लामो समय नेतृत्वमा रहँदा आलोचित हुनेमध्ये सम्भवतः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पहिलो नम्बरमा पर्छन्। ३५ वर्षको उमेरमा नेकपा मशालको महामन्त्री बनेका दाहाल ७१ वर्ष हुँदासमेत नेतृत्वमै छन्। यसरी हेर्दा उनी नेतृत्वमा रहेको ३६ वर्ष पुगिसकेको छ।
अझ पछिल्लो पटक उनले थप पाँच/सात वर्ष नेतृत्वमै रहने अभिव्यक्ति दिएका छन्। हुलाकी राजमार्गकेन्द्रित माओवादी केन्द्रको जागरण अभियानअन्तर्गत गत वैशाख १६ गते बर्दियाको राजापुर पुगेका दाहालले प्रस्टै भनेका थिए, ‘अझै पाँच/सात वर्ष म मर्न हुन्न, त्यसपछि त जिम्मेवारीको नेतृत्व लिन तयारी अवस्थामा साथीहरू हुनुहुन्छ नै। जनताको अधिकार स्थापित गर्न, हामीले थालेका केही अभियान टुंग्याउन र छिन्नभिन्न माओवादी घटक जुटाउने मेरो काम बाँकी छ।’
त्यसअघि पनि दाहालले आफूले छाडेपछि पार्टी नेतृत्वमा आउन सक्ने नेताहरू नरहेको सार्वजनिक रूपमै बताउने गर्थे। ‘यसो हेर्छु, कसैले गरिखालान् जस्तो देख्दिनँ’ भनेर उनले केही सार्वजनिक मञ्चहरूमै बोलेका छन्। दाहालले त्यसैले पनि आफूले तत्कालै उत्तराधिकारी घोषणा नगर्ने बताउने गरेका छन्।
दाहालले यसो भनिरहँदा उनकै वरिपरिबाट पार्टीभित्र प्रभावशाली नेता बनेको मानिने जनार्दन शर्मा (प्रभाकर) ले एक ‘जेहाद’ छेडेका छन्। शर्माले पछिल्लो समय नेतृत्व (दाहाल), नेतृत्वको कार्यशैली र पार्टीभित्रका तमाम सांगठनिक तथा राजनीतिक कमजोरी उधिन्न थालेका छन्। त्यसपछि माओवादी केन्द्रभित्र दाहालको सर्वमान्य छविमा समस्या आउन थालेको देखिन्छ। यो परिदृश्यले स्वाभाविक रूपमा दाहाल–शर्माबिच टकरावको स्थिति सुरु हुने नै भयो। यो टकराव पार्टीको आठौं महाधिवेशनताकादेखि उत्कर्षमा छ।
आठौं महाधिवेशनमा दाहाल–शर्मा टकरावको प्रस्ट कारण थियो– पार्टी महासचिव। शर्माले पार्टी महासचिव आफूले स्वतः पाउनुपर्ने दाबी गरेका थिए। संगठन विभाग प्रमुखसमेत रहेर पार्टीभित्र काम गरेको भन्दै उनले दाहालसँग महासचिव बन्न चाहेको बताएका थिए। तर दाहालले शर्मालाई महासचिव बनाउन चाहेनन्। त्यतिबेला चीनमा उपचाररत अर्का नेता वर्षमान पुनलाई देखाएर दाहालले शर्मालाई उपमहासचिवमा थन्काइदिए। पुन पनि उपमहासचिव नै भए। दाहालले महासचिव भने एकपटक पार्टी त्यागेर पुनः फर्किएका देवप्रसाद गुरुङलाई बनाए। गुरुङ शर्मा र पुनभन्दा उमेरले वरिष्ठ पनि हुन्।
