२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

नेत्रविक्रम चन्दको 'आर्थिक मार्गचित्र’: कटारीमा एक बिगाहामा रोपाइँ, 'परजीवी' नबन्ने पार्टीको नीति

रोपाइँमा सहभागी हुँदै नेता-कार्यकर्तासहित मेयर, उपमेयर, इलाका प्रशासकलगायत।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नयाँ आर्थिक मार्गचित्र अघि सार्दै नेता-कार्यकर्तालाई उत्पादनसँग जोड्ने नीति अघि बढाएको छ। सो मार्गचित्रअनुसार पार्टीमा आबद्ध हरेक नेता-कार्यकर्ता असार १ गतेदेखि २५ गतेसम्म श्रममा जोडिइरहेका छन्, पार्टीले त्यसका लागि बिदा दिएको छ।

केन्द्रीय सदस्य लक्ष्मण सीका अनुसार पार्टीले यस्तो नीति भर्खरै कार्यान्वयनमा ल्याएको हो। पार्टीले १ गतेदेखि २५ गतेसम्म बिदा मात्रै दिएको छैन, उत्पादनमूलक श्रममा जोडिन निर्देशनसमेत दिएको छ। सो नीतिलाई बाध्यकारी नीतिका रूपमा लिँदै नेता-कार्यकर्ताहरू उत्पादनमूलक श्रममा जोडिएका छन्।

पार्टीको सो नीतिअनुसार यता उदयपुरमा बिदाको सदुपयोग गर्दै अहिले मकै उकेर्ने र धान रोप्ने काम भइरहेको सी बताउँछन्। अघिल्लो दिन परेको २२औँ धान दिवस पनि सोही नीतिअनुसार पार्टीले कार्यक्रम गरेर सामूहिक रोपाइँ गरेर मनाएको उनले बताए। 'धान रोप्ने ठाउँमा रोप्ने, मकै पाकेको छ भने उकेर्ने, अन्य तरकारी, बालीनाली जे छन्, अवस्थाअनुसार रोप्ने, स्याहार्ने, उकेर्ने काम भइरहेको छ,' उनले भने।

कटारीमा लक्ष्मण सीको नेतृत्वमा ‘यूनिफाईड हार्भेस्ट एग्रीकल्चर फार्म’ सञ्चालनमा छ, जहाँ कटारी क्षेत्रमा कार्यरत नेता-कार्यकर्ताहरू कार्यरत छन्। कटारीकै व्यक्तिगत २ बिगाहा क्षेत्रफल जमिन २ वर्षयता भाडामा लिएर सामूहिक खेती गर्न थालेको सीले बताएका छन्।

सीले यस वर्षको धान दिवसको अवसर पारेर पार्टीले सो जमिनमा सामूहिक रोपाइँ गरेको बताए। पार्टी नेता-कार्यकर्ताको सहभागिता रहेको सामूहिक रोपाइँ कार्यक्रममा कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ, उपप्रमुख गीता खड्का, इलाका प्रशासन कार्यालय प्रमुख उपसचिव कोपिला राई, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरू, कर्मचारी, शिक्षक, विद्यार्थी र तथा स्थानीयको सहभागिता थियो। सामूहिक रोपाइँकै क्रममा १ बिगाहा जमिनमा धान रोप्ने काम सम्पन्न भएको छ।

फार्ममा उत्पादन भएको धानबाली ५० प्रतिशत पार्टीको केन्द्रीय अन्न भण्डार (कोष) मा पठाउनुपर्ने र बाँकी ५० प्रतिशत स्थानीय कार्यकर्ताले उपभोग गर्न पाउने प्रावधान छ। ‘हाम्रो पार्टीको नीति निर्देशनअनुसार सबै नोता कार्यकर्ता उत्पादनमा अनिवार्य लाग्नुपर्ने प्रावधान छ,’ केन्द्रीय सदस्य सीले नागरिकसँग ‘सोही नीतिअनुसार हामी उत्पादनमा लागिसक्यौँ, यहाँ फल्ने धान, मकै जे-जे फल्छ, सबै आधा केन्द्रीय कोषमा जान्छ, आधा हामी उपभोग गर्छौँ।’

नेपालका अधिकांश राजनीतिक पार्टीहरू 'परजीवी' जस्ता भएकाले देश दैनन्दिन खोक्रो र परनिर्भर हुँदै गएको पार्टीका नेताहरूको बुझाइ छ। पार्टी महासचिव चन्द स्वयम् पनि श्रम गरिरहेकै भेटिन्छन्। सीको जिकिर छ, 'हाम्रो पार्टी परजीवी होइन, आत्मनिर्भर र आफ्नै खुट्टामा उभिने नागरिक निर्माणको अभियानमा छ। त्यसैले उत्पादनमा लाग्ने नीति हामीले लिएका हौँ।'

जिल्लाका सदरमुकाम त्रियुगासहित बेलका, चौदण्डीगढीलगायत अन्य स्थानीय तहहरूमा पनि सामूहिक खेतीको योजना कार्यान्वयनमा रहेको उनले बताएका छन्। पार्टीको उत्पादन योजनामा कटारी नगरपालिकाले साथ दिएकामा पार्टीले धन्यवादसमेत भनेको छ। यस वर्षको धान दिवसमा स्वयम् नगरप्रमुख, उपप्रमुख, इलाका प्रशासन प्रमुख र प्रहरीसहित नगर कृषि विकास शाखाबाटै रोपाइँमा साथ सहयोग पाउँदा पार्टीलाई प्रोत्साहन मिलेको नेताहरू बताउँछन्।

प्रकाशित: १६ असार २०८२ १६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App