खासमा नेकपा (एमाले)मा पनि ‘शीतयुद्ध’ जारी छ। त्यसैले होला लामो समयसम्म कारपेटमुनि लुकाइएका समस्याहरू बाहिरि निस्कन थालेका छन्। शीतयुद्धले एमालेभित्रको शक्ति सन्तुलन पनि बिथोल्न खोज्दै छ।
यस्तो समयमा एमालेका नेता गोकुल बास्कोटले भने विश्वमा देखिएका शीतयुद्धको प्रभावबारे सटिक तर घुमाउरो पाराबाट विश्लेषण गरेका छन्। कुनै समय रापिलो नेताको रूपमा परिचित उनी अहिले सेलाएको महसुस हुँदै गएको छ। त्यसैले उनको यो शीतयुद्धको विश्लेषणलाई धेरैले धेरैतर्फबाट अर्थ्याएका छन्।
‘कोल्डवार समयमा दुई महाशक्तिले बरफमुनि राखेका संसारभरका समस्या अब सोझै विस्फोटको बिन्दुतर्फ मोडिए,’ बास्कोटाले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘९० पछि सुपर पावरको ‘सिङ्गल हेजेमोनी’का पछिल्ला दुरुपयोगका १४ वर्षले नियन्त्रण र सन्तुलन गुमाउन लागेका प्रस्ट सङ्केत देखिए।’ यसो हेर्दा उनको यो भाव अमेरिकाको पछिल्लो गतिविधितर्फ केन्द्रित देखिन्छ। इरान–इजरायल युद्ध, गाजा सङ्घर्ष, रुस–युक्रेन लडाइ। चीन–ताइवान सम्बन्ध सबैलाई केन्द्रित गर्दे लेखेको भान हुन्छ।
तर नेपाली पाठक न परे। उनीहरूले यसलाई नेपालको परिपेक्षसँग तुलना गर्न छाडेनन्। उनको यो साङ्केतिक विश्लेषणमा धेरैले टिप्पणी गरेका छन्। ‘... कमरेड एमाले पार्टीको आन्तरिक जीवनमा हो कि के हो? सामाजिक सञ्जाल प्रयोगकर्ता ओमहरी लिम्बुको प्रतिक्रिया धेरैले मन पराएका छन्। उनले भनेजस्तै बास्कोटाको यो साङ्केतिक भाषाले कतै देशको माहोलसँगै उनकै पार्टीको समस्या त बोलिरहेको छैन भन्ने दर्साउँछ।
पूर्वराष्ट्रपति राजनीतिमा आउने चर्चा, ईश्वर पोखरेल र केपी शर्मा ओलीका भनाइ। यी सबैले कतै उनलाई निराश त बनाएको छैन भन्ने प्रतिक्रिया पनि सामाजिक सञ्जालमा देखिएको छ।
बास्कोटा थप लेख्छन्, ‘संवाद, समन्वय र सहकार्य वा उथलपुथलपूर्ण नयाँ विश्व व्यवस्था?'
प्रकाशित: १९ असार २०८२ ०८:२४ बिहीबार





-600x400.jpg)