१६ चैत्र २०८० शुक्रबार
राजनीति

मार्क्सवादको नेपाल साइनो

काठमाडौ - कार्ल मार्क्स  र फ्रेडरिक एंगेल्सको ‘कम्युनिस्ट घोषणापत्र’ (सन् १८४८) प्रकाशित हुँदा नेपालमा जंगबहादुर राणाले कोतपर्व गराएर सत्ता हत्याएको दुई वर्ष पनि पुगेको थिएन ।
नेपाली इतिहासको कालरात्रीका रुपमा चित्रित कोतपर्वपछि जहानियाँ राणा शासनले जग हाल्दै गर्दा युरोपमा भने मार्क्सवादी र गैरमार्क्सवादीबीच बहस सुरु भइसकेको थियो।

नेपालमा सन् १८४६ को सेप्टेम्बरमा कोतपर्व भएको थियो।युरोपमा पुनर्जागरणको कालखण्डको उपजका रुपमा उदाएको माक्र्सवादले अहिले पनि संसारभर बहसको कित्ताकाट गर्दै आएको छ । तत्कालीन सोभियत संघको पतनपछि धक्का खाएको भनिए पनि अझै पनि संसारमा माक्र्सवादी सिद्धान्तलाई मार्गनिर्देशक मान्ने करोडौं मानिस छन् । जसलाई माक्र्सवादी विचारलाई प्रभावित गर्दै आएको छ ।

तत्कालीन पूर्वी र पश्चिमी जर्मनीबीचको बर्लिन पर्खाल ढलेपछि समाप्त भएको भनिएको माक्र्सवाद पश्चिमा राष्ट्रमा देखिएको आर्थिक मन्दीपछि अहिले पुनः चर्चामा छ । जर्मनीमा जन्मिएका मार्क्स दार्शनिक, अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तकार, समाजशास्त्री, पत्रकारमात्रै नभएर एक समाजवादी क्रान्तिकारी पनि थिए ।

सम्पन्न परिवारमा सन् १८१८ मे ५ मा जन्मिएका माक्र्सलाई उनको विचारका कारण जर्मन सरकारले त्यहाँ टिक्न दिएन । मार्क्सले निर्वासित जीवन फ्रान्स, बेल्जियम र बेलायतमा बिताएका थिए । तिनै देशमा बसेर उनले आफ्नो विचारलाई फैलाएका थिए ।
निर्वासनमा बिताएका माक्र्स र एंगेल्सले एकपछि अर्को गर्दै आफ्नो राजनीतिक दर्शनमा सैद्धान्तिक धारा प्रष्ट पारेका थिए । उनीहरु वैचारिक मात्रै नभएर आफूले कल्पना गरेको साम्यवादी व्यवस्था स्थापनाका लागि दुवै लागेका थिए।

माक्र्सको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद दर्शन विगतमात्रै होइन वर्तमानको व्याख्यामा पनि प्रयोग हुन्छ । अमेरिकी टाइम म्यागेजिनले ‘२० आै शताब्दी व्यक्ति’ का रुपमा माक्र्सलाई मानेको छ । माक्र्स फ्रान्समा निर्वासित भएका बेला स्थापना भएको पेरिस कम्युन असफल भए पनि उनी जन्मेको एक सय वर्ष हुँदा सन् १९१७ सोभियत संघमा बोल्सेभिक क्रान्ति भयो ।
एक शताब्दीअघि भएको रुसको सो क्रान्तिले बोल्सेभिकहरुलाई सत्तामा पुर्‍यायो । जसको प्रभाव विश्वभर पर्‍यो । बोल्सेभिक क्रान्ति मार्क्स विचारधारामा आधारित थियो । त्यो क्रान्तिको नेतृत्व लेनिनले गरेका थिए ।

पहिलो विश्व युद्धपछि युरोपमा माक्र्सवादी विचारधाराले राप र ताप जगाए पनि नेपालमा भने कम्युनिस्ट पार्टीको स्थापना हुन थप समय लाग्यो । राणा शासनविरुद्ध सशक्त जनमत बनिरहेका बेला सन् १९४९ अप्र्रिल २२ मा आएर मात्र पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो, त्यो पनि भारतको कोलकातामा ।

पहिलो विश्वयुद्धको राप र तापमा युरोप परेका बेला रुसमा भएको बोल्सेभिक क्रान्तिले त्यहाँ साम्यवादी सरकार स्थापना गर्‍यो । बोल्सेभिक क्रान्ति हुँदा पहिलो विश्वयुद्ध सकिएको थियो । जुन क्रान्तिबाट विश्व नै प्रभावित भयो । ‘१९ औं शताब्दी माक्र्सवाद–वैज्ञानिक समाजवादको जन्म र विकासको समय थियो । २०औं शताब्दीमा क्रान्तिको केन्द्र–मार्क्सवादको अभ्यासको केन्द्र सोभियत समाजवाद थियो । त्यसको सफलता र असफलता पनि सोभियत समाजवादकै वरिपरि नै रह्यो’, एमाले उपमहासचिव घनश्याम भुसालको विश्लेषण छ ।

