सत्तासीन दल नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसद्मा 'मानव तस्कर' भनेर गरेको नाराबाजीप्रति आपत्ति जनाएका छन्।
आइतबार (आज) संसद्मा जारी मन्त्रालयगत छलफलमा भाग लिँदै उनले आपत्ति जनाएका हुन्। 'हामी यहाँ जे दृश्य देखिरहेका छौँ, यो गम्भीर कुरा हो। मानव तस्कर जस्तो गम्भीर नारा जे लाग्यो, यो बेठीक कुरा हो। यो बेठीक कुरा हो यहाँ नारा जुन ढङ्गबाट संसद्मा गुन्जियो, यो बेठीक कुरा हो। मानव तस्कर केलाई भनिन्छ,' उनले भने, 'हो, त्यहाँ केही बदमासी भए होलान्। कन्ट्रीहरूले भिसा दिएपछि जाने क्रममा अद्यागमनभित्र केही ठगीहरू, केही बदमासी, मिलीभगतहरू भए होला। त्यो अर्कै पार्ट हो। त्यसलाई अन्तर्राष्ट्रियकरण गर्न जसरी निलो स्कार्फ लगाएर मानव तस्कर; त्यस हिसाबको अभिव्यक्ति यहाँबाट भयो, यो कुरा राम्रो होइन।'
उनले यस्तो कार्यल गलत सन्देश प्रवाह हुने बताए। 'यसले यो गलत सन्देश सम्प्रेषण गर्ने भरमग्दुर प्रयत्नहरू गरिएको छ। हाम्रो प्रणालीभित्र प्रवेश गरेर, हाम्रो प्रणालीलाई नै डेस्ट्रोइ गर्ने केही प्रयत्नहरू हुन खोजेकोतर्फ यसले कहीँ न कहीँ सङ्केत गर्छ भन्ने कुरा राख्न चाहन्छु,' उनले भने।
बर्तौलाले सरकार भएका समझदारीका पक्षमा दृढतापूर्वक उभिने पनि बताए।
यसअघि रास्वपा सांसदहरूले निलो स्कार्फ लगाएर संसद् प्रवेश गरेका थिए। त्यसबेला प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि आपत्ति जनाएका थिए।
रास्वपाले भिजिट भिसा प्रकरणको विषय उधिनेर संसद्मा विरोध जनाउँदै आएको छ। उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठनको अडान कसेको रास्वपाले हिजोआज संसद् बहिष्कार गरेको छ।
प्रकाशित: ८ असार २०८२ १७:५१ आइतबार





