१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

सुनसरी १ : हर्क साम्पाङका रोचक प्रतिस्पर्धी

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख हर्क साम्पाङ सुनसरी क्षेत्र नं. १ का मतदातालाई रिझाउन घरदैलो अभियानमा व्यस्त छन्। श्रम गरेर मात्र देश उँभो लाग्ने नारा दिएर उनी मतदाताको घरदैलामा पुगिरहेका छन्।

साम्पाङसँगै नेपाली कांग्रेसका तर्फबाट सुजेन्द्र तामाङ, एमालेका तर्फबाट टीका माङ्ग्ले लिम्बु, रास्वपाबाट गोमा (सरिन) तामाङ, नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट सूर्यबहादुर (मनोज) भट्टराई, उज्यालो पार्टी डम्बर लावती (जेन्टल), राप्रपाका उद्वव श्रेष्ठसहित २८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। चुनावी प्रतिस्पर्धामा रहेका दलहरूमध्ये नयाँ दलबाट साम्पाङ र रास्वपाकी गोमा चुनाव सहजै जित्ने आकलन गर्छन्। पुराना राजनीतिक दलमध्ये कांग्रेसका तामाङ यसपटक चुनाव जितेर नयाँ रेकर्ड कायम गर्ने दाउमा छन्।

एमालेका लिम्बु र नेपाली कम्युनिष्ट पार्टीका भट्टराई आफ्नो पूरानो विरासत जोगाउने ध्याउन्नमा छन्। सबैभन्दा आक्रमक चुनावी प्रचारमा नेपाली कम्युनिष्ट पार्टीका भट्टराई जुटेका छन्। उनी बिहानदेखि साँझसम्मै घरदैलो अभियानमा व्यस्त छन्। साम्पाङ सामाजिक सञ्जालसँगै घरदैलो अभियानमातर्फत चुनावी अभियानमा जुटेका छन्।  

श्रम संस्कृतिका अध्यक्ष साम्पाङले बेला बेला अन्यत्र पनि समय दिनुपर्ने हुँदा मतदातासमक्ष पुग्न उनलाई निकै सकस छ। अरु पार्टीका उम्मेदवार आफ्नो निश्चित निर्वाचन क्षेत्रमा मात्र केन्द्रित हुनुपर्ने हुँदा समयको तालमेल मिलाउन सहज छ। साम्पाङले आफू धरानको मेयर हुँदा खानेपानीको मुद्दाले जितेर पूरा गरेकाले अब देशमा सुशासन कायम गर्ने, अपारदर्शिता हटाउने र भ्रष्टाचार हटाउन भूमिका खेल्ने मुख्य नारा अघि सारेर चुनावी अभियानमा जुटेका छन्।  

साम्पाङको चुनावी अभियानका संयोजक शेष घलेले घरदैलो अभियानमा जनताको साथ र समर्थन उत्साहजनक भएको जिकिर गरे। साम्पाङलाई टक्कर दिने अरु पार्टीका उम्मेदवार नभएकाले उपयुक्त विकल्प नहुँदा जित सहजै हुने घलेको दाबी छ। उनी भन्छन्, ‘२०७९ सालको धरान उपमहानगरपालिकामा मेयर उठँदा त्यति धेरै जान पहिचान नहुँदा जितेकोमा अहिले त हाम्रो अध्यक्षको छवि धेरै माथि पुगिसकेको छ।’ उनले अरु पार्टीका सामान्य कार्यकर्ताले साम्पाङललाई मत दिने विश्वास राखे। ‘जो पार्टीप्रति कटर छन्, तिनीहरूले दिँदैनन् नत्र अरु पार्टीका धेरैजसो कार्यकर्ताले मत दिनेछन्,’ उनले भने।  

धरान लहारे समुदाय बसोबास गर्ने र पहिचानवादीको आन्दोलनको मुख्य केन्द्र मानिन्छ। पछिल्लो समय अधिकतर लाहुरे समुदाय यूकेमै बस्दै आएका छन्। यहाँ बसोबास गर्ने लाहुरे समुदायका व्यक्तिहरू सीमित छन्। यद्यपी, उनीहरूले पछिल्लो समय हुने गरेका निर्वाचनमा कुनै पनि दल विशेषमा नलागेर विवेक प्रयोग गर्ने भएकाले एउटा प्रभाव पार्ने फ्याक्टरमा रहेको छ। अर्कातिर यहाँ जातीय मतको पनि प्रभाव पर्नेछ। साम्पाङ राई समूदायबाट उम्मेदवार हुनु र लाहुरे परिवारको हुनुले सबैभन्दा बढी फाइदा पुग्ने देखिन्छ। साम्पाङका सबल पक्षमा कुनै पनि काममा प्रतिबद्ध भएर लाग्ने, दृढ इच्छा शक्ति भएका, दातालाई कन्भिन्स गर्ने क्षमता र सामाजिक सञ्जालमा सक्रिय रहेका छन्।

