१८ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

बजेटमा मन्त्री र नेताको रजगज, समर्थन गर्न सकिँदैन, यो ‘ब्रम्हलुट’ हो: प्रकाश ज्वाला

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेटमाथि प्रश्न उठाउँदै यसलाई ‘ब्रम्हलुट’ को संज्ञा दिएका छन्।

सोमबार संसदमा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले बजेट मन्त्री र नेतामुखी भएको र यसले दलाल पुँजीवादलाई मात्रै पोस्ने आरोप लगाए।

सांसद ज्वालाले मन्त्री र नेताहरूले बजेटमा एकलौटी कब्जा गरेको दाबी गरे। उनले भने, ‘यो बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको जस्तो देखिन्छ। मन्त्री र नेताका बुवाआमाका नाममा, पार्टी कार्यालय बनाउन अर्बौं बजेट बाँडिएको छ।’

उनले बजेट केही निश्चित जिल्लाहरूमा मात्र केन्द्रित भएको भन्दै आक्रोश व्यक्त गरे। ‘के देश कुनै निश्चित जिल्ला झापा, रुपन्देही, काठमाडौंको मात्रै हो ?’ उनले प्रश्न गरे, ‘बजेट दुरुपयोगको योभन्दा नाङ्गो नमुना अरू के हुन सक्छ ?’

ज्वालाले बजेटले दलाल, बिचौलिया र मन्त्रीका आसेपासेलाई मात्र फाइदा पुर्‍याउने तर दुर्गम जिल्लाका स्वास्थ्य चौकी र खानेपानी जस्ता आधारभूत आवश्यकतालाई बेवास्ता गरेको बताए।

आफ्नो मन्तव्यमा उनले बजेटले समाजवादको दर्शन र बाटो बिर्सिएको टिप्पणी गरे। ‘यो बजेट संविधानले लिएको मूल लक्ष्यबाट पनि विचलित छ,’ उनले भने, ‘बजेटले जनतालाई आशा, भरोसा र समृद्धिको मार्गचित्र दिन सकेन। यो बिचौलिया र व्यापारी खुसी हुने, तर जनता दुःखी हुने खालको छ।’

उनले युवाहरूलाई उद्यमशील बनाउने र रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउनुको सट्टा सरकारले युवा लक्षित स्टार्टअप कार्यक्रमको बजेट घटाएकोमा पनि आपत्ति जनाए।

ज्वालाले भने, ‘यो बजेट जनविरोधी र मन्त्रीमुखी छ। यसमा हाम्रो घोर आपत्ति छ, विरोध छ। यस्तो बजेटलाई समर्थन गर्न सकिँदैन।’

प्रकाशित: २ असार २०८२ १६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App