विनियोजन विधेयकमाथिको छलफलका क्रममा स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंह सभामुख देवराज घिमिरेसँग मुखमुखै लागेका छन् । मुलुककै गरिमायम पदमा रहेका सभामुख घिमिरेसँग जनप्रतिनिधि सांसद सिंहले आफूले बोलेको कुरामा नेकपा (एमाले)सहितका सांसदहरुले आपत्ति जनाएपछि जवाफ फर्काएका हुन् ।
बजेट विनियोजनका क्रममा सरकारले प्रधानमन्त्री, मन्त्री र सांसदहरुको पहुँचका आधारमा विभिन्न पाँच जिल्लामा मात्र रकम छुट्याएको र बाँकी ७२ जिल्लालाई अमेरिका, चीन, भारतसहितका देशलाई लिजमा दिन भनेपछि बैठकमा विवाद सुरु भएको थियो । सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाएका थिए । त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका थिए ।
सभामुख घिमिरेले सांसद् सिंहको भनाइलाई रेकर्डबाट हटाउन निर्देशन दिएपछि विवाद सुरु भएको थियो । सांसद सिंहले भने, 'तपाईंले दलीय हिसाबले दिएको निर्देशन हामी मान्दैनौं । बजेट निर्माणका क्रममा सबै जिल्लामा समानरुपमा बजेट विनियोजन गर्न सरकारलाई किन निर्देशन नदिएको ? सभामुख संसदको हो एमालेको हैन । तपाईंलाई सभामुख किन मान्ने ? तपाई त एमालेको कार्यकर्ता जस्तो हुनुहुन्छ । बजेट पनि नजाने बोल्न पनि नपाउने ? हामी पनि जनताबाटै चुनिएर आएको हो । तपाईंको दयामायाले म यहाँ आएको हैन ।'
बजेट विनियोजन नहुनुको कारण प्रस्तुत गर्न उनले सरकारको ध्यानाकर्षण गराए । सांसद सिंहले एमाले सांसदहरुलाई गद्दारको संज्ञा दिए । आफू मन्त्री नभएको र मन्त्री भएकाहरुले चरम भ्रष्टाचार गर्दैै २० वर्षमा देशलाई कंगाल बनाएको उनको आरोप थियो ।
सांसद् सिंहले सभामुख, सत्तापक्षका सांसदलक्षित गर्दै आपत्तिजनक अभिव्यक्ति दिन थालेपछि सभामुख घिमिरेले सचेत गराउँदै निर्धारित विषयमा नियमावलीअनुसार बोल्न रुलिङ गरे । उनले भने, 'सभामुख महोदय, चारपाँच जिल्लामा सम्पूर्ण बजेट छुट्याउने र बोल्न पनि नपाउने ? स्वतन्त्र सांसदलाई मात्र रुलिङ गर्न पाउनु हुन्न । सबै सांसदहरु समान भएकाले सबैलाई रुलिङ गर्नुपर्छ । रास्वपालाई सानो दल भएकाले दुःख दिने । स्वस्तन्त्र सांसदलाई बोल्न नदिने । यो अन्याय हामी सहदैनौं । जनताले हामीलाई हरेक असमानताविरुद्ध लड्न चुनेर पठाएका हुन् ।'
सो लगत्तै सभामुख घिमिरेले रोष्ट्रम छाडेर जान निर्देशन दिएका थिए । सोपछि पनि सांसद सिंहले आफूहरु अन्याय र ज्यादती सहनमात्र चुनिएर नआएको बताउँदै आफूलाई दिएको समय सात मिनेटसम्म नबोले पनि रोष्ट्रम छाडेर नजाने अडान लिएका थिए । सोपछि पनि उनले विभिन्न विषयमा धारणा भने राखेका थिए ।
यो पनि पढ्नुहोस्
संसद्मा ‘हंगामा’ मच्चाउनेगरी के बोलेका थिए अमरेशले ?
प्रकाशित: ८ असार २०८२ १३:११ आइतबार