१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको आक्रोश: अंक थपेर बढी विद्यार्थी पास गराइयो भन्ने विद्वान देख्दा अचम्म लाग्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार प्रकाशित माध्यमिक शिक्षा परीक्षा(एसइई)मा अंक थपेर बढी विद्यार्थी उत्तीर्ण गराइएको भन्ने सुन्दा अचम्म लागेको बताएका छन्। शनिवार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

‘हिजो एसइईको नतिजा प्रकाशित भएको छ। र, एसइईको नतिजामा गत वर्षको भन्दा १४ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको भन्दा मात्र होइन, धेरै वर्ष यता एसइईको नतिजामा उल्लेख्य वृद्धि भएको यो एउटा खुसीको अवसर हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यस अवसरमा म एसइई परीक्षामा राम्रो नम्बरका साथ उत्तीर्ण हुने वा उत्तीर्ण हुने सबै विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई भन्न चाहन्छु।’  

यो नतिजा आएकामा आफू खुसी भएको र सबै खुसी हुनुपर्ने उनले बताए। ‘तर यस्तो नतिजामा पनि केही मानिसहरूले अंक थपेर पास गराइयो जस्ता हचुवाका भरमा बिना आधार मेहनत गरेर विद्यार्थी पास गरेको कुरालाई अपमान हुने गरी, नयाँ पुस्ताको उत्साहलाई होच्याउने र अपमान गर्ने गरी कुनै कुनै विद्वानले बोलेको सुन्दा मलाई दुख पनि लाग्छ, अचम्म पनि लाग्छ,’ प्रधानमन्त्री ओलीले भने। 

‘हामी मेहनत गरेर आफ्नो स्तर उठाउन सक्दैनौँ? अंकमा खेलवाड गर्नुपर्छ?’ भन्दै उनले आक्रोश व्यक्त गरे।  विद्यार्थीले मेहनत गरेर यो नतिजा ल्याएको र शिक्षकले मेहनत गरेर यो अवस्थामा पु¥याएका दाबी गर्दै प्रधानमन्त्री ओलीले अपमान नगर्न आग्रह गरे।

प्रकाशित: १४ असार २०८२ १३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App