१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

जटिल प्रसूतिपछि आमा-छोरी डिस्चार्ज

काठमाडौं मोडेल अस्पतालको शिशु वार्ड। वार्डको एउटा शड्ढयामा बसिरहेकी छन् बाग्लुङकी सविता केसी (नाम परिवर्तन)। उनको काखमा निदाइरहेकी छन् सानी छोरी। यो दृश्य यति सजिलै निर्माण भएको भने होइन।

गत मंसिरमा अस्पतालले जटिल शल्यक्रिया र उपचार गरेपछि केसीका आमा–छोरी बाँच्न सफल भएका हुन्। अस्पताल भर्ना भएको एक महिनापछि शल्यक्रियाबाट केसीले ३४ हप्ताको गर्भे शिशुलाई जन्म दिएकी हुन्। पाठेघरको अन्य अंगमा साल टाँसिएको, पाठेघरको मुखतिर फैलिएको अर्थात् अमिल्दो अवस्थामा रहेको सालसहितको शिशुलाई चिकित्सकहरूले फरक शल्यक्रियाबाट जन्म दिएका थिए।

अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. गणेश दंगाल, एनेस्थेसिया डा. सुनिता गुरुङ र डा. सुजन प्रजापति, युरोसर्जरी डा. सञ्जय श्रेष्ठ र नवजात शिशु विशेषज्ञ सौरभ खेतान तथा बालरोग विशेषज्ञ डा. लुना अमात्यसहित अन्य स्वास्थ्यकर्मीको सहभागितामा आमा र शिशु दुवैलाई बचाउन सम्भव भएको हो।

डा. दंगालका अनुसार पाठेघर र पिसाब थैलीभित्र साल छिरेर टाँसिएका कारण महिना नपुगी रक्तस्राव सुरु भएपछि केसी अस्पताल भर्ना भएकी हुन्। गर्भमा यस्तो अवस्था केही साता भए पनि शिशुको उमेर पुगोस् भन्ने उद्देश्यले केसीलाई अस्पतालमै राखियो। एक महिनापछि थप रक्तस्राव देखिएपछि तत्काल शल्यक्रिया गरी प्रसूति गराइएको हो।

 उमेर नपुगेको शिशुलाई शल्यक्रियाद्वारा जन्म दिँदा मृत्यु हुने जोखिम हुन्छ नै; यस्तो जटिल प्रसूतिमा आमाको ज्यान जोखिम पनि उत्तिकै रहन्छ। साल अन्यत्र फैलिएका कारण अर्को साइडबाट शल्यक्रिया गरिएको, त्यसपछि बिग्रेको पाठेघर निकालिएको र सालले प्वाल पारेको पिसाब थैलीको फिस्टुलाको पनि शल्यक्रिया गरिएको हो।

फिस्टुलाको शल्यक्रिया युरोलोजी विभागले गरेको थियो। शल्यक्रियाका क्रममा अत्यधिक रक्तस्राव भएकाले केसीलाई १७ पाउन्डभन्दा बढी रगत र रक्तजन्य तत्त्व चढाइएको थियो। ‘रक्तस्रावका कारण सुत्केरी शल्यक्रियाकै क्रममा गम्भीर भइसकेकी थिइन्, एक दिन भेन्टिलेटरमा र अन्य दिन आइसियुमा पनि राख्नुपरेको थियो’, डा. दंगालले भने। आमासँगै शिशुलाई पनि एनआइसियुमा राखेर उपचार गर्नुपरेको थियो।

महिना नपुगी जन्मिएको र सालबाट बढी रक्तस्राव भएकाले शिशुलाई पनि दैनिकजसो रगत दिनुपरेको थियो। यो अवधिमा शिशुलाई ३०औं पोका रगत दिइएको चिकित्सकले बताए।

शिशुमा संक्रमण भएपछि थप प्रयोगशाला परीक्षण गरेर उचित एन्टिबायोटिक दिने उपचार पनि भएको थियो। प्रसूतिपछि करिब डेढ महिनाको उपचारबाट मंगलबार आमा–छोरी डिस्चार्ज भएका हुन्।

जटिल शल्यक्रिया र लामो उपचारपछि आमा र शिशु दुवैलाई बचाउन सफल भएकोमा अस्पतालको चिकित्सक टोलीले खुसी व्यक्त गरेको छ भने चौथोपटक बच्चा जन्माउन सकेकोमा केसी दम्पतीसमेत सन्तोष देखिएका छन्। घटना विवरणअनुसार केसीले यसअघिका तीनवटा गर्भ बसे पनि जीवित बच्चा जन्माउन सकेकी थिइनन्। एउटा तीन महिनाको र दुइवटा महिना पुगेका  बच्चा थिए।

यस्ता घटनाले झस्किएका केसी दम्पती निःसन्तान हुने डरले पछिल्लोपटक इन्दिरा आइभिएफमा पुुगेका थिए। जटिल प्रसूति हुने देखेपछि उनीहरू रेफर भएर यहाँ आइपुगेका हुन्। चौथोपटक सन्तान प्राप्त गर्न सफल केसी दम्पतीमा खुसी छाएको छ। ‘हामी दुवै बाँच्न सफल भयौं, अब छोरीलाई राम्रोसँग हुर्काउनु छ’, केसीले सन्तान सुखको रहस्य खोल्दै भनिन्।

यस्तो जटिल प्रसूति सरकारले तोकेको समयमा कम्तीमा चारपटक गर्भजाँच गर्ने र भिडियो एक्सरे गरेमा समयमै थाहा पाउन सकिने चिकित्सक बताउँछन्। जटिल गर्भ थाहा भएमा सामान्य प्रसूति सेन्टरबाट प्रसूति हुँदा आमा र बच्चा दुवैलाई जोखिम हुने भएकाले बहुआयामिक सेवा भएका विशेष अस्पतालमा मात्र प्रसूति सेवा लिन डा. दंगालले सुझाए। ‘जटिल गर्भ भएका आमा र शिशु दुवै बचाउन सबै सेवा भएको अस्पताल जानुपर्छ’, उनले भने।

प्रकाशित: १३ फाल्गुन २०८२ ०८:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App