प्रतिनिधि सभाबाट संघीय निजामती सेवा विधेयक २०८० पारित भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राखेको विधेयक पारित गरियोस भन्ने प्रस्ताव प्रतिनिधि सभाको आजको बैठकले बहुमतले पारित भएको हो ।
मन्त्री गुप्ताले यो विधेयक नेपालको संविधानको मर्मअनुसार आएको बताउँदै नौं दश वर्षदेखि अलपत्र रहेको विधेयक पारित भएकोमा खुशी व्यक्त गरे । विधेयकले कर्मचारीमा देखिएको अधिकांश असन्तुष्टि सम्बोधन हुने दाबी गर्दै उनले कर्मचारीको कार्यसम्पादन मापन गर्ने प्रणालीसम्बन्धी प्रणालीको विकास गरिएको जानकारी दिए ।
विधेयक पारित भएपछि सभामुख देवराज घिमिरेले संघीयताको सफल कार्यान्वयनका लागि आवश्यक कानुनी पूर्वाधारमध्ये यो विधेयक एक ऐतिहासिक र दूरगामी प्रभाव पार्ने नीतिगत प्रस्थानविन्दुको रुपमा रहेको बताए ।
छलफलका क्रममा अधिकांश दलका सांसदहरुले विधेयकको स्वागत गर्दै कार्यान्वयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
विधेयक पारित भएसँगै निजामती कर्मचारीको अन्तर प्रदेश सरुवाको बाटो खुला गरेको छ । सम्बन्धित प्रदेशको सहमतीमा पारिवारिक, स्वास्थ्यजन्य र विशेष कारणले कर्मचारीलाई राहत दिने उद्धेश्यसहित सरुवाको प्रावधान समेटिएको सरकारको भनाइ छ । अब स्थानीय तहका कर्मचारीले आफ्नो अनुकुल रहनेगरी अन्तर प्रदेश सरुवा गर्न पाउने भएका हुन् ।
यस्तै विधेयकले महिनै पिच्छे कर्मचारीको सरुवा हुने परिपाटीको अन्त्य गर्दै चक्रीय प्रणालीमा सरुवाको व्यवस्था मिलाएको छ ।
यस्तै विधेयकले कर्मचारीहरुको कुलिङ पिरियड २ वर्ष हुने व्यवस्था पनि गरेको छ । विधेयकले अतिरिक्त सचिवको व्यवस्था गर्दै सचिवालयस्तरमा कार्याभार व्यवस्थापन र नीतिनिर्माण प्रक्रियामा विकेन्द्रिकृत दक्षता विकास गर्न मद्दत पुग्ने विश्वास सरकारको छ ।
विधेयक २०८० सालको फागुन २१ गते संसद् सचिवालयमा दर्ता भएको थियो । आइतबार प्रतिनिधि सभाबाट पारित यो विधेयक अब राष्ट्रिय सभामा जान्छ । त्यहाँबाट समेत पारित भएर प्रतिनिधि सभामा आएपछि सभामुख हुँदै राष्ट्रपतिले प्रमाणिकरण गरेपछि कार्यान्वयनमा जानेछ ।
प्रकाशित: १५ असार २०८२ १५:५९ आइतबार





