१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

दलहरू मतदाताको दैलोमा, पूर्वराजा मन्दिर दर्शनमा

फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनका लागि दलहरू मतदाताको दैलोमा मत माग्न व्यस्त रहँदा पूर्वराजा ज्ञानेन्द्र शाहले मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित जानकी मन्दिर पुगेर दर्शन गरेका छन्।

परिवारसहित आइतबार जनकपुरधाम आइपुगेका पूर्वराजा शाह मिथिला यात्री निवासमा बास बसेर सोमबार दिउँसो जानकी मन्दिरमा पूजापाठ गरेका हुन्। पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो यात्रा विशुद्ध धार्मिक दर्शनमा केन्द्रित रहेको बताएका छन्। मन्दिर ध्यान गर्ने स्थान हो भन्दै उनी पत्रकारहरूको जिज्ञासामा थप केही नबोली समर्थकहरूको सद्भाव गर्नतिर व्यस्त भएका थिए। उनी पारिवारसहित दिउँसो ३ बजे जानकी मन्दिर दर्शनका लागि पुग्दा समर्थकहरूको ठुलो भिड लागेको थियो।

मन्दिर प्रांगणमा समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘राजा आऊ देश बचाऊ’, ‘राजा हाम्रो साझा’ सहितका नारा लगाउँदै जयजकार गरेका थिए। जानकी मन्दिरबाट पैदल करिब दुई सय मिटरको दूरीमा रहेको राम मन्दिर र राजदेवी मन्दिरसमेत पुगेका पूर्वराजाको आगमनमा स्वागतका लागि बिहानैदेखि समर्थकहरू तयारीमा जुटेका थिए। पूर्वराजा शाहसहितका सदस्यलाई जानकी मन्दिरमा महन्थ र साधुसन्ध तथा राममन्दिरमा युवा कमिटिका युवाहरूले स्वागत गरेका थिए।

परिवारसहित जनकपुरधाम आएका पूर्वराजा शाहले जानकी मन्दिरसहित विभिन्न मठमन्दिरमा पूजापाठ गरेका छन्। पूजा सम्पन्न गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘यो नितान्त धार्मिक यात्रा हो, अरु केही होइन।’ यात्राका क्रममा हिन्दुवादी संघ–संगठन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताहरूको ठुलो भिड थियो। पूर्वराजाको उज्यालो अनुहार समर्थकहरुको सद्भाव ग्रहण गर्न व्यस्त थियो। उनी कतैकतै रोकिएर मुस्कुराउँदै केही समर्थकहरूको कुरा सुनेका थिए।

यसअघि माघ ४ गते पूर्वयुवराज पारस शाह पनि जनकपुरधाम आएर मिथिला यात्री निवासमै बास बसेका थिए। त्यो दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र साह पनि सोही होटलमा आई बास बसेका थिए। आसन्न निर्वाचनको संघारमा पूर्वराजा, पूर्वयुवराज र राजपरिवारको जनकपुरधाम केन्द्रित सघन आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित: १३ माघ २०८२ ०८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App