१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

एमालेका युवा नेताको टिप्पणी: संसदभित्रको आन्दोलनले माओवादी र रास्वपालाई धुलिसात बनायो

नेकपा (एमाले)का दुई युवा नेताहरूले नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका गतिविधिप्रति कडा कटाक्ष गरेका छन्। उनीहरूले संसदमा सत्तापक्षसँग गरेको माओवादीको दुई बुँदे सहमति र रास्वपाको पलेटी आन्दोलनले दुवैलाई धुलिसात बनाएको बताएका छन्।  

पार्टी पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य थापा र केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जालमा लेख्दै माओवादीको लोकप्रियता संसदमा गरेको दुई बुँदे सहमतिले उदाँगो पारेको बताएका छन्। पोलिटब्यूरो सदस्य थापाले दुई बुँदे सहमतिले माओवादीको लोकप्रियताको प्वाँख काटिएको टिप्पणी गरेका छन् भने केन्द्रीय सदस्य रिजालले दुई बुँदे सहमतिको टालोले माओवादीले मुख छोपेको उल्लेख गरेका छन्।  

थापाले माओवादीका अध्यक्ष दाहाल माओवादीले आफैँलाई हेर्दै दंग पर्ने गरेको ऐना हेरेर हाँस्न र रुन नमिल्ने गरी झर्यामझुरुम भएको बताएका छन्। ‘म त असाध्यै लोकप्रिय भएको छु भन्दै हुलाकी र मध्यपहाडी लोकमार्ग घुमफिर गर्दा गरेको दुःख पनि धुलिसातै भयो,’ थापाले दाहालप्ररति व्यंग्य गर्दै लेखेका छन्, ‘आफैँलाई हेर्दै मुस्कुराउँदै दंग पर्दै गरेको ऐना पनि झर्यामझुरुम भयो फेरि हेरेर हाँस्न र रुन नमिल्ने गरी। माओवादी केन्द्रकै नेता कार्यकर्ताले आजकल नेतृत्वको श्रद्धा होइन, श्राद्ध पो गरिरहेका छन्।’

उनले दाहालले ०८४ को आमनिर्वाचनमा बहुमत आउँछ भनेर गरेको दाबीको पनि उल्टो हिसाब दिएका छन्। ‘२७५ को बहुमत १३८ होइन, ३२ को बहुमत १७ सम्म, १७ को बहुमत ९ त आउला कामना गरौं,' थापाले लेखेका छन्।

राजनीतिक पार्टीको गलत माग र जबरजस्ती गर्दाको परिणामको उदाहरण माओवादी भएको उल्लेख गर्दै थापाले गलत मागलाई अझ अघि बढाए रास्वपा जस्तो हुने चेतावनी पनि दिएका छन्। रास्वपा सांसदहरूले संसद् बैठकमा पलेटी कसेर बसेकोप्रति टिप्पणी गर्दै थापा लेख्छन्, ‘एक दिन पनि उभिएर नारा लगाउन नसकी थचक्क बस्नुपर्ने र भुइँमा निदाउनु पर्ने बोइलर बोइलरहरूले के तमासा गर्नु बजेट छलफललाई अवरोध गरेर।’

थापाले हिजोको संसद बैठकमा पलेटी कसेर बसेका रास्वपा सांसदहरूलाई लक्षित गरेर आफूले रत्नपार्क कि सहिद गेट हो भनेर प्रश्न गरेको स्मरण गराउँदै लेखेका छन्, ‘त्यसै रत्नपार्क, कलंकी र पोखराको चिप्लेढुंगामा नाराजुलुस गरेजस्तो नगरी कुर्सीमा बस्नुस भनिएको होइन नि।’

यता केन्द्रीय सदस्य रिजालले दुई बुँदे सहमतिका कारण माओवादी बाहिर मात्र हैन आफैँभित्र पनि तीव्र रूपमा आलोचित भइरहेको उल्लेख गरेका छन्। गृहमन्त्रीको राजीनामाको मागका कारण रास्वपा झन् ठुलो संकटमा फसेको बताएका छन्। ‘रविजी जेलमा हुनुहुन्छ र उहाँलाई संसद् चल्नु र नचल्नुसँग मतलव छैन। संसदमा रास्वपा नेतृत्वविहीन छ र गृहमन्त्रीको राजीनामा मागमा नराम्ररी फसेको छ,’ रिजालले लेखेका छन्, ‘रास्वपाले जति अवरोध गर्छ, त्यति अप्ठेरोमा पर्छ। जब पछि हट्छ, त्यसपछि माओवादीको भन्दा बढी आलोचना हुन्छ।’

रिजालले रास्वपाको संसदभित्रको जति आन्दोलन अघि बढ्छ उति माओवादीभन्दा बढी आलोचना हुने बताउँदै रास्वपालाई यो आन्दोलन ‘खाउँ भने दिनभरिको शिकार, नखाउँ भने...’ जस्तो भएको उल्लेख गरेका छन्।

प्रकाशित: ३ असार २०८२ १२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App