१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री विवाद: बाहिर नाराबाजी, भित्र पदभार ग्रहण

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विरोधका बाबजुद पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुखबाट सोमबार कटेजमा मुख्यमन्त्रीमा नियुक्त यादवले मंगलबार सुरक्षा घेराबिच मधेस भवनस्थित आफ्नो कार्यकक्षमा पदभार ग्रहण गरेका छन्। त्यसक्रममा उनले मधेस आन्दोलनका सहिदहरूलाई ‘मधेस रत्न’ले सम्मानित गर्ने पहिलो निर्णयसमेत गरेका छन्। सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश जारी गर्दै काममा रोक लगाए पनि उनले पदभार ग्रहणसँगै त्यस्तो महत्त्वपूर्ण निर्णय गरेका हुन्। सहिदका परिवारलाई आर्थिक सहयोग दिइँदै आए भए पनि सम्मान भने नभएको मुख्यमन्त्री यादवको भनाइ थियो। संघीयताविरोधीको आरोप खेपिरहेका उनले सहिदलाई सम्मान गर्ने निर्णय गरेर मधेसविरोधीका आरोपलाई मत्थर पार्ने प्रयास गरेको बताइएको छ।

सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले मंगलबार यादवलाई मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न आदेश जारी गरेको छ। रकीप्रसाद साहसमेतले सोमबार दायर गरेको रिटको पहिलो सुनुवाइमै उक्त आदेश जारी गर्दै सर्वोच्चले मंसिर ११ गते अन्तिम सुनुवाइ गर्ने भएको छ।

आदेशमा भनिएको छ, ‘रिट निवेदनको विषयवस्तु संवेदनशील, सार्वजनिक महत्त्वको संवैधानिक पत्र र छिटोछरितो ढुंगो लगाउनुपर्ने प्रकृतिको देखिँदा कुनै पनि पक्षले पेसी स्थगित गर्न नपाउने गरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम अग्राधिकार दिई अन्तिम सुनुवाइका लागि मंसिर ११ गते बोलाइएको छ।’

बिरामी भएको बहानामा काठमाडौं हिँडेकी तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान महोत्तरीको बर्दिबासस्थित पानस कटेजमा नवनियुक्त मुख्यमन्त्रीलाई शपथ ग्रहण गराएकी थिइन्। होटलमा मुख्यमन्त्रीलाई शपथ खुवाउने भण्डारी पदमुक्त भइसकेकी छन् भने नयाँ प्रदेश प्रमुखमा सुरेन्द्रलाभ कर्णले शपथ लिइसकेका छन्। यता मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक भएको भन्दै एमालेबाहेक सात दलका ७४ सांसदले मंगलबार नै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका छन्। उक्त रिटमा बुधबार पेसी तोकिएको छ।

तनाव कायमै

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव कार्यभार सम्हाल्न मधेस भवनभित्र प्रवेश गर्ने क्रममा भएको झडपमा प्रहरीले बल प्रयोग गर्दा रिपोर्टिङमा खटिएका पत्रकारसहित एक दर्जन घाइते भएका छन्। प्रहरीको लाठी प्रहारबाट नागरिककर्मी सुरेन्द्र यादवको टाउको फुटेको छ। उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ। मधेस भवनभित्र मुख्यमन्त्री यादव कार्यभार सम्हाल्दै गर्दा बाहिर नेकपा एमालेबाहेक सात दलका नेताकार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका थिए। यो प्रदर्शन र मधेस भवन घेराउ सोमबार बिहानबाट जारी छ।

प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि मधेस भवन क्षेत्र थप तनावपूर्ण बन्यो। नाराबाजीसहितको प्रदर्शन तत्काल रोकिने देखिँदैन। सोमबार बिहान महोत्तरीको बर्दिबासस्थित पानस कटेजमा तत्कालीन प्रदेश प्रमुख भण्डारीले नवनियुक्त मुख्यमन्त्री यादवलाई शपथ ग्रहण गराएपछि मधेस प्रदेशको राजधानी जनकपुरधामको अवस्था तनावपूर्ण बनेको हो । नेकपा एमालेबाहेक सात दल सडक संघर्षमा छ। यता कटेजमा मुख्यमन्त्रीलाई शपथ खुवाउनले भण्डारी भने पदमुक्त भइसकेकी छन्। नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णले शपथ लिइसकेका छन्।

