नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टी रहे मात्रै सांसद रहने बताएकी छन्। पार्टीका सङ्घ तथा प्रदेशका १५ सांसदहरूको तस्बिर सामाजिक सञ्जाल फेसबूकमा पोस्ट गर्दै उनले यस्तो लेखेकी हुन्।
'पार्टी रहे सांसद रहन्छन्। एकता र सङ्घर्षको आधार नभए न पार्टी बाँच्छ, न पहिचान टिक्छ,' उनले लेखेकी छन्, 'आज नागरिक उन्मुक्ति पार्टीका १५ जना सांसदहरूको सामूहिक उपस्थिति हाम्रो आन्तरिक एकता, उद्देश्यप्रति प्रतिबद्धता र जनताको विश्वासको प्रतिविम्ब हो।'
उनले आफूहरू पार्टीका संरक्षक रेशम चौधरीको बलिदानको पहिचान भएको पनि बताएकी छन्। 'हामी मात्र सांसद हैनौँ, हामी रेशम चौधरीको बलिदान र सङ्घर्षबाट जन्मिएको पहिचान हौँ। हामी जनताको साहस र आवाज हौँ। त्यही मूल्य र मार्गदर्शनले हामीलाई अघि बढाइरहेको छ,' उनले लेखेकी छन्।
पछिल्लो समय पतिसमेत रहेका रेशम चौधरीसँग रञ्जिताको सम्बन्ध राम्रो छैन। पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयबाट सुरु भएको रेशम-रञ्जिता कलह फेरि बल्झिएको छ। अझ पछिल्लो पटक जनमत पार्टीसँगको एकता भाँडिएपछि उनीहरूबीच त्यति हार्दिक सम्बन्ध छैन।
प्रकाशित: १० असार २०८२ २१:०८ मंगलबार