उनलाई ‘म नै सर्वेसर्वा हुँ’ भन्ने पक्षले क्षति गर्नेछ। यस्तै, उनले धरानको नेतृत्वकर्ता पूर्व जनप्रतिनिधि, सामाजिक तथा प्रतिष्ठित संस्थाका अगुवा, राजनीतिक दलको नेतृत्वकर्तालगायतलाई चिढाउने अभिव्यक्ति दिने गरेकाले त्यो समूहका व्यक्ति संगठित भएर अन्तिममा उनको विकल्पमा जित्ने उम्मेदवारप्रति आफ्ना व्यक्तिहरूलाई सर्कुलर गर्न सक्ने सम्भावनाको पनि आकलन गर्ने गरिएको छ।

अहिलेसम्म सुनसरी क्षेत्र नं. १ मा कहिल्यै जित्न नसकेको र दस वर्षपछि पहिलोपटक पार्टीको चुनाव चिह्नमा मतदान गर्न पाएको कांग्रेसले उम्मेदवार सुजेन्द्र तामाङ जिताउन प्रदेश महामन्त्री उमेश थापाको नेतृत्वमा दुई हजार १०१ सदस्यीय चुनाव परिचालन समिति गठन गरि अभियान थालेको छ। अहिले कांग्रेसले ‘हामी बद्लियौं अब देश बद्ल्छौं’ चुनावी प्रचारमा जुटेको छ। चुनाव परिचालन समितिका संयोजक थापाले यसपटक कांग्रेसका नेता-कार्यकर्ता नयाँ जोश र जागरका साथ चुनावी अभियानमा जुटेकाले गर्दा सफलता हात लाग्ने दाबी गर्छन्।

कांग्रेसले २०७९ सालमा नेकपा माओवादी केन्द्र र २०७४ सालमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाएको थियो। ‘यसपटक पार्टीभित्र नयाँ उत्साह जागेको छ, मतदाताको समर्थनले पनि विगतको गल्ती सच्चाएर यसपटक आफ्नो पक्षमा रिजल्ट पार्ने दाउँमा लागेका छौं,’ उनले भने। उनका अनुसार यहाँ कांग्रेसको मुख्य प्रतिस्पर्धा रास्वपा हो।  

क्षेत्र नं. १ मा विशेष महाधिवेसनमा सहयोग गरेकै कारण तामाङलाई सोझै केन्द्रबाट टिकट दिएकाले गर्दा पनि सुरुवाती चरणमा पार्टीभित्र केही असन्तुटि बढेको थियो। तर, यतिबेला त्यो साम्य भइसकेको पार्टीले जनाएको  छ। कांग्रेसका उम्मेदवार तामाङ कसैसँग नरिसाउने, आदिवासी जनजाति संगठनमा बसेर लामो समय नेतृत्व गरेको, अहिलेसम्म कुनै विवादमा नपरेका र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व कर्मचारी हुँदा धेरैलाई स्वास्थ्य सेवाका लागि सहयोग पुर्याएकाले सकारात्मक प्रभाव पर्ने अनुमान गरिन्छ। क्षेत्रीय सभापति समेत रहेका तामाङको नाम तल्लो तहबाट सिफारिस नभइकन सोझै केन्द्रबाट टिकट पाउनु र एक खाले कांग्रेसकै व्यक्तिले पार्टी एनजिओ शैलीमा चलाएको बेला बखत आरोप लाग्ने गरेकाले त्यसले पनि नकारात्मक असर गर्ने अनुमान गरिएको  छ।  

साङ्गठनिक हिसावले सबैभन्दा मजबुद एमालेका उम्मेदवार लिम्बुले पनि आफ्नो विरासत जोगाउने ढंगले अभियान सञ्चालन गरेका छन्। एमालेले निर्वाचन क्षेत्रभर केन्द्रीय सदस्य मञ्जु भण्डारीको नेतृत्वमा चुनाव परिचालन समिति गठन गरेर अभियान सञ्चालन गर्दै आएको  छ। जसमा वडा स्तरसम्मै निर्वाचन कमिटी तयार गरि सकिएको छ।

एमालेले पार्टीले खेलेको राष्ट्रिय स्वाधिनता र विकास गर्ने वाचासहितको एजेन्डा लिएर मतदाताको घरदैलो अभियानमा जुटेको छ। चुनाव परिचालन कमिटी संयोजक भण्डारीका अनुसार एमालेका उम्मेदवार लिम्बु युवा त्यसमा पनि भूगोल बुझेको, प्रशासन र राजनीतिबारे जानकारी भएकाले गर्दा जनताले विश्वास गर्नेछन्।  