‘मैले नै शपथका लागि दबाब दिएको हुँ’

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवाद बढेपछि नवनियुक्त मुख्यमन्त्री यादवले शपथका लागि आफैंले दबाब दिएको खुलासा गरेका छन्। मंगलबार दिउँसो जनकपुरधामको सेभेन स्टार होटेलमा पत्रकारहरूसँग प्रस्टीकरण दिँदै उनले भने, ‘मैले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीज्यूलाई शपथ ग्रहरण गराउन अलिक दबाबपूर्वक नै भनेको थिएँ। मुख्यमन्त्रीमा नियुक्त भएपछि शपथ त गराउनुपर्‍यो नि, शपथ गराउनुस् अनि कहीँ जानुहोला भनेकै हुँ,’ उनले प्रस्ट पारे। उनले आफ्नो नियुक्ति संविधानअनुसार नै भएको दाबी गरे।

‘सुरुमा प्रदेश प्रमुखले मान्नुभएको थिएन । दलहरूको विरोध र घेराउ छ, यस्तोमा शपथ ग्रहण गराउँदा असहज परिस्थित निम्तिने प्रदेश प्रमुखको भनाइ थियो। तर आफूले अन्य दलले तपाईंलाई घेर्छ भने हामी पनि घेर्छौं भनेको हुँ,’ मुख्यमन्त्री यादवले भने, ‘तपाईंले नियुक्ति गरेर अन्योल सिर्जना गरेर जान पाउनु हुन्न। तपाईं जहाँ हुनुहुन्छ, मलाई त्यहीँ शपथ ग्रहण गराइदिनू भनेको हुँ।’

तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले प्रदेशसभाबाट विश्वासको मत पाउने सम्भावना फेल भएपछि राजीनामा दिएपछि आफ्नो नियुक्ति वैधानिक भएके यादवको दाबी छ।

उही प्रदेश प्रमुखले सोनललाई नियुक्त गर्दा संवैधानिक र वैधानिक हुने अनि मेरो नियुक्ति असंवैधानिक र अवैधानिक कसरी हुन्छ भन्दै उनले प्रश्न गरे। आफू र आफ्नो दल नेकपा एमालेबारे बाहिर भ्रम फैलाइएको जिकिर गरे। ‘मलाई कसैले प्रदेशसभा विघटनको सल्लाह नदिएको र त्यो म हुन पनि दिन्नँ। कसैले यस्तो सल्लाह दिए पनि म मान्नेवाला छैन, ढुक्क हुनुहोस्,’ उनले भने, ‘मुख्यमन्त्री सोनलजी धारा १६८ को उपदफा २ बमोजिम लिएको विश्वासको मत पहिलो पटकमै फेल भएपछि १६८ को ३ आकर्षित भएको हो। म प्रदेशसभाको पहिलो दलको हिसाबले संविधानतः मुख्यमन्त्री नियुक्त भएको हुँ।’

कटेजबाट मधेस प्रदेशका मुख्यमन्त्रीको नियुक्ति भएपछि मधेस प्रदेशमा बढेको टकराव सडकदेखि अदालतसम्म पुगेको छ। सोमबार बिहान मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई महोत्तरीको पानस कटेजमा नियुक्ति र शपथ खुवाइन्। त्यसपछि मधेसको राजधानी जनकपुरधाम र मधेस प्रदेश सरकारको मुख्यालय मधेस भवन तनावग्रस्त बन्यो। सात दलले मधेस प्रदेशसभाका सभामुख हटाउनेदेखि मुख्यमन्त्रीको राजीनामा मागिरहेका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी बर्खास्त भइसकेकी छन्।

यो घटनाको उठान र सामाधान तथा सभामुख हटाउने विषयमा मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलसँग नागरिककर्मी मिथिलेश यादवले गरेको कुराकानीको सम्पादित अंश:

रामचन्द्र मण्डल, सभामुख, मधेस प्रदेशसभा

गत शनिबारको मधेस प्रदेशसभाको बैठकबाट तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनार (सोनल) ले विश्वासको मत लिने क्रममा के भएको थियो?

