१ श्रावण २०८२ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस-एमालेलाई मन परेन रास्वपाको निलो स्कार्फ

भिजिट भिसा प्रकरणको विषय उधिनेर संसद् अवरुद्ध, नाराबाजी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले बहिष्कारको तहसम्म पुगेको छ। संसद्‌मा मन्त्रालयगत विनियोजित बजेटमाथि छलफल भइरहेको छ। तर, रास्वपाले संसद् बहिष्कार गर्ने गरेको छ। आइतबार (आज) मात्रै पनि रास्वपा सांसदहरूले संसद् बहिष्कार गरेर हिँडे।

उक्त प्रकरणमा उच्चस्तरीय छानिबन समिति वा न्यायिक आयोग गठनको अड्डी कसेको रास्वपाले गत जेठ १४ गतेयता संसद् अवरुद्ध गर्दै आएको छ। सुरुमा रास्वपासँगै उभिएको प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सत्तापक्षीय दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) सँग दुईबुँदे समझदारी गरेर संसद् खुलाइसकेको छ। तर, रास्वपाले संसद् खुलाएको छैन। सत्तापक्षीय दलहरू कांग्रेस-एमालेले दलैपिच्छे सहमति गर्न नसक्ने बताउँदै संसद् माओवादी केन्द्रसँगको सहमतिका आधारमा चल्ने बताइसकेको छ।

आफूलाई रचनात्मक दाबी गर्ने रास्वपा सांसदहरूले यसबीचमा लबीमा बस्नेदेखि निलो स्कार्फ लगाएर संसद् छिर्नेसम्मका गतिविधि गरे। सत्तापक्षीय दलहरू कांग्रेस-एमालेले यी दुबै कुराको विरोध गरे। लबीमा बस्दा जुत्ता फुकालेको र निलो स्कार्फ लगाउँदा मर्यादित पोशाक नभएको भन्दै कांग्रेस-एमालेले विरोध गरे। कांग्रेस-एमाले अझ मुख्यत: निलो स्कार्फमै केन्द्रित भए।

कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे।

उनीहरूले संसद्‌मै यसको विरोध गरेका छन्। गत असार ३ गते कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले निलो स्कार्फ लगाएका रास्वपा सांसदहरूलाई निष्कासन गर्न मागसमेत गरे। नियमावलीमा मर्यादित पोशाको विषय उल्लेख भएको बताउँदै उनले भने,'यो संसद्‌मा अहिले केही माननीय सदस्यहरूले जुन स्कार्फ लगाएर आउनुभएको छ, यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन ? र यसरी भोलि कोही हाफ पाइन्ट मात्रै लगाएर आउने, भोलि कोहीचाहिँ जथाभावी ड्रेसमा आउने, जे पनि लगाएर आउने भयो भने  त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ? यस्तो किसिमको व्यवहार गर्ने माननीय सदस्यहरूलाई सभामुखले चेतावनी दिने र संसद्‌बाट निष्कासन गर्ने कारबाही पनि गर्न आवश्यक छ भन्ने कुरा म सभामुखको ध्यानाकर्षण गर्न चाहन्छु।' 

अगाडि उनले भने, 'संसद् सचिवालयको नियमावली ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्ने छन् र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्नेछ भन्ने व्यवस्था गरिएको छ। साथै बैठक कक्षबाट निष्कासनसमेत गर्न व्यवस्था ३१ मा व्यवस्था गरिएको छ। यो संसद्‌मा मर्यादित पोशाकमा आउनुपर्छ भन्ने व्यवस्था गरिएको छ। यो नियमावलीमै गरिएको व्यवस्था हो।'

एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला।

आज मात्रै एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले पनि यही आशयका साथ बोले। उनले रास्वपा सांसदहरूले संसद्‌भित्रका विषयलाई अन्तर्राष्ट्रियकरण गर्न खोजेको आरोपितसमेत गरेका छन्। ‘हामी यहाँ जे दृश्य देखिरहेका छौँ, यो गम्भीर कुरा हो। मानव तस्कर जस्तो गम्भीर नारा जे लाग्यो, यो बेठीक कुरा हो। यो बेठीक कुरा हो यहाँ नारा जुन ढङ्गबाट संसद्‌मा गुन्जियो, यो बेठीक कुरा हो। मानव तस्कर केलाई भनिन्छ। हो, त्यहाँ केही बदमासी भए होलान्। कन्ट्रीहरूले भिसा दिएपछि जाने क्रममा अद्यागमनभित्र केही ठगीहरू, केही बदमासी, मिलीभगतहरू भए होला। त्यो अर्कै पार्ट हो। त्यसलाई अन्तर्राष्ट्रियकरण गर्न जसरी निलो स्कार्फ लगाएर मानव तस्करस त्यस हिसाबको अभिव्यक्ति यहाँबाट भयो, यो कुरा राम्रो होइन,’ बर्तौलाले भनेका छन्।

उनले प्रणालीलाई सिद्ध्याउनका भरमग्दुर प्रयासहरू भइरहेको बताए। ‘यसले यो गलत सन्देश सम्प्रेषण गर्ने भरमग्दुर प्रयत्नहरू गरिएको छ। हाम्रो प्रणालीभित्र प्रवेश गरेर, हाम्रो प्रणालीलाई नै डेस्ट्रोइ गर्ने केही प्रयत्नहरू हुन खोजेकोतर्फ यसले कहीँ न कहीँ सङ्केत गर्छ भन्ने कुरा राख्न चाहन्छु,’ उनले भने।

संसद् भवनअगाडि रास्वपा सांसदहरू।

यो पनि पढ्नुहोस्

रास्वपा सांसदहरूलाई संसद्‌बाट निष्कासन गर्न कांग्रेसको माग

प्रकाशित: ८ असार २०८२ २०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App