चितवनमा १५ वटा शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) बिना दर्ता सञ्चालनमा आएको पाइएको छ।
चितवनमा सञ्चालनमा आएका एक सय ११ कन्सल्टेन्सी मध्ये ९६ वटाले मात्र पूर्ण र आंशिक कागजात पुरा गरेर कन्सल्टेन्सी सञ्चालन गरेका हुन्।
चितवन प्रशासनले सार्वजनिक गरेको विवरण अनुसार ४६ वटा कन्सल्टेन्सी दर्ता भएका छन् भने ५० वटाले आंशिक कागजात पुरा गरेका छन्।
यस्तै १५ वटा भने बिना दर्ता सञ्चालनमा रहेका छन्। प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका कन्सल्टेन्सीलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढाएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।
प्रशासनले आज दर्ता भएका, आंशिक कागजात पुरा गरेका र दर्ता प्रक्रिया बिनै अवैध रुपमा सञ्चालनमा रहेका कन्सल्टेन्सीहरुको सूची प्रकाशन गर्दै दर्ता प्रक्रियामै नरहेकाहरूलाई कारबाहीको दायरामा ल्याउन लागिएको जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा हस्ताक्षरित सार्वजनिक सूचनामा तोकिएका सर्त र अनुमति बेगर शैक्षिक परामर्शका गतिविधि संचालन गर्दा अन्य कानुन (ठगी) मा समेत कारबाही हुन सक्ने तर्फ सचेत गराइएको उल्लेख छ।
पूरा गर्नुपर्ने मापदण्ड बमोजिमका कागजातहरू आंशिक रुपमा पेश गरेका कन्सल्टेन्सीहरुले यहीँ असार २२ गते भित्र कार्यालय समयमा थप कागजात पेश नगरेमा कानुन बमोजिम कारबाही हुने चितवन प्रशासनले चेतावनी दिएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले दर्ता बिना नै कन्सल्टेन्सी सञ्चालनमा रहेको र सेवाग्राही ठगिँदै गएको उजुरी आएपछि कन्सल्टेन्सीहरुको अनुगमन गर्न थालिएको बताए।
उनले अवैध रुपमा संचालन रहेका र झुटो विवरण राखेर काम गर्ने कन्सल्टेन्सीहरूलाई कारबाहीको दायरामा ल्याइने बताए।
‘अवैध काम भइरहेको भन्दै धेरै कन्सल्टेन्सीका विरुद्धमा उजुरी आउन थाले, गलत काम गर्नेहरू कानुनी दायरामा ल्याउन निगरानी बढाइराखेका छौं’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने।
प्रकाशित: १७ असार २०८२ १९:२४ मंगलबार