तत्कालीन मुख्यमन्त्रीज्यूले कात्तिक २२ गते विश्वासको मत लिने भएकाले आवश्यक वातावरण बनाइदिन आधिकारिक पत्र नै प्रदेशसभा सचिवालयमा दर्ता गराउनुभएको थियो। उहाँकै पत्रको आधारमा मधेस प्रदेशसभाको बैठक बोलाइएको थियो। उहाँले प्रदेशसभामा विश्वासको मत माग्नुभयो। दलगत हिसाबले बोल्ने समय विभाजन गरिएको थियो।

बोल्ने क्रम सकिएपछि माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य रहबर अन्सारीले हात उठाउनुभयो । मैले आज दलगत हिसाबले बोल्ने समय विभाजन भएको जनाउ दिएँ तर उहाँले हात उठाइरहनुभयो। मैले संविधानतः संसद् सांसदहरूको सार्वभौम संस्था भएकाले उहाँलाई बोल्ने अनुमति दिए। उहाँ रोस्ट्रममै आएर बोल्नुभयो र उहाँले मत विभाजनको प्रक्रियामा तटस्थ बस्ने विश्वासको पक्ष विपक्षमा मत नदिने उद्घोष गर्दै आफ्नो स्थानमा बस्नुभयो । त्यसपछि सोही दलका अर्का सांसद माला कर्णले पनि तटस्थ बस्ने पक्ष विपक्षमा मत नदिने उद्घोष गर्नुभयो।

त्यसपछि तत्कालीन मुख्यमन्त्रीले पुनः रोस्ट्रममा आएर बोल्दै मत विभाजनको समय केहीबेर स्थागन गरिदिन आग्रह गर्नुभयो। मैले उहाँको आग्रहअनुसार बैठक केही बेर स्थगित गरिदिएको हुँ तर आधा घण्टाभन्दा बढी समयसम्म उहाँहरू सभाहलभित्र प्रवेश गर्नुभएन। अनि मैले मत विभाजनको प्रक्रिया प्रारम्भ गरिदिएँ।

अनि मत विभाजन प्रक्रिया पूरा भयो त?

होइन, भएन। त्यो चक्र नै पूरा भएन नि। घण्टी बजेपछि उहाँहरू हलभित्र आएर अझै समय माग्नुभयो । मैले अब मिल्दैन भनेर जानकारी गराएँ। त्यसपछि सोनलजीले हलभित्रैबाट आफ्ने राजीनामा घोषणा गर्नुभयो। राजीनामा दिनुभयो। मत विभाजनको चक्र पूरा नहुँदै उहाँले राजीनामा दिनुभएको हो। त्यसपछि त त्यो प्रक्रिया नै अघि बढेन। विश्वासको पक्ष–विपक्षमा सांसदहरू तोकिएको स्थानमा जान नपाउँदै यो प्रक्रिया रोकियो। कारण, सोनलजीले प्रक्रिया अगावै राजीनामा दिनुभयो।

संविधानको धारा १६८ को उपधारा २ अन्तर्गतको प्रक्रिया पूरा नहुँदै मुख्यमन्त्रीले राजीनामा गरेपछि कसरी १६८ (३) अन्तर्गत मुख्यमन्त्री नियुक्त भयो? गर्न मिल्छ?

