कोशी प्रदेशका प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले कोशी प्रदेमा बजेट लेख्न ढङ्ग नपुगेको टिप्पणी गरेका छन् ।
आज कोशी प्रदेशसभामा सम्बोधन गर्दै नेता आङ्वोले बजेट लेख्ने क्रममा ढङ्ग नपुगेको टिप्पणी गरेका हुन् ।
कोशी प्रदेशमा वित्तीय हस्तान्तरण खर्च छुट्टै राखेका कारण पुँजीगत भन्दा चालु खर्च बढी भएको उनले बताए।
‘कम्तीमा बजेट लेख्न पनि ढङ्ग चाहिन्छ’ उनले भने ‘करिब १.८ प्रतिशत स्थानीय तहलाई वित्तीय हस्तान्तरण भएको र केही मन्त्रालयले अबण्डामा रकम नराखेको भए चालु खर्च भन्दा बढी पुँजीगत खर्च हुने थियो।’
विनियोजन दक्षता र बजेट लेख्न ढङ्ग नपुग्दा कोशी प्रदेशमा पुँजीगत भन्दा चालु खर्च बढी देखिएको उनले स्पष्ट पारे । अन्य ६ वटा प्रदेशमा आगामी आर्थिक वर्षको बजेटमा चालु भन्दा पुँजीगत खर्च बढी रहेको र कोशी प्रदेशमा मात्रै पुँजीगत भन्दा चालुतर्फ बढी बजेट विनियोजन भएको देखिएको बताए ।
उनले कोशीको बजेटमा प्राथमिकता निर्धारण नभएको र अनुत्पादक क्षेत्रमा चरम वितरणमुखी बजेट आएको भन्दै आलोचना गरे । उनले बजेटमा प्राथमिकता निर्धारण नगरिएका कारण कार्यान्वयन पछि के परिणाम आउँछ भन्ने कुरा पनि प्रष्ट नभएको उनले बताए ।
प्रकाशित: ५ असार २०८२ १६:१२ बिहीबार



-600x400.jpg)

