प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चायती शासन ढाल्न मात्रै नेपाली कम्युनिस्टले त्यो बेला संवैधानिक राजतन्त्र कार्यनीतिक रूपमा स्वीकार गरिएको बताएका छन्।
मदन भण्डारी फाउन्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।
‘कम्युनिस्ट पार्टीको पाँचौँ महाधिवेशनसम्म पुग्दा कांग्रेस र हामी सहकार्य गरेर गएका थियौँ,’ ओलीले भने, ‘के का लागि भन्दा निरङ्कुश राजतन्त्रलाई संवैधानिक राजतन्त्रमा झार्न, यो कार्यनीतिक कुरा हो है, कार्यनीति कुरालाई रणनीतिक ठान्न हुँदैन।’
रणनीतिक रूपले कम्युनिस्टको सधैँ लोकतान्त्रिक गणतन्त्र रहेको उनले बताए। ‘कार्यनीतिक रूपमा राजतन्त्र संवैधानिक बनाउनु पर्दछ र निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरेर बहुदलीय प्रजातान्त्रिक, जनवादी जेजे भन्नुस् ल्याउनु छ भन्ने थियो,’ प्रधानमन्त्री ओलीले भने।
यसका लागि न्यूनतम कार्यनीतिका लागि कांग्रेससँग सहकार्य गर्नुपर्छ भन्ने कुरा चौथो महाधिवेशनले पारित गरेको उनले बताए। उनले भने, ‘कांग्रेससँग सहकार्य भयो, बाम मोर्चा पनि भयो। त्यसपछि भएको संयुक्त आन्दोलनले ६ महिनामा पञ्चायती व्यवस्था ढल्यो, निरङ्कुश राजतन्त्र संवैधानिक भयो।’
प्रकाशित: १४ असार २०८२ १५:३८ शनिबार





