३० असार २०८२ सोमबार
image/svg+xml
राजनीति

रास्वपा सांसदहरूलाई संसद्‌बाट निष्कासन गर्न कांग्रेसको माग

सत्तासीन दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई संसद्‌ कक्षबाट निष्कासन गर्न माग गरेको छ। मङ्गलबार (आज) को निलो रिबन घाँटीमा बाँधेर संसद् बैठकमा सहभागी भएका रास्वपा सांसदहरूलाई 'मर्यादित पोशाक'को व्यवस्थाअनुरूप निष्कासन गर्न कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गर्न माग गरे। 

'यो संसद्‌मा अहिले केही माननीय सदस्यहरूले जुन स्कार्फ लगाएर आउनुभएको छ, यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन ? र यसरी भोलि कोही हाफ पाइन्ट मात्रै लगाएर आउने, भोलि कोहीचाहिँ जथाभावी ड्रेसमा आउने, जे पनि लगाएर आउने भयो भने  त्यसलाई संसद्को मर्यादाभित्र राख्ने कि नराख्ने ? यस्तो किसिमको व्यवहार गर्ने माननीय सदस्यहरूलाई सभामुखले चेतावनी दिने र संसद्‌बाट निष्कासन गर्ने कारबाही पनि गर्न आवश्यक छ भन्ने कुरा म सभामुखको ध्यानाकर्षण गर्न चाहन्छु,' उनले भने। 

अगाडि उनले भने, 'संसद् सचिवालयको नियमावली ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्ने छन् र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्नेछ भन्ने व्यवस्था गरिएको छ। साथै बैठक कक्षबाट निष्कासनसमेत गर्न व्यवस्था ३१ मा व्यवस्था गरिएको छ। यो संसद्‌मा मर्यादित पोशाकमा आउनुपर्छ भन्ने व्यवस्था गरिएको छ। यो नियमावलीमै गरिएको व्यवस्था हो।'

रास्वपा सांसदहरूले 'निलो रिबन'ले विश्वव्यापी रूपमा नै मानव तस्करी र मानव बेचबिखनविरुद्धको आवाजको प्रतिनिधित्व गर्ने भन्दै आजको संसद् बैठकमा निलो रिबन बाँधेर सहभगाी भएका थिए।

प्रकाशित: ३ असार २०८२ १५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App