२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

एमाले, नेकपा र रास्वपालाई गगनको प्रस्ताव- एउटै मञ्चमा आऔं, ५ वर्षको योजनामा बहस गरौं

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका सबै दललाई एउटै मञ्चमा बसेर देश विकासको बहसमा सहभागी हुन खुला चुनौती दिएका छन्।

बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले निर्वाचनलाई गालीगलौजको विषय नबनाई आगामी ५ वर्षको स्पष्ट खाका कोर्ने थलो बनाउन प्रस्ताव गरेका हुन्।

फरक-फरक ठाउँबाट एकले अर्कोलाई सत्तोसराप गर्ने प्रवृत्तिले देश नबन्ने भन्दै थापाले साझा मञ्चको प्रस्ताव अघि सारे।

‘आओस् नेकपा एमाले, आओस् माओवादी (हाल नेकपा), आओस् राष्ट्रिय स्वतन्त्र पार्टी। एउटै मञ्चमा बसौँ, एउटै मञ्चमा उभियौँ,’ थापाले भने, ‘बेलुका दुईजना भट्टीमा बसेर एक अर्कालाई गाली गरेजस्तो, एउटाले एउटा कुरा भनेको छ, अर्कोले अर्को कुरा भनेको छ, यस्तो नहोस्।’

उनले कोही आएर यो देश अर्काले बिगारिदियो, म आएर जादु गर्छु भन्ने र अर्कोले सराप्ने मात्र काम गरेको भन्दै यस्तो कोलाहलले निकास नदिने बताए।

थापाले अबको निर्वाचनमा गाली होइन, योजनामा प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए। उनले दलहरूबीच २०८२ देखि २०८७ सालसम्मको ५ वर्षलाई कसरी स्वर्णिम काल बनाउने भन्ने विषयमा बहस हुनुपर्ने बताए।

‘५ वर्ष नेपालका निम्ति हाम्रो सोच के हो ? संकल्प के हो ? योजना के हो ? यसका बारेमा छलफल गरौँ,’ थापाले भने, ‘यो ५ वर्ष बदलावको वर्ष बनाउने हो भने त्यसका निम्ति के गर्ने भन्ने सोचका साथ आउन म सबैलाई आग्रह गर्दछु।’

साझा मञ्चमा बसेर कर्णालीको विकासका कानुनी बाधा फुकाउन छलफल गर्नुपर्ने उनको भनाइ थियो। कर्णालीको भूगोल र काठमाडौंको भूगोल एउटै नभएको भन्दै उनले यहाँको विकासका लागि संविधान र कानुनमै संशोधन आवश्यक रहेको औंल्याए।

‘यहाँको भूगोलमा असार-साउनभित्र बजेट खर्च गर्ने व्यवस्था व्यावहारिक छैन। यसका लागि आर्थिक वर्षको क्यालेन्डर नै बदल्नुपर्छ,’ थापाले भने, ‘एक्लै कराएर हुँदैन, आउनुस् सबै दल एउटै मञ्चमा बसेर संविधान बदल्ने र कर्णाली बनाउने साझा संकल्प गरौं।’

प्रकाशित: १४ फाल्गुन २०८२ १६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App