५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

ठुलाठुला आश्वासन बाँडेर मतदाता रिझाउन कसरत

निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरूले मतदाता रिझाउन ठुलाठुला आश्वासन दिन थालेका छन्। रौतहटमा पुराना दलका नेताहरूले ठुलाठुला आश्वासनमा नयाँ मतदाता रिझाउन कसरत गरिरहेका छन्।

सडक र बिजुलीका साथै शिक्षा र स्वास्थ्यका नारा पुराना भइसके। स्थानीय सरकारले जताततै ढलान सडक निकालेको तथा प्रदेश र संघ सरकारले सडक र बिजुलीमा पर्याप्त लगानी गरेसँगै मतदाता रिझाउन उम्मेदवारहरूले ठुलाठुला आश्वासन दिन थालेका हुन्। उनीहरूले केही नयाँ आश्वासन लिएर आएका छन्। विगतको तुलनामा अहिले रौतहटमा नयाँ मतदाता बढिरहेका छन्। पुराना दलहरूले दिने आश्वासनभन्दा नयाँ मतदाताले नयाँ सपना खोजिरहेका छन्।

रौतहट क्षेत्र नं १ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुलहरू निर्माण गरेको तथा राइस मिलको जमिन अधिग्रहणको निर्णय गरिसकेको अवस्थामा जनताको चाहनाअनुसार विकास र निर्माणका योजना अगाडि बढाउने आश्वासन दिइरहेका छन्।

नेता नेपालले कुनै ठोस योजनाको प्रतिबद्धता गर्नुभन्दा विगतमा जस्तै जनताका चाहना अनुसार जस्तोसुकै योजना पनि निर्माण गर्ने बताइरहेका छन्। अन्य उम्मेदवारले भने सडक, बिजुली, शिक्षा र स्वास्थ्य पूर्वाधारका आश्वासन दिइरहेका छन्।

क्षेत्र नं २ मा पुरानै प्रतिस्पर्धा र पुरानै आश्वासन रहेका छन्। क्षेत्र नं २ मा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीबिच नै मुख्य प्रतिस्पर्धा रहेको र दुवै उम्मेदवार मतदातामा परिचित रहेकाले खासै कुनै ठोस प्रतिबद्धता व्यक्त गरिरहेका छैनन्।

रौतहट क्षेत्र नं ३ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेकी पुनम यादवले निर्वाचित भएसँगै मेडिकल कलेज र क्यान्सर अस्पताल निर्माण प्रक्रिया अगाडि बढाउने आश्वासन दिएकी छन्। उम्मेदवार यादवको पहुँच धेरै ठुलो रहेका कारण निर्वाचित भए वाचा पूरा गर्नेमा विश्वास लागेको स्थानीय मतदाताको भनाइ छ।

कांग्रेसका रामकृपाल यादव, नेकपा एमालेका कुन्दन कुशवाहा तथा रास्वपाका धिरज पटेलले पुरानै किसिमले विकास र सुशासनको नारा दिइरहेका छन्। चार पटक चुनाव जितिसकेका प्रभु साहले भने अहिलेसम्म घरदैलो अभियान सुरु गरेका छैनन्। आम जनता पार्टीका साह देशका विभिन्न भागमा आफ्नो पार्टीको पक्षमा चुनावी माहोल बनाउन लागिपरेका छन्।

यसैगरी रौतहट क्षेत्र नं ४ मा आम जनता पार्टीबाट नयाँ उम्मेदवार बनेका पत्रकार ऋषि धमलाले पनि आफू निर्वाचित भएपछि रौतहटको चन्द्रपुरमा मेडिकल कलेज खोल्ने आश्वासन बाँडेका छन्।

रौतहटको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन ल्याउन मरिहत्ते गर्ने बताउँदै रौतहटको समग्र गरिबी निवारणका लागि अहोरात्र काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

पत्रकार धमलाले सबैभन्दा ठुलो आश्वासन भने मेडिकल कलेज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मौलापुरमा देखिएको विकासको मोडेल कम्तीमा क्षेत्रभर लागु गर्ने आश्वासन पनि पत्रकार धमलाले बाँडेका छन्। उनी नयाँ उम्मेदवार भए पनि पुराना मुद्दामा केन्द्रित छन्।

क्षेत्र नं ४ मा नै नेकपा एमालेबाट उम्मेदवार बनेका रामजी साहले गरुडामा आधा दशकदेखि बन्द रहेको चिनी मिल सञ्चालनमा ल्याउने र रोजगारीका क्षेत्रमा प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कांग्रेसका देवप्रसाद तिमल्सिना, नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराई, रास्वपाका गणेश पौडेलले पनि विकास र सुशासनका आश्वासन बाँडिरहेका छन्। अहिलेसम्म रौतहटमा उम्मेदवारहरूले मतदातालाई दुईवटा मेडिकल कलेजका साथै क्यान्सर अस्पतालको आश्वासन बाँडिसकेका छन्।

जनताका मन छाम्दै

नयाँ परिस्थितिमा विभिन्न राजनीतिक दलले पुरानासँगै नयाँ उम्मेदवारलाई पनि चुनावी अभियानमा उतारेका छन्। निर्वाचनमा पुराना र नयाँ दलले रौतहटमा नयाँ अनुहारलाई उम्मेदवार बनाएका छन्। नयाँ उम्मेदवारहरूले मतदाताका नाडी छाम्दै चुनाव प्रचारप्रसारका क्रममा सोचेभन्दा फरक अनुभव गरिरहेको बताउँछन्।

