१३ माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

छानबिनको साटो धम्की आयो, विगतका सबै गृहमन्त्रीमाथि अनुसन्धान होस्: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भिजिट भिसा प्रकरणमा सरकारले छानबिन समिति बनाउनुको साटो उल्टै धम्की दिएको आरोप लगाएका छन्।

उनले यो प्रकरण मानव बेचबिखन जस्तो जघन्य अपराध भएको भन्दै वर्तमान मात्र नभई विगतका सबै गृहमन्त्रीहरूलाई छानबिनको दायरामा ल्याउनुपर्ने माग गरेका छन्।

‘गृहमन्त्रीले सदनमा छानबिन समिति बनाउने प्रतिबद्धता जनाउने आशा निराशामा परिणत भयो,’ शाहीले भने, ‘समिति बनाउनु त कता हो कता, उल्टै धम्कीपूर्ण भाषामा प्रस्तुत हुनुभयो।’

शाहीले भिजिट भिसाको आडमा भइरहेको मानव बेचबिखन ८-९ वर्षदेखि निरन्तर चलिरहेको संगठित अपराध भएको दाबी गरे। ‘अहिले त सफ्टवेयर बनाएरै भागबण्डा गरिने गरेको सूचना आएको छ,’ उनले भने, ‘यो जघन्य अपराधविरुद्ध राप्रपा निरन्तर लडिरहनेछ र छानबिन समिति नबनेसम्म हाम्रो विरोध जारी रहन्छ।’

उनले सत्ता साझेदार दलहरूलाई ‘छेपारोको जस्तो रङ फेर्ने’ प्रवृत्तिको संज्ञा दिँदै उनीहरूसँग सहकार्य नगर्ने स्पष्ट पारे।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै उनले भने, ‘प्रचण्डजीको भर गरेर जानुभयो भने तपाईं धोका पाउनुहुन्छ भनेर हामीले पहिले नै भनेका थियौं। आज प्रचण्डलाई साथ लिँदा तपाईंहरू बीच बाटोमा अलपत्र पर्नुभएको छ, बेलैमा सुध्रिनुस्।’

राप्रपा एक्लै भए पनि यो मुद्दामा निरन्तर लड्ने उद्घोष गर्दै शाहीले भने, ‘हामी एक्लै छौं, तर निरन्तर लडिरहन्छौं। संसदमा संख्याले होइन, एजेन्डाले महत्त्व राख्छ।’

प्रकाशित: १ असार २०८२ १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App