सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूबीच छलफल भएको छ। प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित अरु नेताहरूको उपस्थितिमा बुधबार (आज) बालुवाटारमा झन्डै चार घण्टा छलफल भएको हो।
नेताहरूबीच सरकार सञ्चालन, संसद्को गतिरोध अन्त्य, विधेयकलगायतका विषयमा छलफल भएको छ। बैठकमा सहभागी भई बाहिरिएका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने, 'दुई दलको नियमित छलफल हो। छलफलका क्रममा सरकारका काम-कारबाही र डेलिभरी कसरी प्रभावकारी बनाउने, संसद्को अवरोध खुलाएर विधेयकहरू कसरी चाँडो अघि बढाउने र बजेटलगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ।’
बैठकमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र उपसभापति खड्काका अलवा उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेल, कांग्रेस महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा र ऊर्जामन्त्री दीपक खड्का थिए।
प्रकाशित: ४ असार २०८२ २१:५१ बुधबार