त्यसबेला सोभियत संघमा साम्यवादी शासन व्यवस्था स्थापनाले संसारको राजनीतिक–बौद्धिक तस्बिर नै बदलिएको भुसालको बुझाइ छ । भुसालका अनुसार १९ औं शताब्दीमा जन्मेर हुर्केको माक्र्सवादको अभ्यासमा २०औं शताब्दीका निकै नै भयो । २० औ शताब्दीमा यसले आफ्नो पतन पनि देख्नुप¥यो । कुनै समयमा विश्वको करिब एकतिहाइ भूभागमा स्थापित साम्यवादी व्यवस्था तत्कालीन सोभियत संघका पतनसँगै छिन्नभिन्न बन्न पुग्यो।

‘एसियाका चीनलगायत पूर्वका सामन्ती–अर्धसामन्ती मुलुकमा पुगेको माक्र्सवाद किसान मुक्तिको सिद्धान्त बन्यो, अफ्रिकी–ल्याटिन अमेरिकी उपनिवेशहरुमा राष्ट्रिय मुक्तिको दुर्दमनीय ऊर्जा बन्यो, पुँजीवादी पश्चिमी मुलुकहरुमा त्यो श्रमजीवी वर्गको मुक्तिको विपना बन्यो’ भुसालको ठम्याइ छ ।

पहिलो विश्व युद्धपछि युरोपमा माक्र्सवादी विचारधाराले राप र ताप जगाए पनि नेपालमा भने कम्युनिस्ट पार्टीको स्थापना हुन थप समय लाग्यो । राणा शासनविरुद्ध सशक्त जनमत बनिरहेका बेला सन् १९४९ अप्र्रिल २२ मा आएर मात्र पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो, त्यो पनि भारतको कोलकातामा ।

त्यतिबेला चीनमा माओत्सेतुङको नेतृत्वमा कम्युनिस्ट शासन स्थापनाका लागि क्रान्ति भइरहेको थियो । जुन क्रान्तिले १९४९ अक्टोबर १ मा चीनमा कम्युनिस्ट शासन स्थापना गर्‍यो । चीनमा भन्दाअघि मंगोलिया, पूर्वी युरोपेली देशहरुमा कम्युनिस्ट शासन स्थापना भएको थियो ।

भुसालका अनुसार रुस, चीन र ल्याटिन अमेरिकी देशमा फरकफरक परिस्थितिमा क्रान्तिको आधार माक्र्सवाद बनेको थियो । त्यसबेला तत्कालीन सोभियत संघ साम्यवादी शासन व्यवस्थाको केन्द्रका रुपमा रह्यो । सन् १९८९ मा बर्लिनको पर्खाल ढलेसँगसँगै युरोपका एकपछि अर्को देशमा कम्युनिस्ट शासन पनि ढल्न थाल्यो ।नेपालमा मार्क्सवाद बारे अध्ययन, अध्यापन र अभ्यास गर्दै आएकाहरुले आज पनि मार्क्सवाद उत्तिकै सान्दर्भिक रहेको बताउँछन्।

त्रिभूवन विश्व विद्मालयमा दर्शनशास्त्र अध्यापन गराउँदै आएका डा. खगेन्द्र प्रसाईं तत्कालीन सोभियत संघ वा अन्य देशहरुमा साम्यवादी शासन अभ्यासका क्रममा भएका असफलतासँग जोडेर मार्क्सवाद नै असफल भयो भनेर भन्न नहुने बताउँछन् । ‘सोभियत संघको पतनसँगै जोडेर मार्क्सवादलाई हेरिनु हुन्न । जस्तो चिकित्सकको गलत अभ्यासका कारण बिरामी मर्‍यो भने मेडिकल साइन्सकै सान्दर्भिकता सकियो भन्न सकिँदैन ।

समाजशास्त्रका प्राध्यापक चैतन्य मिश्र माक्र्सवादको नभई लेनिनवाद र माओवाद औचित्यमात्रै समाप्त भएको बताउँछन्।

‘मार्क्स र एंगेल्सले भनेको एउटा मार्क्सवाद  हो । सोभियत संघका लेनिन र स्टालिनले बनाएको अर्को माक्र्सवाद हो । चिनियाँले बनाएको अर्को मार्क्सवाद हो । विभिन्न मुलुकमा तत्कालीन परिस्थितिअनुसार मार्क्सवाद लाई व्याख्या गर्दै लगियो । नेपालमा पनि त्यसै प्रकारले भयो’, मिश्रले भने, ‘लेनिनवाद र माओवादको औचित्य समाप्त भएको छ । त्यो दोहोर्याउनु गलत हुन्छ।’

सोभियत संघलगायत विश्वका विभिन्न मुलुकमा साम्यवादी व्यवस्था पतन भए पनि नेपालमा भने मार्क्सवादी दर्शन झनै मजुबत भएको देखिन्छ । संसद्मा पहिलो र दोस्रो दलका रुपमा रहेका एमाले र माओवादी केन्द्र एकीकरणको चरणमा छन् । दुवै दलले एकीकरणका लागि माक्र्सवाद र लेनिनवादलाई मुख्य आधार बनाएका छन् । यी दुई दलको गठबन्धनले सदनमा करिब दुईतिहाइ स्थान सिट जितेर सरकार बनाएको छ । यसअघि २०५१ सालमा नेपालमा कम्युनिस्ट नेताको नेतृत्वमा अल्पमतको सरकार बनेको थियो ।

प्रकाशित: २२ वैशाख २०७५ ००:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App