्यवस्था गरी टावर सञ्चालन गर्न पनि उनले निर्देशन दिए। साथै, सञ्चालनमा रहेका टावरले पूर्ण क्षमतामा सेवा दिए-नदिएको नियमित निरीक्षण गरी समस्या देखिएका स्थानमा तत्काल क्षमता वृद्धि गर्नुपर्ने उनको भनाइ थियो।
छलफलमा काठमाडौं क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्य प्रदीप विष्ट, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा जुगलका स्थानीय युवाको सहभागिता थियो। सांसद विष्टले काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा टेलिफोन र इन्टरनेटको गुणस्तर प्रभावकारी नभएको गुनासो आइरहेको उल्लेख गर्दै दुर्गम तथा हिमाली क्षेत्रमा सेवाको पहुँच र गुणस्तर सुधार्न आग्रह गरे।
जवाफमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक पहाडीले जुगल गाउँपालिकामा तत्काल प्राविधिक टोली पठाएर सञ्चार सेवाको अवस्थाबारे स्थलगत अध्ययन गरिने बताइन्।
प्राविधिक समस्या पहिचान गरी आवश्यक सुधार अघि बढाइने उल्लेख गर्दै उनले टावर निर्माण र सेवा विस्तारमा स्थानीय तहबाट समेत सहयोगको अपेक्षा गरिएको बताइन्।
स्थानीय युवाहरूले गाउँपालिकाले ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहँदा आन्तरिक तथा बाह्य पर्यटक बढे पनि सञ्चार सुविधाको अभाव चुनौती बनेको बताए।
उनीहरूले जुगल हिमाल, जुगल भ्यु पोइन्ट तथा आधार शिविर क्षेत्रमा मोबाइल नेटवर्क र इन्टरनेट विस्तारका साथै विभिन्न बस्तीमा गुणस्तरीय फोरजी सेवा सुनिश्चित गर्न माग गरे।
युवाहरूले समुद्री सतहदेखि करिब ४ हजार ५०० मिटर उचाइमा रहेको जुगल भ्यु पोइन्ट र आधार शिविरसम्म सेवा विस्तार गर्न उपयुक्त स्थानमा नयाँ टावर स्थापना गर्न आग्रह गरे। त्यस्तै, मेलम्ची डाँडाको टावर मर्मत तथा क्षमता वृद्धि गरी गुणस्तरीय फोरजी चलाउन, पाङ्ग्रेप डाँडाको टावर मर्मत गरी पुनः सञ्चालनमा ल्याउन तथा बोल्दे, गुम्बा, क्याङसिङ, अम्बाखर्क, तेम्बाथान र दिप्पुङलगायत बस्तीमा भरपर्दो सेवा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए।
प्रकाशित: २ मंसिर २०८३ १७:५९ बुधबार