शर्माले आफूलाई महासचिवमा रोक्न दाहालले चालेको कदम बुझेका थिए। त्यसयता उनी दाहालका अगाडि थप कडा रूपमा प्रस्तुत हुन थालेका छन्। पार्टी बैठकमा फरक मत राख्ने, नेतृत्व हस्तान्तरणको कुरा उठाउनेसम्मका काम शर्माले गरिरहेका छन्। यिनै परिदृश्यबिच २०८२ जेठ ६ सम्म आउँदा दाहालले शर्मालाई लक्षित गर्दै ‘पार्टीबाट हिँडे पनि फरक पर्दैन’ भन्ने आशयको अभिव्यक्ति पनि दिएका छन्। जेठ ६ गते पश्चिम रुकुम पुगेका दाहालले बाबुराम भट्टराई, रामबहादुर थापा, मोहन वैद्यको नामै लिएर र मञ्चमा बसेका शर्मालाई लक्षित गर्दै भनेका थिए, ‘एकाध नेताले पार्टी छोड्दैमा र एकाध नेता विचलित भएर अर्काेतिर लाग्दैमा जनताले पार्टी छाड्दैनन्। क्रान्तिकारी जनता सतीसालझैं उभिन्छन्। रुकुम उदाहरण बनेको छ।’
शर्माले दाहालको त्यो भनाइको समीक्षा हुनुपर्ने माग गरेका छन्। समीक्षा होला–नहोला, हेर्न बाँकी छ। तर पछिल्लो समय दाहाल र शर्माबिच द्वन्द्व उत्कर्षमा छ।
दाहाललाई चुनौती
आठौं महाधिवेशनको आठ महिनापछि २०७९ भदौ २२ गते दाहालसँग शर्माको सार्वजनिक मञ्चमै भनाभन भयो। अखिल क्रान्तिकारीले चुनावकेन्द्रित भएर आयोजना गरेको ‘क्रान्तिकारी फोर्स घोषणा कार्यक्रम’मा दाहाल र शर्मा एक अर्काकाप्रति आक्रामक रूपमा प्रस्तुत भए।
कार्यक्रममा शर्माले दाहाललाई ‘म तपाईंको र माओवादीको कहिले हुन्छु’ भनेर प्रश्न गरेका थिए। लामो भूमिका बाँध्दै शर्माले भनेका थिए, ‘एमालेसँग एकता गर भन्नुभयो, गरें, केपी ओलीको मान्छे भएँ। कांग्रेससँग सहकार्य गर भन्नुभयो, त्यो गर्न वार्ता गरें, म कांग्रेसको भएँ। माओवादीको हुने ठाउँ छ कि छैन अध्यक्ष कमरेड म ? म माओवादीको कहिले हुन्छु होला, माओवादीको कहिले हुन्छु होला म? हुन पाउनुपर्यो नि। ४८ वर्ष भयो पार्टीमा लागेको, माओवादीको हुन पाउनु परेन म ? प्रचण्डको कहिले हुन्छु होला म? देउवाको, केपीको मात्रै भएँ। तपाईंको हुनुपरेन म?’
शर्माले त्यतिबेला पार्टीभित्र संघर्षको आवश्यकता देखेको, प्रश्न गर्नुपर्ने आवश्यकता देखेको बताएका थिए। तर उनले यी प्रश्नभित्र कुनै दुराग्रह भने नभएको जिकिर पनि गरेका थिए। ‘त्यो प्रश्नभित्र न कुनै षड्यन्त्र छ, न कुनै दुराग्रह छ, न नेतृत्वप्रतिको कुनै अपमानको कुरा छ। पार्टी बनाउने हुटहुटी छ, पार्टी निर्माण गर्ने हुटहुटी छ, पार्टी रूपान्तरण गर्ने हुटहुटी छ। इमानदार बन्न पाइँदैन यो देशमा ? यो पार्टीमा इमानदार बनेर बोल्न पाइँदैन?’