क्षेत्र नं. १ मा उम्मेदवार चयन गर्दा एमालेले सूर्य पन्दाकलाई तय गरेर अन्तिममा मनोनयन गर्ने क्रममा लिम्बुलाई परिवर्तन गरेकाले गर्दा पुरानो पुस्ताले विश्वास नगर्न सक्ने पनि शंका छ। तर, चुनाव परिचालन समिति संयोजक भण्डारीले त्यसले असर नगर्ने जिकिर गर्छिन्।  

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीले २०४८ सालमा चुनाव जितेपछि एमालेको बर्चस्व रहँदै आएको  छ।  ०४८, ०५१ र ०५६ सालको निर्वाचनमा क्षेत्र नं. १ मा विजयी हासिल गरेको नेकपा एमालेले २०६४ सालको संविधानसभा निर्वाचनमा सो क्षेत्र गुमाएकोमा दोस्रो संविधानसभा र २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा फेरि ‘कमब्याक’ भएको थियो। २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा पनि एमालेलै जितेको थियो। दश वर्षे जनयुद्धपछि पहिलोपटक ०६४ को संविधानसभा निर्वाचनमा भाग लिएको बेला माओवादीले क्षेत्र नं. १ जितेको थियो।  

२०७९ सालको निर्वाचनमा एमालेसँगै तालमेलमा सुनसरी निर्वाचन क्षेत्र नं १ बाट तत्कालिन जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राई विजयी भएका थिए। १७ हजार ५९ मत ल्याएर जितेका थिए।  

त्यसो त नयाँ राजनीतिक दल रास्वपाबाट यसपटक पनि गोमा तामाङ (सरिन) चुनावी प्रतिस्पर्धामा छिन्। उनले २०७९ सालको निर्वाचनमा १६ हजार ६०६ मत ल्याएकी थिइन्। त्यो बेलाका विजयी उम्मेदवार अशोक राईसँग ४५३ मतको मात्र मतान्तर थियो। अघिल्लो पटक पाएको मतकै आधारमा यसटक तामाङको पनि सहजै जित हुनेमा पार्टी विश्वस्त छ। रास्वपाले क्षेत्र नं. १ का सभापति लोकबहादुर तामाङको नेतृत्वमा चुनाव परिचालन समिति बनाएर अहिलेसम्म रामधुनीका दुईवटा वडा र बराहक्षेत्रका लगभग पाँचवटै वडामा घरदैलो अभियान सकेको छ।  

रास्वपाको विश्लेषण अनुसार क्षेत्र नं. १ अन्तर्गत धरान उपमहानगरपालिकाको बजार क्षेत्र वडा नं. १, ३, ६ र १२ वाट सबैभन्दा बढी मत आउनेछ। यस्तै, वडा नं. ४, ११, १५ र १६ मा पनि राम्रो मत आउनेछ। रामधुनीको वडा नं. ६ बाट पनि आशा गरेभन्दा राम्रो मत आउने घरदैलो अभियानबाट प्रष्ट भएको पार्टीले विश्लेषण गरेको  छ। रास्वपाले यसपटक नयाँलाई परीक्षण गरेर मत दिन भन्दै मतदाता रिझाउने काम गरिरहेको  छ।  

‘अघिल्लो पटक हाम्रो खासै संगठन थिएन तरपनि झिनो मतले पराजित हुनुपरेको थियो, यसपटक त २७ वटा वडामा २३ वटा वडामा हाम्रो संगठन छ,’ चुनाव परिचालन समितिका सदस्य सुमन श्रेष्ठले भने, ‘हामी निर्वाचन आयोगबाट मतदाताको लिस्ट ल्याएर सम्भावित मतको अनुमान गर्ने र त्यही अनुसार व्यक्तिलाई कन्भिन्स गर्न पनि लागि परेका छौं। अर्कातिर यसटक रास्वपाका पक्षमा जनलहर देशव्यापी नै छ।’

सरिन सामाजिक सेवामा सक्रिय हुनु सवल पक्ष हो। साथै, अघिल्लो पटकको उपविजेता हुनुले पनि केही मतदाताको सहानुभूति रहन सक्छ। यद्यपी, अघिल्लो पटक उम्मेदवार हुँदा उनीलाई मतदाताले चिनेका थिएनन्। त्यतिबेला रवि लामिछानेको ‘क्रेज’ ले मत पाएको दाबी गरिन्छ। यसपटक सरिनलाई वास्तविक रुपमा व्यक्तिगत ढंगले धेरैले चिन्छन्। जसले गर्दा उनलाई यसले घाटा वा नाफा के हुन्छ? यकिन गरेर भन्न सक्ने अवस्था छैन्।  

