पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी प्रदर्शनपछि देश नछोडेकोबारे थप स्पष्ट पारेका छन्। श्रीलंका र बंगलादेशजस्ता देशमा सत्ता विरोधी हिंसात्मक प्रदर्शन हुँदा त्यहाँका तत्कालीन सरकार प्रमुखले देश छोडे पनि किन नछोडेको भनेर सोधिएको प्रश्नमा उनले देश र जनतामाथि विश्वास भएकाले त्यस्तो नगरेको तर्क गरेका हुन्।
सोमबार रुसी टेलिभिजन आरटी इन्डियासँग कुरा गर्दै ओलीले भने, ‘म मेरो राष्ट्र, जनता र मानव जातिको विरुद्धमा केही काम गर्दिनँ। यी तीन आधारभूत कुराहरू हुन् जससँग म सधैं इमानदार छु। देश छोडेर बाहिर उड्नुको कुनै कारण छैन। म कहिल्यै देश छोड्दिनँ। म मेरा मानिसहरूलाई विश्वास गर्छु। हो, अवश्य पनि केही खराब तत्वहरू पनि छन्, जसले सेप्टेम्बर ८ र ९ मा देश जलाए, त्यसैले त्यो दिन मैले मेरो निवास छोडे र मैले मेरो घर अर्को ठाउँमा बस्न सरेँ।’
आफूले सरकारलाई हस्तान्तरण गरिसकेको निजी निवास जलाएको घटनालाई लिएर उनले आश्चर्य प्रकट गरेका छन्। उनले धेरै उपहार, कलाकृति, लेखनसहित धेरै पुस्तकालय जलाइएकोमा दुःख व्यक्त गरे। सो अवसरमा उनले उक्त प्रदर्शनमा आफ्नो निवास मात्र नभई देशभर सरकारी र निजी सम्पत्तिमाथि आगलागी लगाएको घटनालाई लिएर प्रश्न पनि गरेका छन्।
उनले भने, ‘अरु कसैको उक्साहटले म कसरी अरुको घर जलाउन सक्छु? अरुको सम्पत्ति सरकारी सम्पत्ति सार्वजनिक सम्पत्ति उद्यम व्यापार घर डिपार्टमेन्टल स्टोर कसरी लुट्न सक्छु? अरुको सम्पत्ति लुट्न सक्छु? यो हाम्रो संस्कृति होइन, हाम्रो सामाजिक मूल्य होइन हामी यस्ता कुराहरूको कल्पना पनि गर्न सक्दैनौं।’
उनले जेनजी प्रदर्शनलाई षड्यन्त्र भन्दै लोकतन्त्रविरुद्धको आक्रमण भनेका छन्। उनका अनुसार जेनजी प्रदर्शनको उद्देश्य देशलाई कमजोर पार्नका लागि भएको थियो। संविधान बदल्न र लोकतन्त्रलाई ध्वस्त पारेर देशलाई फेरि गरिबीतिर धकेल्न त्यो आक्रमण गरिएको उनको बुझाइ छ। सो अवसरमा उनले आगामी फागुन २१ मा तोकिएको निर्वाचनका लागि उपयुक्त वातावरण नबनेको तर्क पनि गरेका थिए।
प्रकाशित: २ माघ २०८२ १२:१९ शुक्रबार