शर्माले दाहालप्रति यसरी प्रश्न तेस्र्याएका थिए। जवाफमा दाहालले अगाडि राम्रो कुरा गरे पनि पछाडि धारे हात लगाउनेहरू बढेको बताएका थिए।
‘प्रचण्डका अगाडि पर्दा सबैले मीठा र राम्रा कुरा गर्ने, महान् नेतृत्व भन्ने, कोठाबाट निस्केर गएपछि धारेहात लगाउनेको संख्या बढ्या छ। अब प्रभाकर (जनार्दन शर्मा) ले पनि मलाई यसो भन्यो र उसो भन्यो भनेर बढी भन्न जरुरी छैन। जुन कुरा टुंगिइसकेको छ, टुंगिइसकेको कुरालाई टुंगिएकै रूपमा बुझ्नु र त्यसलाई त्यसैगरी सम्प्रेषण गर्नु उचित हुन्छ,’ दाहालको भनाइ थियो, ‘कमरेड प्रभाकरले पनि ममाथि अत्याचारका अत्याचार भन्न जरुरी छैन।’
सार्वजनिक मञ्चमै त्यसरी नोकझोक भएपछि धेरैले शर्माले नेतृत्वका लागि चुनौती दिन थालेको रूपमा अथ्र्याएका थिए। पार्टीभित्र दाहालपछिको नेतृत्व को हो भन्ने तीव्र प्रश्न उठिरहेका बेलामा शर्माले दिएको चुनौतीलाई त्यसरी अथ्र्याइनु पनि स्वाभाविक नै थियो। र, यथार्थमा त्यो सही नै भएको प्रमाणित पनि हुँदै आइरहेको छ। त्यसबिचमा बसेका दर्जनौं पार्टी कमिटी बैठकमा शर्माले नेतृत्व र नेतृत्वको कार्यशैलीबारे बोल्थे। लामो समय नेतृत्वमा बस्दा उठेका विभिन्न प्रश्न गर्थे। दाहालले समय पनि दिन्थे, जवाफ पनि दिने प्रयास गर्थे। तर शर्माको चित्त बुझ्ने कुरै भएन। जबकि उनले मूलतः नेतृत्व हस्तान्तरणको कुरा गरेका थिए।
२०८१ साउनमा आएर शर्माले पार्टीमा १४ पृष्ठको लिखित प्रस्ताव दर्ज गरे। साउन २६ गते बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको उक्त प्रस्तावको सार थियो– दाहालले नेतृत्व हस्तान्तरण गर्नुपर्ने। प्रस्तावमा लेखिएको थियो, ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने।’ शर्माको उक्त प्रस्तावलाई पार्टीले ग्रहण त गर्यो तर मूल रूपमा माग गरेको विषय अर्थात् नेतृत्व हस्तान्तरणका विषयमा कुनै काम भएन।
अब महाधिवेशनमा के गर्लान् शर्मा?
माओवादी केन्द्रले विधानतः २०८३ भित्र नवौं महाधिवेशन गरिसक्नुपर्छ। उसले विशेष महाधिवेशन नगरीकन नवौं महाधिवेशनमा जाने निर्णय गरिसकेको छ। महाधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्वको विषयमा पनि छलफल सुरु भएको छ।
भनिन्छ– पार्टीको नवौं महाधिवेशनमा शर्मा दाहालविरुद्ध उभिनेछन्। शर्माले नेतृत्व, उसको कार्यशैली, सांगठनिक, राजनीतिक कमजोरीमाथि प्रश्न उठाउँदै र पार्टीका विभिन्न बैठकमा लिखित तथा मौखिक पूरक प्रस्ताव दर्ज गर्दै आएका छन्। नेतृत्वसँग त्यति खुसी नदेखिएका उनले महाधिवेशन ‘फेस’ गर्छन् भनेर अड्कल गर्न अन्यथा हुँदैन। शर्मा स्वयंले पनि नेतृत्वका लागि अगाडि सर्ने संकेत गरेका छन्।
‘महाधिवेशनमा को अध्यक्ष हुने भनेर अहिले अजेन्डा उठेकै छैन। आज जनताले हामीमाथि जुन प्रश्न गरेका छन्, जनतामा जो निराशा छ। त्यसको जिम्मेवारी हामीले लिनुपर्छ,’ उनले भनेका छन्।