धरान उपमहानगरपालिकासहित बराहक्षेत्र नगरपालिकाका पाँचवटा र रामधुनीका दुईवटा गरि २७ वटा वडा समेटिएको सुनसरी क्षेत्र नं. १ मा नयाँ र पुराना दल ठूला दलका नेतालाई नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले कडा टक्कर दिएका छन्। धरान वडा नं. १७ का विर्तमान वडाध्यक्ष भट्टराईले यतिबेला धरानका समग्र विकास निर्माणका एजेन्डा अघि सार्दै घरदैलो अभियानमा छन्। उनी आफ्नो पार्टीसँगै नयाँ र पुरानै दलका पनि धेरैजसो नेता-कार्यकर्ताको भरमा आफूले सहजै चुनाव जित्ने दाबी गदैै आएका छन्। सुकुम्वासीको पकड क्षेत्र रहेको क्षेत्र नं. १ मा  सुकुम्वासीसँगग पनि भट्टराईको सम्बन्ध राम्रै छ।  

भट्टराईको सवल पक्षमा वडा नं. १७ मा वडाध्यक्ष हुँदा आफ्नै व्यक्तिगत पैसाले समेत धेरै काम गरेका छन्। अर्काको भावना बुझ्ने, सहयोगी र कुनै पनि राजनीतिक दलप्रति पूर्वाग्रह नराख्ने र आर्थिक अवस्था मजबुद हुनुले निर्वाचनमा लाभ पुग्नेछ।  जातिय हिसावले क्षेत्री/बाहुन समूदायको बढी मत खस्ने आकलन गरिन्छ। उनी हर्क साम्पाङ हुँदा विधिसम्बत ढंगले कार्यपालिका अघि बढनुपर्ने अडानले गर्दा उनले विधि र प्रक्रियामा अघि बढ्ने व्यक्तिको रुपमा छवि बनाएका छन्। मिहिनेत गर्दा चुनाव जित्न सकिने पार्टीको निश्कर्ष रहेको नेता राजेन्द्र किरातीले बताए। उनले भने, ‘हाम्रो पार्टीका उम्मेदवार आफैमा सक्रिय भएका र अन्य दलका नेता तथा कार्यकर्तासँग पनि राम्रो सम्बन्ध भएकाले गर्दा चुनावमा यसले हामीलाई फाइदै पुग्ने देखिन्छ।’ एक खालेले भने उनलाई हर्कको कटर विरोधी भनेर बुझ्नेहरूबाट भने घाटा हुनेछ।

क्षेत्र नं. १ मा राप्रपाका उद्दप श्रेष्ठले समेत राम्रै मत ल्याउने अनुमान छ। उनले पनि जातिय मत आफ्नो पक्षमा पार्नेछन्।  उज्यालो पार्टी  डम्बर लावती (जेन्टल) ले युवा पुस्ताको मत आफ्नो पक्षमा पार्ने अनुमान छ।  

यसपटक क्षेत्र नं. १ को निर्वाचन  निकै प्रतिस्पर्धात्मक हुनेछ, जसले गर्दा कसको पक्षमा नतिजा आउला भनेर यकिन गरि हाल्न सक्ने वातावरण अहिले नै तय भइ सकेको छैन्। यद्यपी, अहिले शुरुवाती चरणमा मुख्य गरेर श्रम संस्कृतिका उम्मेदवार साम्पाङ, कांग्रेस र रास्पाका तामाङ द्दय, एमालेका लिम्बु र नेपाली कम्युनिष्टका भट्टराईबिच कडा प्रतिस्र्धा हुने अनुमान गरिएको छ। यसरी प्रतिस्पर्धा हुँदा थोरै मतान्तरले हारजित हुनेछ।  

यहाँ एकातिर अन्यत्रभन्दा छिटो परिवर्तन चाहने र विकासप्रति मरिहत्ते  गर्छन्। अर्कातिर पहिचानको लडाईं बढी हुने स्थान भएकाले ‘उपयुक्त जातिय’ व्यक्तिको प्रभाव रहने गर्छ। जसले गर्दा निर्वाचनमा प्रस्ट जातिय गन्ध आउँछ, अबको निर्वाचनमा पनि त्यही प्रभाव पर्नेछ। क्षेत्र नं. १ मा यसपटक एक लाख ५० हजार ३९३ जना मतदाता रहेका छन्।

प्रकाशित: १९ माघ २०८२ १३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App