२१ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

खराब काममा एमालेको सहभागिता हुँदैन: महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टी कुनै पनि गलत र देशलाई हानि पुर्‍याउने काममा सहभागी नहुने दृढता व्यक्त गरेका छन्।

उनले मुलुकमा हुने हरेक खराब कामको दोष एमालेमाथि थोपर्ने प्रवृत्ति बढेको भन्दै त्यसप्रति आपत्ति जनाए।

राष्ट्रिय युवा सङ्घ नेपालको दोस्रो पूर्ण बैठकलाई मंगलबार ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले भने, ‘मुलुकमा भएका खराब काममा एमालेको सहभागिता रहँदैन, तर अचम्मको कुरा, एमालेमाथि नै आरोप र हमला हुने गरेको छ।’

उनले इतिहासमा असान्दर्भिक भइसकेका शक्तिहरू (राजावादी) र आफूलाई वैकल्पिक दाबी गर्नेहरूले समेत एमाले र यसको नेतृत्वलाई नै मुख्य निशाना बनाउनुले एमाले सही बाटोमा रहेको प्रमाणित हुने दाबी गरे।

‘आफ्नो कुनै इतिहास र भविष्यको योजना नभएका अराजकतावादीहरू भ्रम सिर्जना गरेर आफ्नो स्वार्थ सिद्ध गर्न लागेका छन्,’ उनले भने, ‘एमालेमाथि आक्रमण हुनुको अर्थ हो, हामी ठिक ठाउँमा छौँ।’

महासचिव पोखरेलले पार्टीभित्र मौलाएको अवसरवाद र साङ्गठनिक अराजकताले गुटबन्दी बढाएको भन्दै चिन्ता व्यक्त गरे।

पार्टीलाई सुदृढ बनाउन अनुशासन अनिवार्य रहेकोमा जोड दिँदै उनले भने, ‘आलोचना कानमा खुसुक्क गर्नुपर्छ, प्रशंसा खुलेर माइकमा गर्नुपर्दछ। यो अनुशासन कायम नगर्दासम्म पार्टी बलियो हुँदैन।’

उनले सामाजिक सञ्जालमा गलत मानिसको सक्रियता बढेको उल्लेख गर्दै युवाहरूलाई सकारात्मक र प्रभावकारी भूमिका खेल्न आग्रह गरे। 

प्रकाशित: १० असार २०८२ १९:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App