राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक प्रवक्ता तथा सांसद मनीष झाले पार्टी सरकारमा गएको विषयमा पश्चात्ताप व्यक्त गरेका छन्। ‘नागरिक फ्रन्टलाइन’ का लागि बुधबार नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्।
पहिलो पटकको संसदीय यात्रामै पार्टी सरकारमा सहभागी हुँदा त्यति राम्रो सन्देश नगएको उनले बताए। ‘पहिलो पटकको ३४ दिनको जुन समय थियो, गृह मन्त्रालयको। त्यसका बारेमा खास पश्चात्ताप छैन। त्यसका बारेमा त काठमाडौंका धेरै फोरमहरूमा अहिले पनि चर्चा हुन्छ तर दोस्रो पटक सरकारमा जाँदाचाहिँ अलिक धेरै विचार गर्नुपर्थ्याे कि,’ उनले भने।
उनले सरकारमा जान २०८४ नै कुरेको भए राम्रो हुने रहेछ भन्ने महसुस पछि भएको पनि बताए।
पछिल्लो संसदीय निर्वाचनबाट चौथो ठुलो दलका रूपमा उदाएको रास्वपा पहिलो पटक सरकारमा चार मन्त्रालय लिएर सहभागी भएको थियो। सरकारबाट चाँडै बाहिरिएको रास्वपा पुनः दोस्रो पटक पनि सहभागी भयो। दोस्रोपटक त उसले गृह मन्त्रालय नपाए सरकारमै सहभागी नहुने सर्त समेत राखेको थियो।
झाले आफूहरूको माग पूरा नभएसम्म सदन नखुल्ने पनि बताए। ‘सदन अवरुद्ध त्यो बेलासम्म लम्बिन्छ, जति बेलासम्म मागहरू पूरा हुँदैनन्,’ उनले भने, ‘गृहमन्त्रीको राजीनामाको विषय फेरिएला तर समिति बन्ने कुराबाट हामी ब्याक हुँदैनौं।’
उनले अगाडि भने, ‘मैले आज नेपाली कांग्रेसका एकजना नेतालाई भनें कि तपाईंहरूले तीनवटै माग छाड् भन्नुहुन्छ भने एउटा सर्तमा छाड्छौं। तपाईंहरूले गृहमन्त्रीको राजीनामा पनि आउँदैन, समिति पनि बन्दैन र प्रधानमन्त्री आएर जवाफ पनि दिनुहुन्न भन्नुहुन्छ भने र देश यसरी नै चल्छ, यसैगरी लुट्न पाउनुपर्छ भनेर लिखित रूपमा दिन सक्नुहुन्छ भने हामी सबै माग छाड्छौं।’
रास्वपासहितका दलहरूले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने र भिजिट भिसा दुरूपयोगमा छानबिन समिति बन्नुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएका छन्।
झाले रवि लामिछानेबिनाको रास्वपाको परिकल्पना नगरिएको पनि बताए। ‘हामीले रवि लामिछानेबिनाको रास्वपाको परिकल्पना गरेका छैनौं। त्यसैले कानुनी प्रक्रियाहरूको फेस गर्दै प्रकियागत रूपमा अगाडि बढिरहेका छौं,’ झाले भने।
सभापतिका हैसियतले लामिछाने पार्टीमा सक्रिय हुन नपाएका कारण दलका गतिविधि राम्रोसँग अगाडि बढाउने नसकिएको उनले बताए । लामिछाने रास्वपाका संस्थापक अध्यक्ष हुन्। सहकारी ठगी प्रकरणमा मुछिएका उनी भैरहवा जेलमा छन्।
प्रकाशित: २९ जेष्ठ २०८२ ०९:१५ बिहीबार