शर्माले बारम्बार यही विषयको उठान गर्दै आएको दोहोर्याएका छन्। ‘प्रजातन्त्रको पुनर्बहालीयता जनताले सबै पार्टी र नेतालाई अवसर दिएका छन्। पालो–पालो अवसर पाउँदा पनि देशले भनेजस्तो गति लिन किन सकेन भन्ने प्रश्नको जवाफ हामीले दिन सक्नुपर्छ। अवसर पाउँदा दल र नेताले किन काम गरेनन् ? जनताका मुद्दा किन समाधान भएनन् भनेर जनता हामीसँग रिसाइरहेका छन्। पार्टीभित्र आन्तरिक लोकतन्त्र, वैचारिक स्पष्टता, संगठन संरचना र विधि स्थापित भएपछि मात्रै त्यसको जवाफ दिन सकिन्छ,’ एक अन्तर्वार्तामा शर्माले भनेका थिए।
माओवादी केन्द्रकै एक नेता आउँदो महाधिवेशन पहिलाको भन्दा फरक हुने आकलन गर्छन्। ‘अहिले त जागरण अभियान नै सकिएको छैन। त्यो सक्छौं र केन्द्रीय कमिटी बैठक बस्छ। बैठकले महाधिवेशनबारे निर्णय लिन्छ,’ ती नेताले नागरिकसँग भने, ‘अब नेतृत्वको कुरा जहाँसम्म छ, त्यतिबेलाको अवस्था कस्तो हुन्छ, थाहा छैन। तर अहिलेको अवस्था हेर्दाचाहिँ अगाडिका महाधिवेशन जस्तो नहोला।’
अगाडिका महाधिवेशन जस्तो भनेर के भन्नु खोज्नुभएको हो भन्ने जिज्ञासामा ती नेताले भने, ‘नेतृत्वका विषयमा भन्न खोजेको, अरु साथीहरू पनि हामी छौं है भन्ने किसिमबाट आउँदै हुनुहुन्छ।’ जनार्दन शर्माका विषयमा भन्न खोज्नुभएको हो भन्ने प्रश्नमा ती नेता हाँसे मात्रै। तर शर्माको नाम नलिईकन ती नेताले उनी पछि नहट्ने संकेत गरे।
जबर्जस्त उदाउँदै शर्मा
शर्माले आफूले आफ्ना लागि पार्टी नेतृत्वमाथि प्रश्न नउठाएको, पार्टीभित्र गुट नरहेको भन्दाभन्दै पनि गुट निकै बलियो बनाइसकेका छन्। पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा शर्माकै पल्लाभारी छ। त्यसबाहेक पत्रकार संगठन प्रेस सेन्टरलगायत अन्य जनवर्गीय संगठनहरूमा समेत उनका समर्थन छुटेका छैनन्। यसबाहेक पार्टीभित्र नेतृत्वप्रतिका असन्तुष्टहरू पनि शर्मासँग निकट हुन थालेको बताइन्छ। के भनिन्छ भने– पार्टीभित्र नेतृत्वप्रतिका असन्तुष्टहरूका लागि शर्मा ‘भित्तो’ बनेका छन्। उपमहासचिव हरिबोल गजुरेल, सचिव राम कार्कीलगायत पनि नेतृत्वप्रति लामो समययता सन्तुष्ट छैनन्। अब उनीहरूको साथ पनि शर्मालाई हुने विश्लेषण माओवादी वृत्तमा हुँदै आएको छ।
दाहाल पनि शर्मासँग मुकाबिलामै उत्रिएको देखिन्छ, जुन नेतृत्व गुम्ने भयका कारण भएको चर्चा माओवादीभित्रै छ। अखिल क्रान्तिकारीको निर्वाचनदेखि कर्णाली प्रदेशसभा संसदीय दलका नेता खगराज भट्टलाई हटाएर पुनर्बहाली गर्ने कदमसम्म आउँदा दाहाल शर्मासँग परोक्ष रूपमा ‘भिडेकै’ देखिन्छ।
समूह भेलामा दाहाल