रौतहट संसदीय निर्वाचन क्षेत्र नं २ मा पहिलोपटक नेकपा एमालेबाट उम्मेदवार बनेका महम्मद अतिउल्लाह भन्छन्, ‘भौतिक पूर्वाधारसँगै वातावरण संरक्षणमा चासो दिनुपर्ने सर्वसाधारणको माग रहेको छ। आफू निर्वाचित भए हरेक वडामा स्थायी नर्सरी बनाउने अनुभूति गरेको छु।

जनमत पार्टीको तर्फबाट क्षेत्र नं २ का लागि पहिलोपटक उम्मेदवार बनेका सोनु कुशवाहा आफ्नो चुनावी अनुभव बताउँदै भन्छन्, शिक्षाको दयनीय अवस्थाले सबैभन्दा पहिले सुधार गर्नुपर्ने आवश्यकता देखें, ‘साथै कृषकको अनगिन्ती समस्यातर्फ कसैको ध्यान नपुगेका कारण आफूले मरिमेटेर पनि काम गर्ने बताए।

यसैगरी रौतहट क्षेत्र नं ३ मा नेपाली कम्युनिस्ट पार्टीबाट पहिलेपटक उम्मेदवार बनेकी पुनम यादव दिनरात चुनावी मैदानमा छिन्। सर्वसाधारणको राम्रो रेसपोन्स रहेको बताउँदै आफ्नो चुनावी अनुभव यसरी सुनाउँछिन्, ‘सोचेभन्दा जनताको माग फरक छ। जनता आफ्नो पकड र पहुँचमा रहने नेताको खोजीमा रहेको अनुभव सुन्दा जनता र नेताबिचको दूरी कम गर्न आफू सक्रिय रहने बताउँछिन्।’

यसैगरी क्षेत्र नं ३ कै कांग्रेसबाट उम्मेदवार बनेका रामकृपाल यादव चुनावी अभियानमा डटिरहँदा सर्वसाधारणले विकाससँगसँगै शिक्षा, सुरक्षा र रोजगारी खोजिरहेको अनुभव सुनाउँछन्। अब नागरिकको प्रश्नको सीधा जवाफ दिने नेता मात्रै जनतामा टिकिरहने यादवको अनुभूति छ।

यस्तै क्षेत्र नं ४ मा पहिलोपटक रास्वपाबाट उम्मेदवार बनेका गणेश पौडेल नयाँ युवाहरूको चाहना परिवर्तन रहेको तथा परिवर्तनको दिन नजिक आइसकेको युवाहरूको अनुभूति सुनाउँछन्। आश्वासन र भ्रष्टाचारबाट आजित भइसकेका युवा समुदाय परिवर्तनको आवाज बुलन्द बनाउन आफूलाई अपार समर्थन गरिरहेको पौडेल सुनाउँछन्।

यसैगरी नेकपा एमालेबाट पहिलोपटक उम्मेदवार बनेका रामजी साह सोनार प्रचार–प्रसारमा निकै अगाडि देखिएका छन्। उनी भन्छन्, ‘जनता नै भगवान् हुन्। यसपटक विकासप्रेमी नेतालाई जनताले साथ दिन्छन्।’

आफूप्रति सबै वर्ग, क्षेत्र र समुदायको भरोसा रहेको अनुभूति गरेको साहको दाबी छ।

त्यसैगरी आम जनता पार्टीको तर्फबाट क्षेत्र नं ४ मा उम्मेदवार बनेका पत्रकार ऋषि धमलाले अति पछाडि परेको रौतहटलाई माथि उकास्न शिक्षा, स्वास्थ्य, रोजगारी र चेतनाको विकास गर्नैपर्ने अनुभूति गरेको बताउँछन्।

उद्योग खोल्न र दातृ निकायँसग गुहारेर रौतहटलाई मूलधारमा ल्याउन आफू समर्पित रहने धमलाको प्रतिबद्धता छ। रौतहटले आफूलाई निर्वाचित गरी पठाएमा यस जिल्लाको कायापलट गर्न आफूले कुनै कसर बाँकी नराख्ने धमला बताउँछन्।

क्षेत्र नं ४ मै जसपा नेपालको तर्फबाट पहिलोपटक उम्मेदवार बनेका राजकुमार दास तत्माले आफूलाई सबैभन्दा हेभिवेट उम्मेदवारका रूपमा दाबी गर्दै सधैं एकै समुदायबाट मात्रै प्रतिनिधित्व हुने गरेकोमा यसपटक जनताले परिवर्तन चाहेको दाबी गर्छन्।

आफ्नो क्षेत्रमा ८० प्रतिशतभन्दा बढी मतदाताको सहानुभूति र सहयोग रहेको दाबी गर्दै उनी भन्छन्। म सबैभन्दा पछाडि पारिएको वर्ग प्रतिनिधित्व गर्दै संसद् प्रवेश गर्ने तयारीमा छु।

प्रकाशित: १९ माघ २०८२ १३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App