होइन, मुख्यमन्त्री नियुक्त त मैले गरेको होइन नि। मैले त शनिबारको प्रदेशसभा बैठकमा जे भयो त्यसको विवरण पत्रमार्फत प्रदेश प्रमुखलाई जानकारी दिने हो। मैले त्यो पत्रमा प्रस्ट लेखेर पठाएको छु, संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री जितेन्द्र सोनार (सोनल) ले विश्वासको मत लिने क्रम छलफलमै रहँदा राजीनामा दिनुभयो। उहाँको राजीनमा आइसकेपछि मत विभाजन प्रक्रिया अघि नबढेको जानकारी मैले प्रदेश प्रमुखलाई पठाएको पत्रमै उल्लेख गरेको छु। विश्वासको मतमाथि छलफल पूरा भएको तर मतविभाजन प्रक्रियामा नगएको प्रस्टसँग लेखेर पठाएको छु। मैले त उहाँहरूलाई (सोनल) सहजीकरण नै गरिदिएको छु। जे भएको हो त्यही लेखेर पठाइदिएको छु।

तपामाथि महाभियोग लगाउने आवाज किन उठ्यो?

त्यो मलाई थाहा भएन। सायद उहाँहरू महाभियोग शब्दको वजन र अर्थ नबुझेर होला। महाभियोग खेप्ने जस्तो कार्य मैले गरेकै छैन। सभाको मर्यादा, आचरण, नैतिकतामाथि आँच आउने काम मैले गरेकै छैन। मैले त संविधान, कानुन र नियमावलीको परिधिभित्र रहेर काम गर्ने हो। त्यही गरेको छु।

अब बहुमतको दम्भ र आडमा कसैले महाअभियोग लगाउँछ भने म ‘फेस’ गर्न तयार छु, गर्छु तर यो भयो भने सन्देश राम्रो जाँदैन। यो अर्को दुर्भाग्यपूर्ण हुन्छ। कसैले आग्रह गर्‍यो कि तपाईं हटिदिनुस्, मलाई यो पद चाहिएको छ भन्नुहुन्छ भने विचार गर्न सकिन्छ  तर बलजफ्ती बहुमतको आडमा गर्छ भने म सामना गर्न तयार छु। किनकि, मैले कुनै गल्ती नै गरेको छैन।

अर्को कुरा पहिला उहाँहरूले संविधान, कानुन, नियमावली राम्रोसँग पढ्नुपर्‍यो। त्यसमा उल्लिखित प्रावधान र व्यवस्थाहरू बुझ्नुपर्‍यो। अनि मात्र बोल्नुपर्‍यो। कसैको मर्यादामाथि अकारण, बिनातथ्य र प्रमाण प्रश्न उठाउनुभएन।

अबको राजनीतिक निकास के हो?

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गरिसक्नुभएको छ। यो मुद्दा न्यायालयमा पुगिसकेको छ। अदालतमा गइसकेको मुद्दाका बारेमा मैले बोल्नु उचित हुँदैन। अर्को कुरा नवनियुक्त मुख्यमन्त्रीले पनि ३० दिनभित्र प्रदेशसभाबाट बहुमत प्रमाणित गर्नुपर्ने प्रावधान छ। त्यहीँ परीक्षण भइहाल्छ नि। बहुमत प्राप्त गर्न नसके फेल भइहाल्छ। त्यसपछि अर्को प्रक्रिया सुरु भइहाल्छ।

मुख्यमन्त्री नियुक्ति र अहिलेको विवादले प्रदेशसभा प्रभावित हुन्छ?

यो विषय प्रदेशसभाबाट बाहिर गइसकेको हो। यसमा प्रदेशसभालाई प्रभावित पार्नुको तुक छैन। उहाँहरूले प्रदेशसभालाई प्रभावित पार्नुहुन्छ जस्तो लाग्दैन मलाई। पार्नु पनि हुँदैन। प्रदेशसभाले त उहाँहरूलाई सहज वातावरण दिएकै हो । दलगत गडबडी हो वा के हो उहाँहरूको कुरा हो तर प्रदेशसभाको कारणले वा मेरो कारणले यो अवस्था आएकै होइन। यसमा उहाँहरूलाई क्लियर पार्न चाहन्छु।

प्रकाशित: २६ कार्तिक २०८२ ०८:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App