अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियामाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएका छन्। ट्रम्पका अनुसार दक्षिण कोरियाको राष्ट्रिय सभाले अमेरिकी सरकारसँग भएको व्यापार सम्झौतालाई स्वीकृति दिएको छैन। उनले दक्षिण कोरियाको संसदले अमेरिका–दक्षिण कोरिया सम्झौताअनुसार काम नगरेको आरोप लगाए।
मंगलबार सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ’ मा लेख्दै ट्रम्पले भने, ‘म दक्षिण कोरियाबाट आयात हुने अटोमोबाइल, काठ, औषधि (फार्मा) तथा अन्य सबै सामानमा लगाइने ट्यारिफ १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत गर्दैछु।’
ट्रम्पका अनुसार दक्षिण कोरियाका राष्ट्रपति ली जे म्याङ र उनले ३० जुलाई २०२५ मा दुवै देशका लागि महत्वपूर्ण व्यापार सम्झौतामा सहमति जनाएका थिए। उनले २९ अक्टोबर २०२५ मा कोरियामा रहँदा उक्त सम्झौता पुनः दोहोर्याएका थिए।
‘कोरियाली संसदले यो सम्झौता किन स्वीकृत गरेन?’ ट्रम्पले प्रश्न गर्दै भने, ‘उनीहरूले हाम्रो ऐतिहासिक व्यापार सम्झौता कार्यान्वयन गरेका छैनन्, जुन उनीहरूको जिम्मेवारी हो।’उक्त सम्झौताअनुसार दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब डलर लगानी गर्ने दाबी ट्रम्पले गरेका थिए, जसको नियन्त्रण अमेरिकाकै हातमा रहने बताइएको थियो। एजेन्सी
प्रकाशित: १३ माघ २०८२ ०८:४० मंगलबार