शर्माले लगातार टक्कर दिँदा र आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिनसक्ने बुझेपछि दाहाल पनि विगतमा जस्तै आफ्नो पक्षमा चुनावी नतिजा ल्याउनेगरी तयारीमा जुटेको बताइन्छ। त्यसका लागि उनी गुट बलियो बनाउन लागेका छन्। यसै अभियानअन्तर्गत जनयुद्धकालदेखि नै शर्माका ‘भित्रिया’ भनेर चिनिने कालिकोटका नेता तथा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतलाई दाहालले आफूतिर तानिसकेको बताइन्छ। माओवादीका एक नेताले भने, ‘अध्यक्ष कमरेड पनि बढीभन्दा बढी गुट नै बलियो बनाउनेतिर लाग्नुभएको छ भन्ने सुन्छु, यसबारे उहाँलाई नै सोध्नुहोला।’
शर्माले गुट बलियो बनाउँदै लगेको, मूलतः पार्टीका तेस्रो तहका नेताहरूलाई आकर्षण गर्न सफल भएको बुझाइ दाहालको छ। यसैले पछिल्लो समय दाहाल शर्मासँग ‘भिड्न थालेको’ चर्चा पार्टीभित्र छ। अहिले तीनवटा प्रदेशका अध्यक्षहरू शर्मानिकट मानिन्छन्। उनी निकट जिल्ला अध्यक्षहरू कम छैनन्। पछिल्लो अधिवेशनसम्म ३४ भन्दा बढी जिल्लामा आफूपक्षीय नेताहरू अध्यक्ष बनाउन सफल अर्का नेता वर्षमान पुनको ठाउँ अहिले शर्माले लिँदै छन्।
बहस आवश्यक
पार्टीका नेताहरू भने दाहाल–शर्माबिचको बहसलाई अन्यथा लिन नहुने बताउँछन्। पार्टीभित्र बहस र छलफल भइरहनुपर्ने नेताहरूको भनाइ छ। ‘पार्टीभित्र छलफल, बहस हुन्छ बेलाबेलामा। हिजो जनार्दनजी प्रचण्डको सबैभन्दा बढी नजिकका साथी पनि हुन् नि। त्यसो हुँदा कहिलेकाहीं मतदेभ हुँदा आकाश नै खसेजस्तो पनि गर्नु भएन नि। आश्चर्य मान्दैनौं,’ उपमहासचिव वर्षमान पुन भन्छन्, ‘हामी पार्टीभित्र बहस गर्छौं, छलफल गर्छौं। जनार्दनजीका मतभेद छन्, असन्तुष्टिहरू छन्। पार्टीभित्र हल गर्छौं हामी।’ तर विषयहरू जिम्मेवार ढंगले उठाइनुपर्ने र त्यसैगरी नेताहरूले व्यवहार गर्नुपर्ने उनी बताउँछन्। ‘हिजो हामी मध्यमस्तरका नेता थियौं। वैद्यजीहरू, बाबुरामजीहरू अरु वरिष्ठ नेताहरू हुनुहुन्थ्यो। त्यतिबेला हाम्रो स्वभाव, कार्यशैली सामान्य हुन्थ्यो। फलानोको स्वभाव हो भन्ने हुन्थ्यो, नेता हुँदै आएपछि कार्यशैली यस्तो भयो, अलिक जिम्मेवार, अलि सिनियर लेभलमा आइसकेपछि केही प्रवृत्तिहरू हुँदोरहेछ।’
पहिला आफूहरू ‘जुनियर लेभल’मा हुँदा त्यो कुराले खास असर नगरे पनि अहिले जिम्मेवार तहमा पुग्दा अलि बढी असर हुने पुनले बताए। ‘मैले जनार्दनजीलाई यही भन्ने गरेको छु, लड्दा पनि बाबुराम, वैद्यजीको तरिका पनि नगरौं। केही गर्नलाई तँछाडमछाड किन गर्ने, अनि सबै पार्टी छाडेर हिँड्ने, त्यसो नगरौं। हाम्रो व्यक्तित्व छ, योगदान छ,’ पुनले थपे। अर्का उपमहासचिव हरिबोल गजुरेल पनि दाहाल–शर्माबिचको छलफललाई त्यति गम्भीर रूपमा लिन नहुने बताउँछन्।
उनले भने, ‘उहाँहरूबिचको छलफल हो। त्यसलाई ठुलो रूपमा अथ्र्याउनु हुँदैन। पार्टी सुदृढीकरण मुख्य विषय हो।’
पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाको भनाइ पनि त्यस्तै छ। शर्माले पार्टी फुटाउने वा छाड्ने गरी प्रश्नहरू नउठाएको जिकिर सापकोटाको छ। ‘जनार्दनले माओवादी फुटाउँदा नि फुटाउँदैनन्। डर लाग्दैन, हामी त्यसमा ढुक्क छौं,’ उनले भने।
प्रकाशित: १४ असार २०८२ ०६:१७ शनिबार





